सुर्खेतमा सुविधायुक्त आँखा अस्पताल

सुर्खेतमा प्रदेश नम्बर ६ को सबैभन्दा सुविधायुक्त आँखा अस्पतालले आफ्नो सेवा सुरु गरेको छ । नेपाल रेडक्रस सोसाइटी सुर्खेतले वीरेन्द्रनगरमा सञ्चालनमा ल्याएको सामुदायिक आँखा अस्पतालको बुधवार उद्घाटन गरिएको हो । औपचारिक उद्घाटन भएसँगै अब यस क्षेत्रका दुर्गमका बिरामीलाई उपचारका लागि सहज हुने भएको हो ।

अस्पताल सञ्चालनमा आएसँगै यसअघि आँखाको सामान्य उपचारका लागि नेपालगन्ज, काठमाडौं र भारत धाउन बाध्य यस क्षेत्रका बिरामीहरूलाई अब राहत मिल्नेछ । यस्तै उनीहरूको आर्थिक भार समेत कम हुने भएको हो । अस्पतालले कानका बिरामीहरूको समेत सामान्य उपचार सुरु गरेको छ । स्वीस रेडक्रसको आर्थिक सहयोगमा स्थापना भएको अस्पतालको नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष सञ्जिव थापाले एक समारोहकाबीच उद्घाटन गरेका हुन् ।

सुर्खेत रेडक्रसको अगुवाइमा वि.सं. २०४६ सालमा वीरेन्द्रनगरमा आँखा जाँच केन्द्र स्थापना गरिएको थियो । सोही केन्द्रलाई विस्तार गरी हाल अस्पताल बनाइएको हो । अस्पतालमा उपचारका लागि दैनिक डेढ सयभन्दा बढी बिरामी आउने गरेका छन् । मध्य तथा सुदूरपश्चिमका जिल्लाहरूबाट समेत उपचारका लागि बिरामीहरू अस्पतालमा आउने गरेका छन् । यो अस्पतालबाट सुर्खेत लगायत यस क्षेत्रका दुर्गम जिल्लाका नागरिकहरूले प्रत्यक्ष लाभ लिने अपेक्षा गरिएको छ । सानो कटेरोबाट आँखा सम्बन्धी परामर्श सेवा सुरु गरेको यो अस्पताल अहिले गुमेको ज्योति समेत फिर्ता गराउने तहमा पुगेको हो । उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेपछि बिरामीले आर्थिक समस्या झेल्नुपर्ने बाध्यताबाट पनि मुक्ति पाउने अपेक्षा गरिएको छ ।

सानो भवनमा सीमित भएको यो अस्पतालको सुविधा सम्पन्न भवन निर्माण भएको हो । २०७० साल भदौमा शिलान्यास भएको अस्पताल निर्माणको कूल लागत तीन करोड ८० लाख ३४ हजार रहेको अस्पताल सञ्चालन समितिका संयोजक लिलाराम सुवेदीले जानकारी दिए । उनका अनुसार अस्पतालमा फर्निचर, मेशिन र जनशक्तिको व्यवस्थापनमा गरी कूल पाँच करोड १४ लाख ९० हजार रूपैयाँ खर्च भएको छ । मध्य तथा सुदूरपश्चिम क्षेत्रकै अत्याधुनिक सेवा प्रवाह गर्ने दाबी गरिएको यो अस्पतालले अहिले १५ शैयाको स्वीकृती लिएर सुविधा सम्पन्न भवन निर्माण गरेको छ । नयाँ भवनबाट सेवा प्रवाह भएसँगै अस्पतालको सुविधा थप प्रभावकारी हुने अस्पताल सञ्चालक समितिका संयोजक सुवेदीको विश्वास छ । सरकारले भोगाधिकार दिएको करिब दुई विगाहा जग्गामा सुविधायुक्त भवन बनाइएको हो ।

आँखा अस्पताल स्थापनार्थ सुरुदेखि नै लागेका अभियन्ता सुवेदी मध्य तथा सुदूरपश्चिमका नागरिकका लागि अस्पताल बरदान सावित भएको बताउँछन् । अस्पतालमा आँखा सम्बन्धी सबै जाँच र शल्यक्रियाको सुविधा उपलब्ध छ । यो अस्पतालले आँखा जाँच र शल्यक्रिया मात्र होइन गाउँ–गाउँमा जनचेतनामूलक कार्यक्रम गर्नुका साथै निःशुल्क शिविरहरू समेत सञ्चालन गर्दै आएको छ । अस्पतालबाट कर्णालीका पाँच जिल्ला र भेरीका पहाडी जिल्लाका बासिन्दाहरू बढी लाभान्वित हुनेछन् । अब आँखाको जस्तोसुकै उपचारका लागि पनि जिल्ला बाहिर जानुपर्ने बाध्यता टरेको रेडक्रस सुर्खेतका अध्यक्ष रामलाल आचार्यले दाबी गरे । अस्पतालले अहिले आर्थिक रूपमा विपन्न बिरामीहरूलाई निःशुल्क सेवासमेत प्रदान गर्दै आएको छ । आउँदा दिनमा पनि यसलाई जारी राखिने रेडक्रसले जनाएको छ ।

वर्षौंदेखिको प्रयासबाट सुविधायुक्त भवन निर्माण भएको र थप सेवाहरू समेत थप भएपछि रेडक्रसले केही वर्षभित्रमा कानको उपचार समेत सुरु गर्ने योजना बनाएको छ । सुर्खेतमै आँखाको शल्यक्रिया सुरु भएपछि सबै भन्दा बढी कर्णाली अञ्चलका बिरामीहरूलाई राहत मिल्नेछ । अस्पतालका अनुसार यस क्षेत्रमा अहिले पनि मानिसहरूले समयमा नै उपचार नगर्ने र आर्थिक अभावका कारण उपचार गर्न नसक्दा आँखाका बिरामीको संख्या ठूलो मात्रामा रहेको छ । अस्पतालको उद्घाटन गर्दै रेडक्रसका केन्द्रीय अध्यक्ष सञ्जिव थापाले यो अस्पतालले अब दुर्गममा आँखा गुमेकाहरूको ज्योती फिर्ता गर्ने विश्वास व्यक्त गरे । सुर्खेतमै आँखाको उपचार सुविधा उपलब्ध भएपछि बिरामीहरूले पनि खुशी व्यक्त गरेका छन् ।

प्रकाशित मितिः   ११ जेष्ठ २०७४, बिहीबार १०:३६