नेकपाबाट मल्ल उम्मेदवार सिफारिस
सुर्खेत: नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुर्खेतको निर्वाचन क्षेत्र नं. २ बाट झकबहादुर मल्ल ‘सुदीप’ को नाम सिफारिस गरेको छ । आगामी फागुनमा हुने निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा मल्लको एकल नाम सिफारिस गरिएको हो ।
उम्मेदवार हुन पाँच जनाले आकांक्षा देखाएका थिए । भूपेन्द्र जोशी, खडानन्द लामिछाने, गणेश भण्डारी, डिलु खड्कालगायतले प्रत्यक्षतर्फ उम्मेदवार हुने चाहना देखाएका थिए । तर अन्तिममा सर्वसम्मतरूपमा मल्ललाई अघि सारिएको छ ।
मल्ल माओवादी केन्द्र हुँदा जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य थिए । सशस्त्र युद्धका बेला सुर्खेत जेलब्रेकका कमाण्डर समेत रहेका युवा नेता मल्ल पहिलो पटक संसदीय निर्वाचनमा उम्मेदवार हुने तयारीमा छन् ।
गत निर्वाचनमा सुर्खेत क्षेत्र नं. २ बाट नेपाली कांग्रेसका हृदयराम थानी विजयी भएका थिए । त्यतिबेला उनलाई तत्कालीन नेकपा (माओवादी केन्द्र) सहितको गठबन्धनले साथ दिएको थियो । थानी यसपटक पनि कांग्रेसबाट उम्मेदवारका लागि सिफारिस भएका छन् ।


साझा बिसौनी ।