कामको गति बढाऊ
वीरेन्द्रनगर उपत्यकामा मागअनुसारको खानेपानी आपूर्ती छैन । स्थानीय स्रोत न्यून छन् । सुर्खेत उपत्यका खानेपानी संस्थाले विभिन्न खोलाबाट संकलन गरेर वितरण गरे पनि पर्याप्त भएको छैन । त्यसैले खानेपानीकै लागि समस्या हुने गरेको छ । गर्मीयाममा त पानीकै हाहाकार हुन्छ । यही समस्याको दीर्घकालिन समाधान गर्ने योजनासहित भेरी नदीको पानी लिफ्टिङ गरेर वीरेन्द्रनगर उपत्यकामा ल्याउने आयोजना अघि सारिएको छ । भेरी लिफ्टिङ आयोजना निर्माणको काम सुरुवात भएको लामै समय भएपनि पूर्णता पाइसकेको छैन । पछिल्लो समय भने आयोजनाको कामले तीव्रता पाएको छ । भेरी नदीको पानी पम्पिङ गरेर वीरेन्द्रनगर उपत्यकामा ल्याउने परियोजना अनुरुप काम धमाधम अघि बढेको हो ।
यो आयोजनाअन्तर्गत रुख कटानको काम अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म नौ सय रुख कटान गरिएको छ । वीरेन्द्रनगर नगरपालिका वडा नं. ८, ११ र १२ का सामुदायिक वनका रुख पहिलो चरणमा कटान गरिएको हो । दोस्रो चरणमा लेकवेशी नगरपालिका वडा नं. १० मा रुख कटान गरिनेछ । वीरेन्द्रनगर नगरपालिका वडा नं. ८, ११ र १२ तथा लेकवेशी नगरपालिका वडा नं. १० मा पर्ने ३.२ हेक्टर राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग अनुमति प्राप्त भइसकेसँगै आयोजनाले रुख कटानको काम धमाधम रूपमा अघि बढाएको हो । एक हजार पाँच सय रुख कटानको अनुमति पाएको छ । अहिले नौ सय रुख काटिएको छ । यस्तै, आयोजनाअन्तर्गत पाइप लाइन विस्तारको काम पनि धमाधम भइरहेको छ । वीरेन्द्रनगर उपत्यकाभित्र ३५ किलोमिटर पाइपलाइन विस्तार गर्न लागिएको हो । पाइपलाइन विस्तारसँगै अन्य कामहरूले पनि गति लिने भएकाले प्राथमिकताका समथ काम अघि बढाइएको जनाइएको छ । १३ किलोमिटर पाइपलाइन विस्तारको काम सकिएको खानेपानी क्षेत्र पूर्वाधार सहयोग आयोजनाले जनाएको छ । चालु आर्थिक वर्षमा सबै स्थानमा पाइपलाइन विस्तार गरिसक्ने गरी काम थालिएको हो । अब भने रुख कटान गरेसँगै आयोजना निर्माणका अन्य काम पनि अघि बढाइने आयोजनाले जनाएको छ । अबको दश दिनमा रुख कटानको काम सकेर आयोजना निर्माणका अन्य काम अघि बढाउने तयारी गरिएको छ ।
आयोजनाअन्तर्गत वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ अमृतडाँडामा पनि पूर्वाधार निर्माणका काम थालिएको छ । पर्खाल निर्माणको काम सुरु गरिएको छ । अबको केही दिनमा अन्य काम पनि सुरु गरिने जनाइएको छ । अमृतडाँडामा तीनवटा पानी प्रशोधन केन्द्र निर्माण गरिनेछ । यद्यपि, केही काम अघि बढेपनि आयोजना निर्माणको कामले अपेक्षित गति लिन भने सकेको छैन । निर्माण प्रक्रिया थालिएदेखि हालसम्म १३ प्रतिशत भौतिक प्रगति हासिल भएको छ । त्यसैले कामको गतिलाई थप तीव्र बनाउन आवश्यक देखिएको छ ।
प्रकाशित मितिः १८ मंसिर २०८२, बिहीबार ०५:०३
सम्पादकीय ।