भेरी पम्पिङ आयोजना अनुगमन
सुर्खेत: कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले भेरी पम्पिङ आयोजनाको अनुगमन गरेका छन् । सोमवार मुख्यमन्त्री कँडेल र वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले संयुक्त रूपमा आयोजनाको अनुगमन गरेका हुन् ।
अनुगमनका क्रममा मुख्यमन्त्री कँडेलले निर्धारित समयावधिभित्रै निर्माण सम्पन्न गर्न निर्देशन दिए । ‘विगतमा केही समस्या भएपनि अब कुनै अन्योल छैन,’ उनले भने, ‘बजेटकै कारण आयोजना प्रभावित हुने अवस्था पनि छैन ।’
नगरप्रमुख ढकालले भेरी पम्पिङ खानेपानी आयोजना वीरेन्द्रनगरको नगर गौरवको आयोजना मात्र नभएर प्रदेशले नै गौरव गर्ने आयोजना भएको बताइन् । उनका अनुसार, संघीय सरकार, प्रदेश सरकार र नगरपालिकाको साझा लगानीमा र नगरपालिकाको नेतृत्वमा भएको यो आयोजना बजेटको हिसाबले पनि ७५३ पालिकामै सबैभन्दा ठूलो हो ।
संघीय सरकारका साथसाथै प्रदेश र स्थानीय तीनै तहका सरकारको संयुक्त लागतमा आयोजना निर्माण भइरहेको छ । आयोजनामा संघीय सरकारको ८० प्रतिशत, प्रदेश सरकारको १३ प्रतिशत र नगरपालिकाको सात प्रतिशत लगानी छ । आयोजनाका कन्सल्टेन्ट प्रमुख रमेश अधिकारीका अनुसार अहिलेसम्म आयोजनाको भौतिक प्रगति करिब १४ प्रतिशत रहेको छ ।
पहिलो प्याकेज अन्तर्गत तीन अर्ब पाँच करोड ८ लाख रूपैयाँ लागतमा काम भइरहेको आयोजना अन्तर्गत यतिबेला नदीदेखि ७ किलोमिटर दुरीमा रहेको वीरेन्द्रनगर नगरपालिका–११ को अमृतडाँडामा मुख्य रिजर्भ ट्याङ्की निर्माणको काम भइरहेको छ । त्यहाँ तीनवटा ठुला ट्याङ्कीहरू बन्दैछन् । साथै पहिलो प्याकेजको पाइप बिछ्याउने काम १६ किलोमिटर सकिएको कन्सल्टेन्ट प्रमुख अधिकारीले बताए । बजार क्षेत्रमा ३५ किलोमिटर पाइप बिछ्याइनेछ । अन्य अवरोध नभएमा समयसीमामै आयोजना सम्पन्न हुने उनी बताउँछन् ।
दोस्रो प्याकेजको कामका लागि पनि टेन्डर खुलिसकेको छ । पहिलो प्याकेजको काम निर्धारित समयमा सम्पन्न भइसकेपछि दोस्रो चरणमा आम नागरिकको घरघरमा वितरण प्रणालीका काम अघि बढ्ने छ । दुई वर्षभित्रमा सबै काम सम्पन्न हुने बताइएको छ । यो आयोजना मेलम्चीपछिको दोस्रो ठुलो र पम्पिङका हिसाबले नेपालकै सबैभन्दा ठुलो खानेपानी आयोजना हो ।
प्रकाशित मितिः २२ पुष २०८२, मंगलवार १०:१८
साझा बिसौनी ।