लुम्बिनीले उचाल्यो उपाधि
काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि लुम्बिनी लायन्सले जितेको छ । शनिवार भएको फाइनलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई दोस्रो सिजन पनि उपविजेतामै सीमित गर्दै लुम्बिनी च्याम्पियन बनेको हो ।
कप्तान रोहित पौडेल, शेर मल्ल र रुबेन ट्रमपलम्यान बलिङमा चम्किएपछि लुम्बिनीले सुदूरपश्चिमलाई ८५ रनमा अलआउट गरेको थियो । फाइनलमा सुदूरपश्चिमले दिएको ८६ रनको सामान्य लक्ष्य लुम्बिनीले नौ ओभरमै चार विकेट गुमाएर पूरा गर्यो ।
लुम्बिनीले च्याम्पियन बन्ने क्रममा पछिल्लो ६ खेलमा लगातार जित हात पारेको छ । पहिलो खेलमा चितवन राइनोजलाई पराजित गरेपछि लगातार तीन खेलमा पराजित हुँदा कुनै समयमा लिग चरणबाटै बाहिरिने खतरामा पुगेको लुम्बिनीले त्यसपछि सानदार पुनरागमन गर्दै एनपीएलकै उपाधि जितेको हो ।
शनिवारको खेलमा लुम्बिनीका ओपनर दिनेश अधिकारीले सुदूरका कप्तान दीपेन्द्रसिंह ऐरीलाई पहिलो ओभरमै ४ छक्का प्रहार गरेपछि लुम्बिनीले २७ रन जोडेको थियो । दिनेशले विष्फोटक ब्याटिङ गर्दै १३ बलमा १ चौका र ५ छक्का प्रहार गर्दै ४२ रन बनाए । पहिलो विकेटका लागि दिनेशले डार्शी सर्टसँग ४ ओभरमै ५८ रनको साझेदारी गरेका थिए । तर हेमन्त धामीले पाँचौ ओभरमा सर्ट र दिनेश दुवैलाई आउट गर्दै साझेदारी तोडेका थिए । सर्ट १४ बलमा १३ रन बनाएर पाँचौ ओभरको पहिलो बलमा बोल्ड भए । यस्तै हेमन्तले दिनेशलाई सोही ओभरको तेस्रो बलमा स्कट कुगेलेइनबाट क्याचआउट गराए । कप्तान रोहितले १२ बलमा २ चौका र १ छक्का प्रहार गरी १६ रन योगदान गरे । निरोशन डिकवेलाले १२ बलमा अविजित ११ रन बनाए । दिलिप नाथले विजयी रन जोडेका थिए ।
त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको साविक उपविजेता सुदूरपश्चिम रोयल्सले १९.१ ओभरमा ८५ रनमै अलआउट भएको थियो । सुदूरपश्चिमले बनाएको ८५ रन एनपीएलको संयुक्त रूपमा चौथो कम स्कोर हो भने एनपीएल फाइनलको कम योगफल हो । लुम्बिनीका कप्तान रोहित पौडेल, शेर मल्ल र रुबेन ट्रमपलम्यानले धारिलो बलिङ गरेपछि सुदूरपश्चिमको इनिङ्स ध्वस्त बनेको थियो ।
सुदूरपश्चिमका लागि ओपनिङ गरेका इशान पाण्डेले सर्वाधिक ३३ रन बनाए । उनले एक छेउबाट विकेट जाँदा अर्को छेउ सम्हाल्दै इनिङ्स बिल्ड गरेका थिए । ५१ लब खेलेका उनले १ चौका रहार गरे । चौथो विकेटका लागि कप्तान दीपेन्द्र र इशानको २५ रनको साझेदारी गरे । कप्तान दीपेन्द्रले २० बलमा १ छक्का प्रहार गर्दै १३ रन बनाए । हर्मित सिंह र स्कट कुगेलेइनले समान १० रन जोडे ।
सुदूरपश्चिमको इनिङ्स धराशयी बनाउने क्रममा लुम्बिनीका कप्तान रोहित पौडेल, रुबेन ट्रम्पलम्यान र शेर मल्लले सानदार बलिङ गर्दै ३–३ विकेट लिए । रोहितले ११औं ओभरमा लगातार ३ विकेट लिँदै ह्याट्रिक नै पूरा गरे । रोहितले सुदूरका कप्तान दीपेन्द्रसिंह ऐरी, दिपक बोहरा र पुनित मेहरालाई लगातार आउट गरेका थिए । उनले ४ ओभर स्पेलमा जम्मा १२ रन खर्चिए । रुबेन ट्रम्पलम्यानले २.१ ओभरमा ३ रन मात्र खर्चेर ३ विकेट लिए । यस्तै शेरले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । तिलक भण्डारीले ४ ओभरमा २६ रन खर्चेर १ विकेट लिए ।



साझा बिसौनी ।