ग्यासको व्यावसायिक उत्पादनमा विलम्ब

सुर्खेत: दैलेखमा फेला परेको प्राकृतिक ग्यासको व्यावसायिक उत्पादनमा सरकारले विलम्ब गरेको छ । पाँच महिनाअघि नै चिनियाँ प्राविधिक टोलीले प्राकृतिक ग्यास रहेको पुष्टि गरेर प्रतिवेदन बुझाइसके पनि सरकारले त्यसको उत्पादन प्रक्रिया अघि बढाएको छैन ।
परीक्षण तथा उत्पादनका लागि कुनै पनि काम अघि नबढेको खानी तथा भूगर्भ विभाग धर्मराज खड्काले जानकारी दिए । उनका अनुसार चिनियाँ प्राविधिक टोलीले गत कार्तिकमै अध्ययन प्रतिवेदन नेपाल सरकारलाई बुझाइसकेको थियो । तर अहिलेसम्म उक्त प्रतिवेदनमाथि थप अध्ययनसमेत भएको छैन । विस्तृत रिपोर्ट नै नहेरिएको उनले जनाए । यसले पनि अहिले ग्यास उत्पादन सरकारको प्राथमिकतामा नपरेको देखिन्छ ।
चीनको जिओलोजिकल सर्वे कम्पनीले दैलेखमा २०७८ वैशाख २८ गतेदेखि सुरु गरेको पहिलो ड्रिलिङ कार्य चार हजार १३ मिटर गहिराइमा पु¥याइएको थियो । दैलेखको भैरवी गाउँपालिका–१, जलजले क्षेत्रमा गरेको ड्रिलिङबाट एउटै कुवामा एक खर्ब १२ अर्ब घनमिटर (११२ क्युबिक किलोमिटर) प्राकृतिक ग्यास रहेको तथ्य फेला पारेको छ । यो परिमाण करिब ३९ लाख ५५ हजार मिलियन क्युबिक फिट बराबर हो । अन्वेषणका क्रममा श्रीस्थान, नाभिस्थान, पादुकास्थान र जलजले गरी चार स्थानलाई सम्भावित क्षेत्र मानिएको थियो । जलजलेको एक कुवाको नतिजालाई आधार मान्दा चारै क्षेत्रमा गरी चार खर्ब ३० अर्ब घनमिटर ग्यास हुन सक्ने प्रारम्भिक अनुमान छ । विज्ञहरूका अनुसार यो भण्डारले नेपालको ग्यास र इन्धनको माग ५० वर्षसम्म धान्न सक्छ ।
त्यसैगरी युरिया मल उत्पादन कारखाना सञ्चालन गर्न सकिनेदेखि खाना पकाउने ग्यास र यातायात सञ्चालन क्षेत्रमा प्रयोग गर्न सकिने निष्कर्ष निकालिएको छ । प्राकृतिक ग्यासबाट युरिया मल उत्पादन गर्न आर्थिक र प्राविधिक हिसाबले उपयुक्त हुने र देशमा हालसम्म कुनै रासायनिक मल कारखाना नभएको हुँदा रासायनिक मल कारखाना निर्माण गर्नुपर्ने सुझाव दिएको छ । करिब दुई हजार दुई सय मेट्रिक टन उत्पादन क्षमता भएको ग्यासमा आधारित युरिया मल कारखाना सञ्चालन गर्न वार्षिक चार १० देखि ४५२ मिलियन घनमिटर ग्यास र दैनिक एक हजार ६९ देखि एक हजार एक सय २२ मेट्रिक टन नाइट्रोजन ग्यास आवश्यक पर्ने प्रतिवेदनले देखाएको छ ।
नेपालको कृषि क्षेत्रको लागि आवश्यक सात लाख मेट्रिक टन युरिया मलको माग पूरा गर्न प्रतिदिन करिब दुई हजार दुई सय मेट्रिक टन उत्पादन क्षमताको मल कारखाना स्थापना गर्नुपर्ने सुझाव दिइएको छ । तर प्रतिदिन तीन हजार पाँच सय मेट्रिक टन क्षमताको उत्पादन गर्न सक्ने कारखाना निर्माण गर्न सकिए आर्थिक हिसाबले छिटो प्रतिफल प्राप्त गर्न सकिने देखिन्छ । यसका साथै कारखानाका लागि आवश्यक बिजुली उपलब्ध गर्न सोही क्षेत्रमै ग्यासमै आधारित पावर प्लान्टको निर्माण गर्न आवश्यक रहेको पनि देखिएको छ । तर स्रोत फेला परेपनि त्यसको उत्पादन कार्य अघि बढ्न सकेको छैन ।
देशमा भइरहेको पछिल्लो राजनीतिक परिस्थितिले पनि अहिले राष्ट्रिय गौरवका आयोजना ओझेलमा पर्ने देखिएको छ । जेन–जी आन्दोलनपछि नेपालमा त्यसको प्रत्यक्ष प्रभाव देखिएको हो । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकार हुँदा चर्चामा आएको ग्यास उत्खनन्को काम अहिले सुस्ताएको छ । यो आयोजनालाई नागरिकले चासोका साथ हेरेका छन् । उत्साहित देखिएका नागरिक निराश बन्न थालेका छन् । देश विकासको उत्साह बोकेको आयोजना जुनसुकै सरकार आएपनि अघि बढाउनुपर्ने आम नागरिककको माग छ । आयोजना अघि नबढ्ने आशंका पैदा भएको दुल्लू नगरपालिका दैलेखका स्थानीय जगत थापाले बताए । उनले भने, ‘देशमा केही हुन्छ की भन्ने आशा थियो, अब के हुन्छ थाहा नै छैन, यो आयोजना जसरी पनि अगाडि बढाउनुपर्छ ।’
प्राकृतिक ग्यासको भण्डार पत्ता लागेसँगै निकै उत्साहित भएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले यसलाई राष्ट्रिय समृद्धिको आधार बताएका थिए । उनले मंसिरभित्रै प्राकृतिक ग्यासको परीक्षण तथा उत्पादन थाल्न निर्देशनसमेत दिएका थिए । अहिले परिस्थिति बदलिएको छ । फागुनभित्र चुनाव गराउने म्याण्डेटसहित अन्तरिम नागरिक सरकार बनेको छ । त्यसैले नागरिकले आयोजना अघि बढ्नेमा आशंका व्यक्त गरेका छन् । गत भदौ २३ र २४ मा जेन–जी आन्दोलन भएपछि मुलुकको सत्ता समीकरण बदलियो । आन्दोलनको जगमा सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन भयो । चुनाव गराउने मुख्य म्यान्डेट पाएको सरकारको ध्यान दैलेखको ग्यास परीक्षण तथा व्यावसायिक उत्पादनमा जान सकेको देखिँदैन ।
प्रकाशित मितिः ५ पुष २०८२, शनिबार ११:३२
साझा बिसौनी ।