अर्गानिक वस्तुलाई बजारको समस्याः उत्पादन छ, मूल्य पाइँदैन

सुर्खेत: वीरेन्द्रनगर–१३ का मणिराम लामिछानेले अर्गानिक खेती गर्न थालेको तीन वर्ष भयो । उनले काँक्रा, बन्दा, काउली, खुर्सानी, बोडी, सागलगायतका तरकारीको खेती गर्दै आएका छन् । पछिल्लो समयमा अर्गानिक खेतीतर्फ मणिराम मात्र होइन, अन्य किसानहरूमा पनि आकर्षण बढ्दै गएको छ । रासायनिक मल तथा विषादीले मानव तथा पर्यावरणमा पर्ने असरबारे थाहा पाउँदै गएकाले यस्ता वस्तुको विकल्प खोज्न थालेका हुन् । यद्यपि, जैविक मल तथा विषादी प्रयोग नगरी गरिएको खेतीबाट रासायनिक मल र विषादी प्रयोग गरेर गरिने खेतीमाजस्तो उत्पादन हुँदैन ।
मणिरामका अनुसार अर्गानिक रूपमा उत्पादन गरिएको तरकारी राम्रो नदेखिने, कतिपयमा सानातिना किरा लाग्ने गर्छन् । व्यवसायी र उपभोक्ताले यस्ता तरकारी नरुचाउने लामिछानेको अनुभव छ । त्यसैले अर्गानिक खेती गर्ने किसानका लागि सबैभन्दा ठूलो समस्या बजारको रहेको किसानहरू बताउँछन् । ‘बजारमा युरिया र डिएपी हालेको तरकारीसँग हामीले प्रतिष्पर्धा गर्नु पर्छ,’ मणिरामले भने, ‘त्यसैले बढी मूल्य राख्दा बिक्री नहुने डर छ, अहिले हामीले उत्पादन गरेको तरकारी सित्तिमित्ति बिक्री हुँदैन ।’
अर्गानिक रूपमा उत्पादन गर्दा न्यून उत्पादन हुने, त्यसमाथि बजार मूल्य नपाउने हुँदा मर्कामा परिरहेको उनको गुनासो छ । रासायनिक मल प्रयोग गर्दा उनले वार्षिक चार लाखसम्म तरकारी खेतीबाट आम्दानी गर्दै आएका थिए । अहिले धाैँ–धाैँ साढे दुई लाख आम्दानी हुने गरेको सुनाए ।
वीरेन्द्रनग–१३ कै रमा रावतले पनि अर्गानिक खेती गर्दै आएकी छन् । उनकाअनुसार यस्तो अर्गानिक खेतीमा बढी मेहनत चाहिने तर उत्पादन कम हुने गर्दछ । ‘हाम्रो प्रतिष्पर्धा भनेको रासायनिक मल र विषादी हालेर फलाइएको बालीसँग हुन्छ,’ उनले भनिन्, ‘सस्तो दिउँ भने लागत उठ्दैन, महँगो मूल्य खोजौँ भने अर्गानिक र विषादीयुक्त सामग्रीबीच बजारमा कुनै फरक छैन ।’ उत्पादन गरिएको तरकारी सहज रूपमा बिक्री वितरण नहुने समस्या रहेको उनले सुनाइन् ।
अर्गानिक तरकारी र बालीको प्रवद्र्धन गर्न सरकारले प्रमाणीकरण गरी त्यसका बेग्लै बिक्री कक्षा स्थापना गर्नुपर्ने किसानहरूको माग छ । अर्गानिक वस्तुको छुट्टै बजार भए ग्राहकलाई सजिलो हुने कृषक दिलसरा मन्दिरले बताइन् । व्यापारीहरूले समेत आफूहरूले उत्पादन गरेको तरकारी सहज रूपमा नलिँदा थप समस्या हुने गरेको उनको भनाइ छ । ‘उत्पादन अनुरूपको मूल्य नहुँदा निकै समस्या भइरहेको छ,’ उनले भनिन् ‘रोगकिराको प्रकोप, कम उत्पादन हुन्छ, बजारीकरणमा समस्या छ, सरकारले अर्गानिक उत्पादनको बिक्री वितरणका लागि छुट्टै व्यवस्था गर्नुपर्छ ।’
कृषक र व्यवसायीबीच अन्तरक्रिया
कृषक र उद्यमीबिचको व्यावसायिक सम्बन्ध प्रगाढ बनाउने उद्देश्यका साथ वीरेन्द्रनगरमा अन्तरक्रिया गरिएको छ । ली–बर्डको आयोजनामा वीरेन्द्रनगरका व्यवसायी र तरकारी उत्पादनमा क्रियाशील कृषकहरूसँग अन्तरक्रियाको आयोजना गरिएको हो । कृषकले उत्पादन गरेको तरकारी सहज रूपमा बजारसम्म पू¥याउने उद्देश्यले कार्यक्रम राखिएको ली–बर्डका कर्णाली प्रदेश कार्यक्रम संयोजक कृष्ण लम्सालले बताए । उनका अनुसार विशेष गरेर अर्गानिक तरकारी उत्पादन गर्ने कृषक र व्यवसायीलाई एक ठाउँमा ल्याएर छलफल गरिएको हो ।
छलफलका क्रममा कृषक बनिता योगीले अर्गानिक तरिकाले खेती गरे पनि बजारमा विषादी प्रयोग गरिएका तरकारीसँग प्रतिस्पर्धा गर्न कठिन भएको बताइन् । उपभोक्ताहरूले चिल्लो र आकर्षक देखिने तरकारीलाई प्राथमिकता दिने भएकाले अर्गानिक तरकारीको बजार राम्रो नभएको उनको गुनासो थियो । अर्का कृषक गौरी दाहालले वीरेन्द्रनगरका व्यापारीको रोजाइमा आफूहरूले उत्पादन गरेको अर्गानिक उत्पादन पर्न नसकेको बताइन् । उनले बजारमा बाहिबाट आउने तरकारीसँग प्रतिस्पर्धा गर्न नसकिएको जनाइन् ।
वीरेन्द्रनगरका तरकारी व्यवसायी झलकजंग शाहीले यहाँका कृषकले बाह्रै महिना तरकारी बजारमा ल्याउन नसक्दा आफूहरूलाई खरिदमा समस्या परेको बताए । अन्य तरकारीको तुलनामा अर्गानिक रूपमा उत्पादन गरिएको तरकारी सेवाग्राहीले कम मात्रै खपत गर्ने हुँदा खरिद गर्न नसकिएको उनले जनाए । उनले भने, ‘अर्गानिक तरकारी महँगोे हुन्छ, सेवाग्राहीले नै नरुचाएपछि कसरी खरिद गर्ने समस्या छ, अब भने समन्वय गरेर अघि बढ्न सकिन्छ ।’ अर्गानिक वस्तु उपभोगबारे आम नागरिकलाई सचेतना गर्नुपर्ने जनाइएको छ ।
वीरेन्द्रनगर नगरपालिकाका कृषि शाखा प्रमुख हेमराज केसीले किसानले उत्पादन गरेको तरकारी बजारीकरणका लागि व्यवस्थापन गर्न लागिएको बताए । वडा नं. ६ मा थप हाट बजारको व्यवस्था गर्न लागिएको उनले जानकारी दिए । अर्गानिक उत्पादन कुनैपनि हालतमा खेर जान दिन नहुनेमा जोड दिए । प्रदेश सरकारले समेत अर्गानिक वस्तु उत्पादनलाई प्राथमिकतामा राखेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका योजना महाशाखा प्रमुख तिलकप्रसाद पाण्डेले बजारलाई व्यवस्थित गर्दै जैविक तरकारीको लागि छुट्टै व्यवस्था गर्ने योजना रहेको उनले सुनाए । साथै, उपभोक्ताहरूलाई अर्गानिक र विषादीयुक्त तरकारीको बीचमा फरक छुट्याउन सहजीकरण गर्ने कार्यक्रमको कार्यान्वयन गर्न लागिएको जानकारी दिए ।
छलफलमा सहभागी कृषकहरूले व्यवसायीले आफूहरूको उत्पादनलाई प्राथमिकता नदिएको गुनासो गरेका थिए । व्यवसायीहरूले भने आगामी दिनमा अर्गानिक तरकारीलाई मूल्य वृद्धि गरेर बिक्री वितरण गरिने जनाएका थिए । कृषकहरूले बाह्रै महिनामा कुन–कुन तरकारी उत्पादन गर्न सकिन्छ भनेर कार्ययोजना नै बनाएर प्रस्तुत गरेका थिए ।
प्रकाशित मितिः ३ पुष २०८२, बिहीबार ०९:२५

साझा बिसौनी ।