दूर चिकित्सा सेवा

कर्णाली प्रदेशका सबै जिल्लामा स्वास्थ्य सेवाको सहज पहुँच छैन । सामान्य रोग–बिरामले पनि नागरिकलाई सास्ती दिने गरेको छ । पहाडी तथा हिमाली जिल्लाका नागरिकलाई सुर्खेत, नेपालगञ्ज वा काठमाडौं नै धाउनुपर्ने बाध्यता छ । सबै जिल्लामा विभिन्न तहका स्वास्थ्य संस्था भएपनि त्यहाँ आवश्यक जनशक्तिसहितको सेवा उपलब्ध छैन । जसले गर्दा उपचारका लागि बाह्य जिल्ला जानुपर्ने अवस्था छ । यही अवस्थालाई मध्यनजर गर्दै पछिल्लो समय कर्णाली प्रदेश सरकारले दूर चिकित्सा सेवा सञ्चालनमा ल्याएको छ । यो सेवा प्रभावकारी बनेको छ । दुर्गममा विशेषज्ञ सेवा उपलब्ध गराउन दूर चिकित्सा सेवा सुरु गरिएको छ । कर्णालीका पाँच जिल्लामा दूर चिकित्सा सेवा सुरु गरिएको छ ।

भौगोलिक रुपमा विकट रहेको कर्णालीमा यो सेवा प्रभावकारी बन्दै गइरहेको छ । दूर चिकित्सा सेवा प्रभावकारी सञ्चालनका लागि थप चिकित्सक र आवश्यक सञ्चार उपकरणको व्यवस्था गर्ने काम भइरहेको प्रदेश अस्पतालले जनाएको छ । मौलिक हकका रुपमा रहेको स्वास्थ्य सेवा दुर्गम क्षेत्रका लक्षित वर्गलाई उपलब्ध गराउन दूर चिकित्सा सेवालाई थप विस्तार गर्न आवश्यक देखिएको छ । सरकारी अस्पतालबीच आपसी सहकार्य गरी जनतालाई गुणस्तरीय उपचार सेवा प्रदान गर्न पनि दुर चिकित्सा सेवा सञ्चालन गरिएको हो । प्रदेश अस्पताल सुर्खेतले २०७७ वैशाख ७ गतेबाट दूर चिकित्सा सेवा सुरु गर्‍यो । गत आर्थिक वर्षबाट कर्णालीका पाँच वटा जिल्ला अस्पतालमा पनि यो सेवा विस्तार गरिएको छ । दूर चिकित्सा विस्तार भएसँगै प्रदेशको स्वास्थ्य क्षेत्रले गति लिने अपेक्षा गरिएको छ । अहिलेसम्म कर्णालीका एक हजार आठ सय जनाले यो सेवा लिएका छन् । कर्णालीका दुर्गम भूभाग, अदक्ष जनशक्ति र औषधिको अभावले विगतमा लाखौँ खर्च गरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौं हुँदै भारतका लखनउजस्ता सहर पुगेर उपचार गर्न बाध्य भएका नागरिक दूर चिकित्सा सेवाका कारण केही मात्रामा भएपनि आफ्नै जिल्लामा राहत अनुभव गरिरहेका छन् । कर्णालीका दुर्गम जिल्लामै बसेर उनीहरुले विशेषज्ञ सेवा पाइरहेका हुन् । यो सेवाबाट सबैभन्दाबढी छालारोगीले लाभ लिएको प्रदेश अस्पतालले जनाएको छ ।

अहिले कर्णाली प्रदेशका पाँच जिल्ला मुगु, हुम्ला, डोल्पा, जाजरकोट र कालीकोटमा जिल्ला अस्पतालबाट नागरिकले यो सेवा लिइरहेका छन् । चालु आर्थिक वर्षबाट यो सेवालाई थप व्यवस्थित गर्न लागिएको छ । जनशक्ति अभाव भएका स्वास्थ्य संस्थाहरुका लागि दूर चिकित्सा सेवाले ठूलो राहत दिएको छ । विशेषज्ञ डाक्टर नभएका स्थानीय स्वास्थ्य संस्थाले प्रदेश अस्पतालमा कार्यरत विशेषज्ञबाट सेवा पाइरहेका छन् । यसलाई थप विकास र विस्तार गर्न सकेमा दुर्गम क्षेत्रका नागरिकलाई सहजता हुन सक्दछ ।

प्रकाशित मितिः   १० पुष २०८२, बिहीबार ०५:०३