घमण्डको पर्याय प्रचण्ड
किन चाउरिस मरिच आफ्नै रागले भन्ने एउटा चर्चित नेपाली उखान छ । सुरु संविधानसभाको निर्वाचनमा माओवादी एकाएक पहिलो ठूलो पार्टी स्थापित भयो । पुराना पार्टीका नेतृत्व बेइमान र बदनाम भएका कारण जनताको नजर वा आशा माओवादीतिर केन्द्रित हुँदै गएको थियो । तर जनतालाई यो थाहा थिएन कि भोलि माओवादीको नेतृत्वले आफ्नै पार्टी देश र जनतालाई रनभुल्ल पारेर परिवारवाद लागू गर्ने सम्मको धृष्टता गर्नेछन्, स्वार्थका लागि छिनछिनमा बोली फेर्ने मात्र होइन अन्य पार्टीमा पस्दै तिहुन चाख्दै हिँड्ने छन् आफ्नो र परिवारको स्वार्थमा कतै आँच आए माओवादी पार्टी नै खरानी पार्नसम्म पनि पछि पर्ने छैनन्, बाँचुञ्जेल यो देशमा उथलपुथल ल्याएर विध्वंस पार्नेछन् ।
त्यतिबेला पुष्पकमल दाहाल प्रचण्ड औपचारिक–अनौपचारिक जुनसुकै कार्यक्रममा जाँदा हामी सबैभन्दा ठूलो पार्टी हुनुको नाताले भन्ने वाक्यांश बराबर दोहो¥याउने गर्थे । उनको त्यो अहंकार कथनीमा मात्र होइन करनीमा पनि थियो । उदाहरणमा लोकमानसिंह कार्कीलाई लिन सकिन्छ । नागरिकको चर्को नाइँनास्तीका बाबजुद अत्यन्त विवादित र बदनाम कार्कीलाई प्रचण्डले अख्तियार प्रमुखमा नियुक्ति दिलाएर ठूलो पुरुषार्थ देखाए । नागरिक इच्छा र चाहना विपरीत पनि गतिविधि गर्न सक्ने अत्यन्त शक्तिशाली रहेछु भन्ने एउटा अभिमानले फुल्दै गए । राग यतिसम्म चर्को थियो कि धामी झाँक्रीलाई देउता चढे झैं प्रचण्डलाई घमण्ड चढिरहेको थियो ।
पछिल्लो संविधानसभाको निर्वाचन परिणाममा माओवादी तेस्रो पार्टी मात्रै भएन नेतृत्वमा रहेका प्रचण्ड एकठाउँबाट पराजित हुँदा सिराहाका एमाले उमेदवार लीलानाथ श्रेष्ठलाई बलि चढाएर भनौं कि चित्त बुझाएर प्रचण्डलाई जिताइयो । हिजो सेना प्रमुखसँग निहुँ खोज्दा प्रधानमन्त्री पद फुत्काएका प्रचण्डले तत्कालीन एमाले अध्यक्ष माधव कुमार नेपाल प्रधानमन्त्री बनेपछि नेपाललाई हरूवा भन्दै आक्रोश पोखिरहेका हुन्थे । आफू हार्दाहार्दै पनि सभासद हुन कस्तो हीनताबोध नलागेको होला ! जनताको आदेश बमोजिम चुनाव जित्ने साथीहरू संविधान निर्माणकार्यमा लाग्नुपर्छ म पार्टी मजबुत बनाउँछु भनी छाती चौडा पारेको भए सायद माओवादी यति छिट्टै ध्वस्त हुने थिएन । प्रचण्डलाई जसरी पनि सत्तामा छिर्नु थियो, कमाउनु थियो, थुपार्नु थियो र विदेशतिर लुकाउनु थियो । यदि यो आरोप मिथ्या हो भने द्वन्द्वकालमा बैंक फोडि लुटिएका नगद र सुन प्रचण्डले थुपारेका छन् भन्ने ढंगले सार्वजनिक अभिव्यक्ति दिने पूर्व माओवादी नेता गोपाल किराँती ज्युँदै छन् । प्रचण्डले दुबईमा छोराको नामबाट पैसा राखेका छन् भनी खड्गबहादुर विक (प्रकाण्ड) ले सार्वजनिक रूपमा खुलासा गरिदिए, त्यसैलाई पुष्टि हुनेगरी दुर्गा प्रसाईंको अभिव्यक्ति आइरहेको छ । यी अभियोग पनि बेबुनियाद मात्रै भन्ने हो भने बाबुले ७८ लाखको र छोरीले २८ लाखको घडी नाडीमा बाँधेको, लाखौंका ब्याग बराबर फेर्दै हिँड्ने गरेकोमा त्यो हैसियत र आयस्रोत के हो ? भन्दै सांसदले संसद्मा प्रश्न उठाएको पनि जनताले हेक्का लिइरहेका छन् । प्रचण्डले नातिनीको बिहे पाँचतारे होटलमा सम्पन्न गरिदिएको घटना डोकोले ढाकेर लुकाएको जस्तै हो । आफ्नी छोरीलाई सधैँ स्वकीय सचिव बनाउनुको तात्पर्य कमिसनकै लागि हो ? भनी कार्यकर्ताले पार्टीमा प्रश्न मात्रै उठाएनन् क्यान्टोनमेन्टको हिसाब पनि चाहियो भनी ¥याख¥याख्ती पारे । जेन–जी आन्दोलनमा प्रचण्डको घरसँगै बंकरमा लुकाएको रकम खरानी हुँदै गरेको श्रव्य र दृश्य खबर मिडियामा बराबर आइनैरहेका थिए । नेताका घरमा एक डेढ करोड रूपैयाँ हुन सामान्य कुरा हो भनेका प्रचण्डले घरमा पैसा जलेको होइन भने पनि कसैले विश्वास मान्न सक्दैनन् ।
चितवनमा मेयर पदका लागि माओवादीले प्रचण्ड पुत्री रेणु दाहाल जिताउन मतपत्र च्यातेर धाँधली गरेपछि प्रचण्डको लोकप्रियता मात्र होइन पार्टीको साख पनि बेगवान गतिमा ओरालो झर्न थाल्यो । यथाशीघ्र त्यसलाई रोकेर एमालेलाई थाङ्नामा सुताइ स्वार्थसिद्ध गर्न एमालेको दैलाबाट भित्र पसे । माथिदेखि तलसम्म एमाले र माओवादीका बीचमा निरन्तर खटपट थियो । त्यस्तो अवस्थामा प्रचण्ड कसैलाई सुइँको नदिएर एमालेमा शरणागत भैदिएपछि गाउँ टोल र जिल्ला जिल्लामा माओवादीको संगठन कमजोर होइन ध्वस्त हुँदै गयो । प्रधानमन्त्री पद आधा आधा कार्यकाल बाँडेर खाने भनी एमाले अध्यक्ष खड्ग प्रसाद ओलीसँग प्रचण्डले भित्री सम्झौता गरेका थिए । त्यस्तो सम्झौता ओलीले धोती लगाइदिएपछि प्रचण्डको अचाक्ली रोइलो हेर्न लायक थियो । ओलीको शेखी झार्न ऊनी फेरि कांग्रेस सभापति शेरबहादुर देउवालाई तेल घस्न गए । कसैको बैसाखी विना उभिन नसक्ने स्थितिमा पुग्यो माओवादी । जता काफल पाक्यो त्यतै चरी नाच्यो भने झैं पदको लागि मरिहत्ते गर्दै प्रचण्डले पटकपटक एमाले र कांग्रेसमा हाम फाल्दै गठबन्धन गर्ने र बराबर धोका दिने प्रवृतिले उनको चरित्र झन् झन् उदाङ्ग हुँदै गयो ।
स्वार्थमा तलवितल पर्ने बित्तिकै देशीविदेशी प्रतिक्रियावादीले घेर्न थाले भन्दै रोइलो मच्चाउने प्रचण्ड कांग्रेस र एमालेको आश्चर्यजनक गठबन्धनपछि सत्ताविमुख हुन पुगे । तब उनको संकेत बमोजिम सामाजिक सञ्जालमा एकाएक बज्न र देखिन थाले लामो समयसम्म निदाएका कथित जनवादी गीतहरू । प्रचण्डले माओवादीलाई खरानी पारेपछि यतिखेर ती गीतले महिमागान गर्न छोडिदिए । उनको सचिवालयको लगानी र निर्देशन अनुसार सामाजिक सञ्जालमा खोलिएका अनेकन फेक एकाउन्टबाट आफ्नै प्रशंसा र जयजयकार गर्दै दुनियाँलाई भ्रमित पार्ने दुष्प्रयत्न गरिएको छ । आखिर त्यस्ता ती जयजयकार भित्रका टिप्पणीमा प्रचण्डका कोही पक्षधरले महिमागान गाए पनि ठूलो संख्याले अनेकौं तुच्छ गालीगलौज गर्दै विगतका कर्तुतहरू उदाङ्ग पारिदिएको छ । सातिर प्रचण्ड र उनको परिवारले फेक एकाउन्ट खोलेको होइन भने उनको उपासनामा आज किन बज्दैनन् कथित जनवादी गीतहरू ? किनकि मनोगत स्वार्थका लागि प्रचण्डले माओवादी पार्टीको अस्तु सेलाए त्यसकारणले बज्दैनन् ती बेस्वादका गीतहरू । अहिले आफ्नो चुनाव क्षेत्र सुनिश्चित गर्नका लागि प्रचण्डले रास्वपा सभापति रवि लामिछानेसँग भेट्नका लागि सम्पर्क सुत्रहरू खोजिरहेका छन भन्ने खबर पनि सतहमा आइरहेका छन् ।
प्रचण्ड जता जान्छन् पिछेलग्गु र दास प्रवृति त रोजिरोटीका लागि उतै जाने नै भए तर विवेक बचेकाहरूलाई भने त्यसरी फालहाल्न गाह्रै हुन्छ । लोडसेडिङको अन्त्य गरेर जनताको मनमा उज्यालो प्रभाव पारेका कुलमान घिसिङले कसैको पुच्छर समाएर आफ्नो नैतिकताको हत्या गर्नु थिएन, तब उनी आगामी राजनीतिक यात्राका लागि जनतालाई जनार्दन मान्दै अगाडि बढ्न थाले । घिसिङको दिनप्रतिदिन चढ्दै गएको लोकप्रियतामा दाइँ हाल्न खोजिरहेका थिए प्रचण्डले, तर उनले स्वीकारेनन् । त्यसकारण घिसिङमाथि प्रचण्डले बीस वमन गरिरहेका छन् । जुन थालमा खाने त्यसैमा छेद गर्ने कुलमानलाई जनताले तह लगाउँछन् भन्ने हास्यास्पद अभिव्यक्तिले त्यस कुरालाई पुष्टि गर्दछ । सायद पाठक वर्गमा पनि अवगत नै होला, चुनाव प्रचारप्रसारका क्रममा कुलमान घिसिङ, जनार्दन शर्मा र आफ्नो अनुहारसँगै राखेर प्रचण्डले पोस्टर तयार पारिरहेका थिए, घिसिङले आपत्ति जनाएपछि मात्र पोस्टरको औचित्य समाप्त भएको थियोे ।
सागरकी तुफाँको भि हमने बसमे किया है
पहाड व चट्टानोंका पथ मोड दिया है
होगा न कोही हिटलर कोही नबाब
हम सर्वहाराकी आवाज इन्क्लाब !
एउटा जनसभालाई सम्बोधन गर्दा प्रचण्डले बोलेका उक्त पंक्तिले सामाजिक सञ्जालको भिडियोमा निकै भाइरल बनेर मनोरञ्जन दिइरहेको थियो । जसले निर्देशक सिद्धान्त नै पोलेर पारिवारिक स्वार्थका लागि अर्को पार्टी खोल्छ त्यस्तो चरीत्रको व्यक्तिले मान्छेको बुद्धि भुट्न मरिमेट्ने रहेछ भन्ने भाव झल्कन्थो त्यस पंक्तिमा । कतै जनभेला र सभाहरूमा प्रचण्डको गर्जन चर्को सुनिन्छ । गर्जनमा जनताका लागि भन्ने शब्दावली सित्ती छुटाउँदैन ।
हिजो ओलीसँग जुँगाको लडाइँमा पनि जनता हेप्ने काम नगरे हुन्छ भन्ने गर्थे । मानौं प्रचण्ड जनताकै पहरेदार हुन् । भित्री सहमतिबमोजिम आधा कार्यकाल प्रधानमन्त्री दिन ओली तयार नभइदिएपछि रनाहामा परेका प्रचण्डले तत्कालीन प्रधानमन्त्री तथा पार्टीको प्रथम अध्यक्ष ओलीलाई साधारण सदस्यसमेत नरहने गरि कारबाही मात्रै गरेनन् अब सूर्य चिन्ह हाम्रै हुनेछ तपाईंहरू लेखेर राख्नुससम्म पनि भने । पार्टी विभाजनको मामिला अदालतमा पस्यो । अदालतले आआफ्नो गरिखानु भन्ने फैसला ग¥यो । एमालेलाई त्यति क्षति भएन प्रचण्डको मनोगत स्वार्थले माओवादीलाई भने अर्काको बैसाखी टेक्नै पर्ने बाध्यता भयो । सूर्य चिन्ह उनको हुन सकेन तब पनि प्रचण्डले ढाँट अनुहार बोकेर जनता कि जनता भनिरहेका छन् । त्यति हुँदाहुँदै पनि जनभेलाहरूमा कोही चिच्याउने र ताली बजाउने रहेछन् भने, बिरालो आपसमा लड्दा आङ फुलाए झैं फुलाउने र कराउने गर्छन् प्रचण्ड ।
जनताले माओवादीलाई विश्वास नगरे देश दुर्घटनामा जान्छ भन्ने आसयले सार्वजनिक अभिव्यक्ति दिएका प्रचण्डले नै माओवादी पार्टीलाई खरानी बनाएर अर्को पार्टी खोलेका छन् र पार्टी प्रमुख बनेका छन् । उनी भन्दैछन्, ‘अहिले हजारौँ जेन–जी युवाहरू हामीसँग जोडिनुभएको छ, उहाँहरूले हाम्रो अभिभावक प्रचण्ड नै रहेछ भनिरहनु भएको छ । यो देखेर कतिपय शक्तिहरू सबै नेपाली कम्युनिष्ट पार्टी तर्फ केन्द्रित भयो भनेर आत्तिएका पनि छन् ।’ आन्दोलनमा तनमन दिएका जेनजीलाई के कुनै बौलाहा कुकुरले टोकेको थियो र जसका विरुद्धमा उठे उसैलाई फेरि अभिभावक मान्ने ? त्यो देखेर कतिपय शक्ति आत्तिएका रे । प्रचण्डको उपद्रव र तमासासँग मान्छे आत्तिने होइन बरु सस्तो मनोरञ्जन लिइरहेका छन् । त्यस्तो अभिव्यक्ति दिएर प्रचण्डले जनतालाई मूर्ख बनाएको मात्र होइन उनी आफै पनि नाङ्गिदै गैरहेका छन् । अखिल क्रान्तिकारीको नाम पारेर प्रचण्डले राजधानीमा जेनजी महोत्सवको योजना बनाए तर युवाले नपत्याइदिए पछि उनको सपना त्यसै तुहियो । हिजो आन्दोलनमा सरिक भएका जेन–जी प्रधानमन्त्रीसँग छलफलमा व्यस्त थिए, यता प्रचण्डले दुनियाँलाई देखाउनका लागि मात्र नक्कली जेन–जी समूह तयारी पारेर महोत्सवको उद्घाटन गर्ने मेसो मिलाएका थिए । यदि त्यसो होइन भने आन्दोलनमा प्रचण्ड पनि त जेनजीकै निसानामा थिए । उनको घरसँगै महँगा महँगा रक्सीका सिसि अथाह पैसा जलेर खरानी भएको दुनियाँलाई थाहा छैन र ? हिङ नभए पनि हिङ बाँधेको टालो भने झैं भ्रम छर्दै फोस्रो रवाफ देखाउँदै र घमण्ड भजाउँदै प्रचण्ड पुरानै प्रवृति र नियत बोकेर पार्टी निर्माणमा लागिपरेका छन् तर बाग्मतीमा धेरै पानी बगिसकेको छ ।
-उमालाल आचार्य
प्रकाशित मितिः १३ पुष २०८२, आईतवार १०:५८

उमालाल आचार्य ।