यस्तो छ, नयाँ सरकार गठन प्रक्रिया

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामासँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सत्तारोहणको तयारीमा जुटेका छन् ।

प्रधानमन्त्री प्रचण्डले बुधबार देशबासीलाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । त्यसलगत्तै उनले शीतलनिवास पुगेर राष्ट्रपतिलाई राजीनामा पत्र बुझाए ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड एमालेसँगको गठबन्धन तोडेर गत साउन १९ गते नेपाली कांग्रेस, मधेसी मोर्चासहितका दलहरुको समर्थनमा प्रधानमनन्त्री चुनिएका थिए ।

प्रधानमन्त्री प्रचण्डले राजीनामा पत्र बुझाएसँगै अब राष्ट्रपतिले नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्नेछिन् ।

प्रचण्डको राजीनामा स्वीकृत गर्दै राष्ट्रपतिले सहमतीय सरकार गठनको आहृवान गर्नेछिन् । यो समयमा दलहरुबीच सहमति नभए बहुमतीय सरकार गठनको प्रक्रिया सुरु हुनेछ । यसका लागि राष्ट्रपतिले संसदलाई पत्र पठाउनु पर्नेछ । र, संसदले प्रधानमन्त्री चयनको प्रक्रिया सुरु गर्नेछ ।

अहिलेसम्मको अवस्था हेर्दा प्रमुख दलहरुबीच सहमतीय सरकार गठनमा सहमति जुट्ने सम्भावना कमै छ ।

बहुमतीय सरकार गठन हुँदा कुनै आकस्मिक घटना नभए देउवा प्रधानमन्त्री हुने निश्चित छ ।

यो सरकार गठनका समयमा नै माओवादी केन्द्र र नेपाली कांग्रेसबीच पहिले प्रचण्ड र त्यसपछि देउवा प्रधानमन्त्री बन्ने समझदारी भएको थियो । त्यही समझदारी कार्यान्वयनका लागि प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएका हुन् ।

देउवा कहिले बन्छन् प्रधानमन्त्री ?

अहिले संसदको बजेट अधिवेशन चलिरहेको छन् । तर, भोलि बिहीबार सरकारको नीति तथा कार्यक्रम र १५ गते आगामी आर्थिक वर्षको बजेट पेश गर्ने कार्यक्रम छ ।

त्यस्तो अवस्थामा देशले कहिले नयाँ प्रधानमन्त्री पाउँछ त भन्ने प्रश्न धेरैको छ ।

यदि राष्ट्रपतिले तत्काल राजीनामा स्वीकृत गरेर सहमतीय सरकार गठनको आहृवान गरिन् भने पनि यसका लागि सात दिनको समय दिनेछिन् । यो समयमा सहमति जुट्न सकेन भने संसदले बहुमतीय सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

स्रोतका अनुसार नयाँ सरकार गठन जेठ १९ पछि नै हुन सक्छ । किनकि राष्ट्रपतिले तत्काल सहमतीय सरकार गठनको आहृवान गरे पनि १६/१७ गतेसम्मको समय दिन सक्छिन् । जेठ १९ गते दोस्रो चरणको चुनावको मनोनयनको समय तय भइसकेको छ । त्यसैले बहुमतीय प्रधानमन्त्री चयनका लागि उम्मेदवारी दर्ता लगायतका प्रक्रिया १९ पछि नै सुरु हुने सम्भावना छ ।

यस्तो अवस्थामा जेठ २२/२३ तिर नयाँ प्रधानमन्त्री चयन हुने सम्भावना छ ।

सरकार गठनको प्रक्रियासँगसँगै निर्वाचन आयोगले चुनावको तयार गिरिरहने भएकाले यसले चुनावलाई असर नपार्ने दाबी माओवादी नेताहरुले गरेका छन् ।

अनलाइनखबरबाट

प्रकाशित मितिः   ११ जेष्ठ २०७४, बिहीबार ११:३५