विपद् उद्वार पोखरी निर्माण हुने

सुर्खेत: आगलागी नियन्त्रणका लागि सुर्खेत विमानस्थल परिसरभित्र मानविय सहायता तथा विपद् उद्वार पोखरी निर्माण गरिने भएको छ । कर्णाली प्रदेश सरकारले नेपाली सेनाको सहकार्यमा उक्त पोखरी निर्माण गर्न लागेको हो ।

सुर्खेत विमानस्थलस्थित पश्चिम पृतना सुर्खेत विमानस्थल एयरबेसको हाताभित्र निर्माण हुने पोखरीबाट आगलागीका घटनामा हेलिकप्टरमार्फत पानी भरेर जंगलको डढेलो वा अन्य आगलागीका घटना नियन्त्रण गर्न उपयोगी हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका विपद् महाशाखा प्रमुख उपसचिव उत्तम गौतमले जानकारी दिए । उनका अनुसार उक्त प्रविधिलाई बम्बी बकेट भनिन्छ, यसको अर्थ हेलिकप्टरमा झुण्ड्याइने विशेष बाल्टिन हो, जसले पोखरी वा तालबाट पानी भरेर जंगल डढेलो वा अन्य आगलागीमा खसालिन्छ ।

गौतमले पोखरी अधिकतम् ९७ फिट लामो र १३ फिट गहिरो हुने बताए । नेपाली सेनाको प्राविधिक सहयोग रहने उक्त पोखरीको लागत ९९ लाख ९६ हजार दुई सय रहने छ । विमानस्थल भित्र मानवीय सहायताका हिसाबले उक्त पोखरी नेपालकै पहिलो हुने बताँउदै उपसचिव गौतमले पोखरी निर्माणपश्चात् प्रदेश सरकारले नेपाली सेनालाई हस्तान्तण गर्ने जनाए ।

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले शुक्रवार पोखरी निर्माणको शुभारम्भ गरेका छन् । उनले विपद्का घटना अकस्मात हुने हुँदा पूर्वतयारीका लागि पोखरी उपयोगी हुने बताए । बढ्दो शहरीकरणका कारण आगजनीका घटना दिनप्रतिदिन बढी रहेकोले हेलिकप्टरसहित दमकलबाट समेत अग्नी नियन्त्रणमा पोखरी निर्माणले सहज हुने बताए । मुख्यमन्त्री कँडेलले प्रदेश सरकारले विपद् न्यूनिकरण गर्न नेपाली सेनालगायत सुरक्षानिकायहरूसँग सहकार्य गरिरहेको बताउँदै विपद् न्यूनिकरणमा सबैको सामुहिक प्रयासको आवश्यक रहेकोमा जोड दिए ।

प्रकाशित मितिः   १२ पुष २०८२, शनिबार १२:२६