उपेक्षामा महिला

राज्यका हरेक निकायमा महिला प्रतिनिधित्वलाई संविधानले नै सुनिश्चित गरेको छ । लैंगिक समानताका हिसाबले पनि यो अपरिहार्य छ । तर राजनीतिक दल र नेतृत्व भने अझै पनि महिला सहभागितालाई उपेक्षा गरिरहेका छन् । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि दलहरूले धमाधम उम्मेदवार छनोट गर्दैछन् । यतिबेला सबैजसो दलका तल्ला कमिटीबाट उम्मेदवारहरू सिफारिस गर्ने प्रक्रिया चलिरहेको छ । विगतका चुनावमा जस्तै यसपटक पनि प्रत्यक्षतर्फका उम्मेदवार छनोटमा महिलाहरू उपेक्षामा परेका छन् । अहिलेसम्म सिफारिस भएका उम्मेदवारहरूको सूची हेर्दा महिलाको संख्या नगन्य छ । समानुपातिकतर्फ महिला उम्मेदवार अनिवार्य गरिएकाले बाध्यात्मक भएपनि प्रत्यक्षमा भने सबैजसो दलहरूले पुरुषहरूलाई नै अघि सारेका छन् ।

केही उदाहरणको रुपमा हेर्दा नेकपा (एमाले)ले सुर्खेतका दुइवटै निर्वाचन क्षेत्रबाट पुरुष उम्मेदवार सिफारिस गरेको छ । क्षेत्र नं. १ बाट ध्रुवकुमार शाही र क्षेत्र नं. २ बाट कुलमणी देवकोटाको एकल नाम सिफारिस गरिएको हो । जसले गर्दा प्रत्यक्षतर्फ महिलाहरू उम्मेदवार सिफारिसमा समेत अट्न सकेनन् । त्यसो त यसअघि पनि एमालेले दुवै क्षेत्रबाट पुरुष उम्मेदवार नै उठाउँदै आएको थियो । त्यसैगरी नेपाली कांग्रेसले पनि महिलालाई समेट्न सकेन । कांग्रेसले क्षेत्र नं. १ बाट पार्टी उपसभापति समेत रहेका पूर्णबहादुर खड्काको एकल नाम सिफारिस गरेको छ । क्षेत्र नं. २ बाट ६ जना सिफारिस हुँदा एकजना महिला सिफारिस गरिएको छ, अन्य पाँचजना पुरुष छन् । निवर्तमान सांसद हृदयराम थानीसहित नारायण कोइराला, उपेन्द्र थापा, कलम खत्री, भिस्म हमाल र बसन्ती बस्नेत जिसीको नाम सिफारिस गरिएको हो । एमाले र कांग्रेसले मात्रै होइन नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले पनि सुर्खेतका दुवै निर्वाचन क्षेत्रमा पुरुष उम्मेदवार बनाउने भएको छ । नेकपाले क्षेत्र नं. १ का लागि जितबहादुर राना र क्षेत्र नं. २ मा झकबहादुर मल्ललाई उम्मेदवार सिफारिस गरेको छ । दुवैको एकल नाम सिफारिस गर्दा महिला आकांक्षीहरू सिफारिसमै पर्न सकेनन् ।

सुर्खेतका साथसाथै अहिलेसम्म उम्मेदवार सिफारिस भइसकेका कर्णाली प्रदेशका सबैजसो क्षेत्रमा प्रमुख राजनीतिक दलहरूले पुरुषलाई नै अघि सारेका छन् । यसरी सार्वजनिक भइरहेका उम्मेदवारको विवरण हेर्दा कर्णाली प्रदेशमा प्रत्यक्षतर्फको निर्वाचनमा महिला उम्मेदवार शून्य हुने देखिन्छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनमा महिलाले उम्मेदवार हुने चाहना गरे पनि दलले नै उम्मेदवारीका लागि टिकट नदिएको गुनासो महिला नेतृहरूको छ । नेतृत्व तहमा पुग्नका लागि ठूला राजनीतिक दलले महिलालाई स्थान नदिँदा सधैँ पछाडि परेको अवस्था छ । यसले समतामूलक समाज र राष्ट्र निर्माणमा सघाउ पु¥याउँदैन ।

प्रकाशित मितिः   २४ पुष २०८२, बिहीबार ०५:०३