जनहितकारीको साधारणसभा

सुर्खेत: जनहितकारी बचत तथा ऋण सहकारी संस्था सुर्खेतको २७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाले शनिवार वीरेन्द्रनगर–४ कालागाउँस्थित संस्थाकै प्राङ्गणमा साधारणसभा गरेको हो ।
संस्थाका अध्यक्ष नवराज कँडेलको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघका केन्द्रीय सदस्य हरिहरनाथ योगीको प्रमुख आतिथ्यतामा सभा गरिएको हो । सभामा जिल्ला बचत संघका अध्यक्ष भक्तिप्रसाद सापकोटा, जिल्ला सहकारी संघका अध्यक्ष प्रकाश तिमिल्सेनालगायतको पनि सहभागिता रहेको थियो ।
सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि योगीले सहकारीमार्फत नजिकैबाट वित्तीय सेवा प्रवाह गरेर घरघरमा रोजगारी सिर्जना गर्नु आजको आवश्यकता भएको बताए । बचत गर्ने बानी विकास हुँदै गएको र सहकारीले आर्थिक मात्र होइन, सामाजिक सशक्तिकरणको माध्यमको रूपमा समेत काम गरिरहेको उनले उल्लेख गरे ।
सहकारीका अध्यक्ष कँडेलले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तावित कार्यक्रम प्रस्तुत गरेका थिए । सहकारीले प्रविधिमैत्री सेवा विस्तार, सदस्य सेवा सुधार, सामाजिक उत्तरदायित्व र सहयोगमूलक कार्यक्रमलाई प्राथमिकतामा राखेको उनले बताए ।
कोषाध्यक्ष सञ्जय योगीले आर्थिक वर्ष २०८१/०८२ को वित्तीय प्रतिवेदनसहित आर्थिक वर्ष २०८२/०८३ का लागि वार्षिक बजेट प्रस्तुत गरेका थिए ।
प्रकाशित मितिः २१ मंसिर २०८२, आईतवार १०:२७
साझा बिसौनी ।