नगरपालिकामाथि नागरिकका प्रश्नै–प्रश्न
सुर्खेत: शुक्रवार बिहान वीरेन्द्रनगर नगरपालिका वडा नं. २ मा रहेको समाज कल्याण सहकारी संस्थाको हल भरीभराउ थियो । भरीभराउ हलमा स्थानीय किशोर–किशोरीहरूले गुणस्तरीय शिक्षादेखि छात्रवृत्तिसम्मका कुरा उठाए । बढ्दो बालविवाह, महिला तथा घरेलु हिंसा, फोहोर व्यवस्थापन, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सुरक्षा, पारदर्शितालगायत विभिन्न विषयमा छलफल चल्यो । नागरिक प्रश्नमा सरोकारवालाहरूले जवाफ दिए ।
स्थानीय युवा रामनाथ सञ्ज्यालले स्थानीय सरकारको सेवा प्रवाह अझै चुस्त हुनुपर्ने सवाललाई जोडदाररूपमा उठाए । उनले सरकारी अनुदानमा अहिले पनि नागरिकको पहुँच पुग्न नसकेको जनाए । छलफलमा सहभागी रेणु रावलले उत्पादित तरकारीले बजार नपाएको गुनासो सुनाइन् । महिलाहरूलाई आर्थिक सशक्तिकरणका लागि सञ्चालन गरिएका कार्यक्रम प्रभावकारी नभएकोमा ध्यानाकर्षण पनि गराइन् ।
गरिमा चौधरीले सामुदायिक विद्यालयमा अस्वभाविक रूपमा शुल्क लिने गरेकोमा नगरपालिकाले नियमन कहिले गर्छ भनेर प्रश्न गरिन् ? किशोरी निर्मला खड्काले विद्यालयमा शौचालयदेखि विषय शिक्षकसम्मको समस्या झेलिरहेको जानकारी गराइन् । बढ्दो बालविवाहले किशोरीहरूले बीचमै विद्यालय छोड्ने गरेको भन्दै उनले बालिकालाई विद्यालयमा टिकाइराख्न के कस्तो योजना नगरपालिकाले निर्माण गरेको छ ? भनेर प्रश्न गरिन् ।
अर्की किशोरी अमृता खड्काले बालअधिकार हनन्का घटना बढेको भन्दै सरोकारवालाहरूको ध्यानाकर्षण गराइन् दिलमाया आचार्यले बालविवाह रोकथामका लागि प्रभावकारी नीति बनाएर कार्यान्वयन हुनुपर्ने औंल्याइन् ।
यस्तै, सुस्मीता बस्यालले अझैपनि प्रहरीसँग नागरिक प्रत्यक्ष जोडिन नसकेको बताइन् । प्रहरीप्रति नागरिकको बुझाइ सकारात्मक हुन नसकेकोले अन्य संघसंस्थासँग न्यायका लागि आश्रित हुनुपरिरहेको उनको बुझाइ थियो ।
निर्णयक भूमिकामा युवा सहभागिता बढ्न नसकेको युवाहरूले गुनासो गरेका थिए । सहभागी सुक्मा सार्कीले समुदायमा घरेलु हिंसा बढेको बताइन् । कानुनी सचेतना अभावका कारण महिलाहरू हिंसा सहेर बस्न बाध्य भएको उनको भनाइ थियो । ‘बहुविवाह बढ्दो छ, सम्बन्ध विच्छेदका घटना उस्तै छन् । सम्बन्ध विच्छेद हुँदा बालबालिका बिचल्लीमा परेका छन्’ उनले समाजका समस्या सुनाइन् । गाउँमा सीपअनुसारको रोजगारी नहुँदा विदेशीने क्रम बढ्दो रहेको भन्दै सुक्माले नगरपालिकाले सिपमूलक आयआर्जनका कार्यक्रममा जोड दिनुपर्नेमा जोड दिइन् ।
आवाज संस्थाले बालविवाह रोकथाम तथा व्यवस्थापनका लागि बालिकाको नेतृत्व परियोजनाअन्र्तगत महिला, बालबालिका र सरोकारवालाहरूबीच छलफल आयोजना गरेको थियो । सरोकारवालाहरूबीच भएको छलफलमा सहभागीहरूले समुदायमा बालविवाह बढेको, लागूऔषध दुव्र्यसनी प्रयोगकर्ता घर–घरमा भेटिने गरेको, महिला हिंसा र घरेलु हिंसा बढेको, सरकारी सेवा प्रवाहमा न्यून आयस्तर भएकाको अझैपनि पहुँच पुग्न नसकेको, उत्पादित तरकारीले बजार नपाएको, वडा तथा नगरपालिकाले सञ्चालन गरेका लक्षित वर्ग विशेष कार्यक्रम प्रभावकारी नभएकोलगायतका समस्या सुनाए ।
सेवा प्रदायक निकायबाट वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, वडा नं. २ का अध्यक्ष गजबहादुर बुढा, जिल्ला प्रहरी कार्यालय सुर्खेतको महिला बालबालिका शाखाका प्रहरी निरीक्षक श्याम प्रकाश यादव र प्रदेश अस्पताल एकद्वार संकट व्यवस्थापन केन्द्रका दुर्गा शाही रहेका थिए । उनीहरूले नागरिकबाट आएका सवाललाई सम्बोधन गरेका थिए भने आफ्नो नीति तथा कार्यक्रम र बजेटमा समेट्ने जनाएका थिए ।
नगरपालिकाले लक्षित वर्ग विशेष कार्यक्रम प्राथमिकतामा राखेको नगरप्रमुख मोहनमाया ढकालले बताइन् । महिलाहरूको लागि सीपमूलक तथा आर्यआर्जनका कार्यक्रममा जोड दिइएको उनको भनाइ छ । महिला तथा बालबालिकाका क्षेत्रमा हिंसा न्यूनिकरणदेखि पूर्वाधार निर्माणसम्मका योजना कार्यान्वयन गरिएको बताइन् । ‘मेयरसँग महिला किसान’ कार्यक्रम सञ्चालनमा रहेको भन्दै उनले सामग्री हस्तान्तरणसँगै अनुदानका कार्यक्रम पनि राखिएको जनाइन् ।
नागरिकका आवश्यकता परिपूर्ति गर्नेगरी योजना निर्माण गरिएको दाबी ढकालको थियो । उनले यो वर्ष पनि लक्षित वर्ग विशेष योजनालाई प्राथमिकतामा राखिएको जानकारी दिइन् । बालविवाह न्यूनिकरणदेखि गुणस्तरिय शिक्षा अभिवृद्धिसम्मका योजना राखिएको भन्दै युवा लक्षित कार्यक्रम पनि कार्यान्वयन भइरहेको जनाइन् । युवालाई अनुदान, किशोरीमैत्री पूर्वाधार, घरेलु हिंसा न्यूनिकरण गर्न कानुनी सचेतना, तरकारीको बजार व्यवस्थापनको क्षेत्रमा योजनाबद्ध तरिकाले काम भइरहेको नगरप्रमुख ढकालको भनाइ थियो ।
वडा नं. २ का अध्यक्ष गजबहादुर बुढाले बालअधिकार संरक्षणका योजना कार्यान्वयन गरिरहेको बताए । विभिन्न संघसंस्थासँग मिलेर यस्ता कार्यक्रम कार्यान्वयन गरिरहेको उनको भनाइ छ । पछिल्लो समय लागूऔषध दुव्र्यसनी बढेकाले चुनौती बनिरहेको भन्दै उनले यस सम्बन्धी पनि कार्यक्रम केन्द्रित गरिरहेको जनाए । वडाले तरकारीको बीउ वितरणदेखि बजार व्यवस्थापनसम्मको कामलाई प्राथमिकतामा राखेको उनको भनाइ छ ।
प्रदेश अस्पताल एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) का दुर्गा शाहीले २०७४ सालदेखि अहिलेसम्म करिब एक हजार सात सय जनाले सेवा लिएको बताइन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतको महिला तथा बालबालिका शाखाका प्रहरी निरीक्षक श्याम प्रकाश यादवले बालविवाहका सवाल शाखामा धेरै आउने गरेको जनाए ।
आवाज संस्थाका कार्यकारी निर्देशक पवित्रा शाहीले समुदायस्तरमा बालविवाह न्यूनिकरण तथा बालअधिकारका क्षेत्रमा काम गरिरहेको बताइन् । उनले कार्यक्रमको प्रभावले बालविवाह न्यूनिकरण तथा बालअधिकार सुनिश्चितता हुँदै गइरहेको जनाइन् । सचेतना कार्यक्रमसँगै विभिन्न सहयोगका कार्यक्रमसमेत कार्यान्वयन गरिरहेको उनको भनाइ थियो । बालविवाह न्यूनिकरण गर्न रणनीतिक योजना निर्माण भएकाले आफूहरू पनि काम गर्न सहज भएको शाहीले बताइन् ।
प्रकाशित मितिः १२ पुष २०८२, शनिबार १२:२२

साझा बिसौनी ।