स्वास्थ्य पूर्वाधार केन्द्रित बजेट

सुर्खेत: कर्णाली प्रदेश सरकारले स्वास्थ्य संस्थाको सेवा सुदृढीकरण गर्न पूर्वाधार केन्द्रित बजेट अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ । सरकारले प्रादेशिक अस्पताल नभएका संघीय निर्वाचन क्षेत्रमा रहेका एक–एक स्वास्थ्य संस्थाको सेवा सुदृढीकरण कार्यक्रम कार्यान्वयनका लागि सम्बन्धित स्थानीय तहमा बजेट अख्तियारी प्रदान गर्ने निर्णय गरेको हो ।

पछिल्लो पटक बसेको मन्त्रिपरिषद् बैठकले सुर्खेतको सालकोट अस्पतालको लागि पञ्चपुरी नगरपालिकालाई एक करोड बजेटको व्यवस्था गर्ने निर्णय गरेको छ । पश्चिम सुर्खेतको प्राथमिक स्वास्थ्य केन्द्र सालकोटलाई अस्पतालको रूपमा स्तरोन्नति गर्ने योजना कार्यान्वयनका लागि बजेटको व्यवस्थापन गरिएको सरकारका प्रवक्ता विनोद शाहले बताए । प्रदेश सरकारले पञ्चपुरी नगरपालिका वडा नं. २ मा रहेको स्वास्थ्य केन्द्रलाई शैय्या थपेर सेवा विस्तार गर्ने योजना अघि सारेको हो । संघीय सरकारको लगानीमा १५ शैय्याको अस्पताल निर्माण भएको छ । त्यसैलाई प्रदेश सरकारको लगानीमा ५० शैय्याको अस्पताल निर्माण गर्ने भनिएको छ । १५ शैय्या हुँदै ५० शैय्यामा स्तरोन्नति गर्ने प्रदेश सरकारको योजना अघि बढाउन लागिएको छ ।

प्रदेश सरकारले आफ्नो मातहतमा राख्नेगरी अस्पताल स्तरोन्नतिको योजना अघि सारेको हो । आर्थिक वर्ष २०७९/०८० मा बजेट विनियोजन गरेर अस्पताल स्तरोन्नतिको कार्य अघि बढाइएको थियो । उक्त आर्थिक वर्ष अस्पताल निर्माणका लागि तीन करोड बजेट विनियोजन गरिएको भएपनि कार्यान्वयन भएन । बजेटको स्रोत सुनिश्चित नहुँदा उक्त बजेट कार्यान्वयन हुन नसकेको पञ्चपुरी नगरपालिकाले जनाएको छ । आर्थिक वर्ष २०८०/०८१ मा पनि प्रदेश सरकारले तीन करोड बजेट विनियोजन गरेको थियो । उक्त वर्ष बजेटको स्रोत सुनिश्चितता नहुँदा कार्यान्वयन हुनसकेको थिएन । आर्थिक वर्ष २०८१/०८२ बजेट नै विनियोजन नभएपछि काम अघि बढ्न सकेको थिएन । सरकारले चालु आर्थिक वर्षमा बजेटको अख्तियारी प्रदान गर्ने निर्णय गरेसँगै काम काम अघि बढ्ने अपेक्षा गरिएको छ ।

 

५४ करोडको लागत अनुमान

पञ्चपुरी नगरपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय प्रभाव मूल्यांकन (इआइए) समेत तयार पारिसकेको छ । अघिल्ला वर्षहरूमा बजेट विनियोजन नहुँदा आवश्यक काम गर्न नसकिएको नगरप्रमुख लालविर भण्डारीले बताए । यो वर्ष एक करोड बजेटको अख्तियारी पठाइएको भन्दै उनले सोही बमोजिम काम अघि बढाइने जनाए । नगरपालिकाले निर्माण गरेको डीपीआरअनुसार ५४ करोडको लागत अनुमान रहेको छ । तर सरकारले सोही अनुरूपको बजेट विनियोजन नर्गदा काम रफ्तारमा अघि बढ्न सकेको छैन ।

प्रदेश सरकारले स्वास्थ्य सेवा गुणस्तरीय सर्वसुलभ बनाउन पूर्वाधार निर्माणमा जोड दिएको छ । सोही अनुरूप थालिएका पूर्वाधार निर्माणका काम अघि बढाइनेछ । धेरैजसो स्वास्थ्य पूर्वाधार बजेट अभावका कारण अलपत्र अवस्थामा रहेका छन् । त्यस्ता पूर्वाधार निर्माणलाई अघि बढाउन लागिएको हो ।

मन्त्रीपरिषद्को निर्णयअनुसार दुल्लू अस्पतालको लागि दुल्लू नगरपालिकालाई एक करोड र कालिका खेतु प्राथमिक स्वास्थ्य चौकीका लागि हिमा गाउँपालिकालाई एक करोड बजेटको व्यवस्था गर्ने निर्णय गरेको छ ।

यो वर्षपनि स्वास्थ्य पूर्वाधार योजनालाई प्राथमिकतामा राखिएको प्रदेश सरकारले जनाएको छ । तर निर्माण कम्पनीको लापरबाहीका कारण अधिकांश जिल्ला अस्पतालका भवन निर्माण कार्यमा ढिलासुस्ती भइरहेको छ । ती अस्पतालहरूले जीर्ण भवनबाट सेवा दिइरहेका छन् । सरकारले घोषण गरेअनुरूपको स्वासथ्य पूर्वाधार अझै निर्माण हुन सकिरहेको छैन ।

प्रकाशित मितिः   २६ पुष २०८२, शनिबार ११:१९