कर्णालीमा नेकपाको एकतासभाः केपीदेखि कुलमानसम्म निशानामा

सुर्खेत: नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष पाँच नेताहरू शनिवार सुर्खेत ओर्लिए । पार्टीको कर्णाली प्रदेशस्तरीय एकतासभालाई सम्बोधन गर्दै उनीहरूले आगामी निर्वाचनबाट मुलुकको पहिलो शक्ति हुने दाबी गरे । त्यसका साथसाथै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीदेखि ऊर्जामन्त्री कुलमान घिसिङसम्मलाई निशाना बनाएर खरो आलोचना गरेका छन् ।
संयोजक पुष्पकमल दाहाल प्रचण्डको निशानामा परे नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशकसमेत रहेका मन्त्री घिसङ । घिसिङप्रति प्रचण्डले आक्रोश पोखे र ‘बैगुनी’ को संज्ञासमेत दिएका छन् । आफू प्रधानमन्त्री भएको बेला कुलमानलाई प्राधिकरणको नेतृत्वमा पु¥याए पनि त्यसको गुन बिर्सेको आरोप उनको थियो । साथै उनले लोडसेडिङ अन्त्यको जस आफूले पाउनुपर्ने भन्दै कुलमानले मात्र लिन खोजेको गुनासो गरे । ‘म प्रधानमन्त्री हुँदा नेपाललाई लोडसेडिङमुक्त बनाउने ऐतिहासिक कार्य हामीले पूरा गरेका हौँ’ उनले भने, ‘भलै अहिले कुलमान घिसिङले कुन विष खाएर, जुन थालमा खायो त्यसैमा प्वाल पार्न खोजेका छन्, तिनले त्यसो नगरुन्, बुद्धि फिरोस् भन्न चाहन्छु ।’
प्रचण्डले कुलमानलाई प्राधिकरणमा आफूले नै ल्याएको दाबी गरे । ‘मलाई जनताले बनाएको भन्ने कुरा, दुई–दुई पटक प्रधानमन्त्रीको हैसियतले मैले टिपेर ल्याएर यो मान्छे राम्रो छ भनेर गरेको कुरा र उसले पहिला–पहिला प्रचण्डले हो मलाई बनाएको भनेको कुरा बिर्सेर अहिले लाज मर्नु छ ।’ कुलमानले आफ्नो क्षमताले मात्र लोडसेडिङ हटाएको भन्ने अभिव्यक्ति दिएकोप्रति संकेत गर्दै प्रचण्डले कुलमानको बुद्धि फिर्नुपर्ने बताए । उनले आक्रोश पोख्दै भने, ‘यस्तो बैगुनी भएर तिनले पार पाउने छैनन् । नेपाली जनताले त्यसो ग¥यो भने तिनलाई धेरै माफ दिन्छ जस्तो पनि मलाई लाग्दैन ।’
सहसंयोजक माधवकुमार नेपालले अबको निर्वाचनबाट नेकपा नै मुलुकको पहिलो शक्ति बन्ने दाबी गरे । जनताको विश्वास बढ्दै गएको भन्दै चुनावले नेकपालाई अनुमोदन गर्ने जनाए । साथै उनले आफू र पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा धेरै राम्रा कामहरू भएको दाबी पनि गरे । ‘म र प्रचण्डजी प्रधानमन्त्री भएका बेला राम्रा काम गरेका छौँ, तर केही गरेनन् भन्छन्’ उनले भने, ‘जनताले हाम्रा कामको मूल्यांकन गरेका छन् ।’ मध्यपहाडी राजमार्ग, कर्णाली राजमार्ग, जनता आवास कार्यक्रम र युवालाई रोजगारी दिने जस्ता महत्त्वपूर्ण कामहरू कम्युनिष्ट सरकारकै पालामा भएको उनको दाबी छ । उनले जनअपेक्षा अनुसार जति काम हुनुपर्ने थियो, त्यो नभएको हुनसक्ने भने स्वीकार गरे । भने, ‘जति गर्न सक्नुपथ्र्यो त्यो नभएका होलान्, तर केही नभएको होइन । हामीले शिर निहुराउनुपर्ने अवस्था छैन ।’ सम्बोधनका क्रममा नेता नेपालले अबको पार्टी इमानदारहरूको पार्टी हुने बताए । भ्रष्टाचार र स्वार्थी प्रवृत्तिको अन्त्य नगरी देशलाई समृद्ध बनाउन नसकिने उनको भनाइ थियो । उनले थपे, ‘भ्रष्टाचार र स्वार्थी प्रवृत्तिलाई अन्त्य गरिएन भने तथा साझा भावना अगाडि बढाउन सकिएन भने देशलाई अगाडि बढाउन सकिँदैन । त्यसैले हामीले विगतका कमजोरी स्वीकार गर्दै इमानदार तरिकाले काम गर्ने सोचेर नै पार्टी एकता गरेका हौँ ।’
सभामा पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशमा नेपाली विशेषताको समाजवाद ल्याउनुपर्ने बताए । देशलाई समाजवादतर्फ लैजानु नै अबको मुख्य विकल्प रहेको बताएका हुन् । मुलुकमा विदेशीहरूको हस्तक्षेप बढेको र राष्ट्रिय स्वाधिनतामाथि प्रश्न उठेको टिप्पणी गरे । नेकपा एमालेलाई पनि एकता र समाजवादको बाटोमा आउन आग्रह गरे । ‘म एमाले महाधिवेशनमा भएका साथीहरूलाई भन्छु, आउनुहोस्, एकै बाटोमा अघि बढौँ । हामी एउटै कम्युनिस्ट शक्ति बनेर अघि बढ्नु पर्छ’ खनालले भने ।
त्यसैगरी अर्का नेता वामदेव गौतमले मुलुकमा समाजवाद निर्माण गर्न नसके आफूहरूलाई जेल हाल्न जनतालाई आग्रह गरेका छन् । ‘हामीले समाजवाद निर्माण गर्न सकेनौँ भने तपाईंहरूले हामीलाई जेलमा लगेर कोचिदिनुहोला । हामीलाई अब भाग्ने छुट छैन’ उनको भनाई थियो । ‘अब ढिला नगरी समाजवाद निर्माणतर्फ लाग्नुपर्छ र मुलुकलाई समृद्ध बनाउनुपर्छ’ गौतमले भने ।
नेकपाका नेता डा. भीम रावलले पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निशानामा पारे । ओलीकै कारण जेनजी आन्दोलन भएको र देश जलेको उनको आरोप थियो । ‘सिंहदरबारमा आगो लाग्दा प्रधानमन्त्री को थियो ?’
प्रश्न गर्दै उनले देश संकटमा पर्दा वा आगो लागेका बेला भाग्ने प्रवृत्ति नेतामा हुन नहुने तर्क गरे । ओलीप्रति आक्रामक रूपमा प्रस्तुत भएका रावलले भने, ‘केपी ओलीलाई देशको नेता हुँ भन्नु लाज लाग्नुपर्ने हो । देशमा आगो लागेका बेला भाग्ने ? जेनजीका माग सुन्नुपर्नेमा उल्टै दमन गर्ने अनि आन्दोलन भएपछि भाग्ने ? हाम्रा कलिला युवाहरूको आवाजले केपीजी भाग्नुभयो, यो लज्जास्पद र शर्मनाक भयो । अझ अहिले पनि म शक्तिशाली हुँ भन्न सुहाउँदैन ।’
त्यसैगरी नेता नारायणकाजी श्रेष्ठले नेकपालाई घुस नखानेहरूको पार्टी बनाउने बताएका छन् । उनले नेकपालाई घुस नखानेहरूको पार्टी भनेर चिनाउनुपर्ने भएकाले त्यही अनुसार काम गरिने बताए । ‘भ्रष्टाचार नगर्नेहरूको पार्टी बनाएर सबैलाई एकताबद्ध गराउनुपर्ने छ,’ उनले अगाडि भने, ‘मजदुर, जनजाति, दलितलाई समेत एकताबद्ध गरेर काम गरिनेछ ।’
प्रकाशित मितिः २८ मंसिर २०८२, आईतवार १३:४८
साझा बिसौनी ।