फलफूल प्रवद्र्धन योजना
कर्णाली प्रदेश फलफूल खेतीका लागि उपयुक्त मानिन्छ । स्याउ, सुन्तला, ओखरसहित अनेकौं फलफूल उत्पादन हुन्छ । तर व्यापायिकता नपाउँदा फलफूल खेतीबाट उल्लेख्य लाभ हासिल गर्न भने चुकेको देखिन्छ । पछिल्लो समय प्रदेश सरकारले स्याउ खेतीको प्रवद्र्धनलाई प्राथमिकतामा राखेको छ । स्याउ प्रवद्र्धनका लागि अलग योजना बनाएर कार्यान्वयन गरिने भएको छ । त्यसका लागि प्रदेश सरकारले छुट्टै स्याउ विकास बोर्ड नै गठन गर्ने तयारी गरेको छ । स्याउको उत्पादन र बजारीकरणलाई वृद्धि गरेर स्याउबाटै समृद्धि हासिल गर्ने उद्देश्यले स्याउ विकास बोर्ड गठनको तयारी थालिएको हो । चालु आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रममै प्रदेश सरकारले बोर्ड गठन गर्ने जनाएको छ ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आगामी माघदेखि सञ्चालन हुने प्रदेश सभाको हिउँदे अधिवेशनमा पेस गर्नेगरी बोर्ड गठनसम्बन्धी विधेयकको मस्यौदा तयार पारेकोे छ । सम्बन्धित जिल्लाका कृषकहरूसँगै यसको विवरण माग गर्ने लगायतका काम भइरहेको छ । साविक कर्णालीको जुम्ला, हुम्ला, मुगु, डोल्पा र कालीकोटमा बढी मात्रामा स्याउ उत्पादन गर्ने र त्यसको बजारीकरणसमेत गरी स्याउबाट समृद्धि खोज्ने अभियानस्वरूप स्याउ विकास बोर्ड गठन गर्न लागिएको हो । कर्णालीका किसानहरूले विभिन्न प्रजातीका स्याउ लगाउने गरेका छन् । अहिले उत्पादन पनि बढ्दो क्रममा छ । सरकारले विशेष योजना निर्माण गरेर विकास बोर्डको काम गर्ने जनाएको छ । बोर्डको कार्यालय सबै जिल्लालाई पायक पर्ने गरी जुम्लामा राख्ने लक्ष्य रहेको मन्त्रालयले जनाएको छ । यसका लागि आवश्यक व्यवस्थापनको काम भइरहेको छ । जुम्लाका आठवटै पालिकामा स्याउ खेती हुने र अन्य जिल्लालाई पनि पायक पर्ने भएकाले जुम्लामा बोर्डको कार्यालय स्थापना गर्नेगरी गृहकार्य भइरहेको छ । यसैगरी कर्णालीमा स्याउ खेतीलाई प्रवद्र्धन गर्नका लागि प्रदेश सरकारले स्याउ बगैँचा घेरबारमा पनि कृषकलाई सहयोग गर्ने गरेको छ ।
कर्णालीको आर्थिक समृद्धिका लागि कृषि र जडिबुटी नै मूल स्रोत हुन् । तर सरकारले अहिलेसम्म यस क्षेत्रबाट अपेक्षित आम्दानी हासिल गर्न सकेको छैन । कृषिको बजारीकरण र उत्पादनमा ठोस योजना निर्माण नहुँदा प्रदेशले आफ्नै ठाउँमा उत्पादन हुने वस्तुबाट उपलब्धी हासिल गर्न नसकेको हो । उत्पादित वस्तुको बजारीकरणमा ध्यान दिन नसक्दा कृषककै बारीमा करोडाँैको उत्पादन खेर गइरहेको छ । एकातर्फ उत्पादित वस्तुले बजार पाइरहेको छैन भने अर्कोतर्फ विदेशबाट करोडाँैको तरकारी कर्णालीमा भित्रिने गरेको छ । सरकारले बनाएको योजनाअनुसार बगँैचा सुदृढिकरण गर्दै स्याउ, ओखर र सुन्तला खेतीलाई विशेष कार्यक्रमका रूपमा कार्यान्वयन गर्न सकेको खण्डमा प्रदेशको आन्तरिक आम्दानीको स्रोत पनि वृद्धि हुनेछ ।
प्रकाशित मितिः १७ पुष २०८२, बिहीबार १०:५२
सम्पादकीय ।