मातृ–शिशु सुरक्षा
कर्णाली प्रदेशमा बर्सेनि ठूलो संख्यामा नवराज शिशु र आमाको मृत्यु हुने गरेको छ । केही वर्षअघिको नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षणका अनुसार कर्णाली प्रदेशमा नवजात शिशुमृत्युदर ११ प्रतिशत रहेको थियो । सो तथ्यांकअनुसार शिशु मृत्युदर २७ प्रतिशत र पाँच वर्ष मूनिका बालमृत्युदर ३० प्रतिशत रहेको थियो । पछिल्लो समय यो तथ्यांक बढेको छ । यसैगरी राष्ट्रिय जनगणनाको तथ्यांकका अनुसार कर्णाली नेपालमा सबैभन्दा धेरै मातृ मृत्युदर भएको प्रदेश हो । कर्णालीमा अझै पनि राष्ट्रिय र अन्य प्रदेशको तुलनामा मातृ मृत्युदर एक सय ७२ (प्रति एक लाखमा) रहेको जनगणनाको तथ्यांकले देखाएको छ ।
बढ्दो मातृ तथा शिशु मृत्युदर घटाउन सचेतना कार्यक्रम कार्यान्वयन गरिने भएको छ । जनचेतनाको अभाव, कमजोर आर्थिक अवस्था र भौगोलिक विकटताका कारण मातृ मृत्युदर तथा नवजात शिशु मृत्युदर उच्च रहेको भन्दै यसलाई घटाउन नमुना खालका कार्यक्रम सञ्चालन गर्न लागिएको छ । प्रदेश सरकारले मातृ मृत्युदर तथा नवजात शिशु मृत्युदरलाई दोहोरो अंक हुँदै एकल अंकमा झार्ने गरी सेवा र सचेतनाका कार्यक्रम प्राथमिकतामा राखिएको छ । गतवर्ष पनि उक्त कार्यक्रम कार्यान्वयन गरिएको थियो । उक्त कार्यक्रम प्रभावकारी बन्दै गइरहेको छ । चालु आर्थिक वर्षमा प्रदेश सरकारले मातृ मृत्यु, शिशु मृत्यु, बाल मृत्यु, नवजात मृत्युलाई न्यूनीकरण गर्न सचेतना, परामर्श, सामाजिक व्यवहार परिवर्तन, पोषण, खोप, उपचार सेवालाई प्रभावकारी बनाउन लागेको हो । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर कार्यक्रम कार्यान्वयन गर्न लागिएको हो । स्थानीय तहहरूले पनि ‘गर्भवती महिलासँग जनप्रतिनिधिसँग भेटघाट’ कार्यक्रमलाई प्राथमिकतामा राखेका छन् । स्थानीय तहले स्वयमसेविकाहरूलाई थप सेवा–सुविधा दिएर परिचालन गर्न सकेको अवस्थामा प्रभावकारी कार्यान्वयन गरेर अघि बढ्न सहयोग पुग्ने लक्ष्यसमेत लिइएको छ । मातृ तथा शिशु मृत्युदर न्यूनीकरण गर्न प्रदेश सरकारले करिब पाँच करोड बजेट विनियोजन गरेको छ ।
माृत तथा शिशु मृत्युदरले कर्णालीका नागरिकको स्वास्थ्य अवस्था, पहुँच र उपचारको अवस्था पनि दर्साउँछ । मातृ–शिशुको मृत्यु रोक्न सरकारी तथा गैरसरकारी तहबाट पनि पहल भइरहेको छ । सरकारले स्वास्थ्यचौकीमा सुत्केरी हुँदा प्रोत्साहन भत्तासमेत दिने गरेको छ । तर पनि सुत्केरी गराउन अस्पताल जानेको संख्या निकै कम छ । जटिल समस्या भएका गर्भवती महिलाको उपचारका लागि हेलिकप्टरबाट उद्धारसमेत हुँदै आएको छ । तर, यो सेवा भने सबैको सहज पहुँचमा छैन । विगका वर्षभन्दा सुरक्षित सुत्केरी हुने महिलाको संख्या बढेको भए पनि मृत्यु हुनेक्रम रोकिएको छैन ।
प्रकाशित मितिः २८ पुष २०८२, सोमबार ०५:०३
सम्पादकीय ।