कक्षा रित्तिन थालेपछि विद्यालय समायोजन

सुर्खेत: पुर्वी सुर्खेतको भेरीगंगा नगरपालिका वडा नं. ३ मा रहेको नवज्योति प्राथमिक विद्यालयमा मुश्किलले ५/६ जना विद्यार्थी हुन्थे । गत शैक्षिक सत्रमा पनि बालविकास कक्षाका समेत लगाएर आठ जना विद्यार्थी मात्रै थिए । लामो समयदेखि विद्यार्थी संख्या घट्दै गएपछि उक्त विद्यालयलाई नजिकैको नेपाल राष्ट्रिय आधारभूत विद्यालय औलपराजुलमा समायोजन गरिएको छ ।
विद्यालय समायोजन गरिएसँगै शिक्षकको पनि दरबन्दी मिलान गरिएको छ । विद्यार्थी संख्याका आधारमा नगरपालिकाले एउटा विद्यालयलाई गरेको छ भने पाँच वटा विद्यालयलाई तह घटुवा गरेको जनाएको छ । विद्यार्थी संख्या बर्सेनि घट्दो अवस्थामा रहेका विद्यालयलाई समायोजन तथा दरबन्दी मिलान गरिएको भेरीगंगा नगरपालिकाका शिक्षा शाखा प्रमुख गजेन्द्रकुमार जिसीले बताए । विद्यार्थी संख्या निकै कम भएको र बढ्ने सम्भावना नरहेका विद्यालयलाई समायोजन तथा दरबन्दी मिलान गर्ने नीति नगरपालिकाको रहेको उनको भनाइ छ ।
उनका अनुसार नेपाल राष्ट्रिय प्राथमिक विद्यालय मसिनालाई कक्षा १–५ बाट १–३ मा झारिएको छ । यस्तै, नेपाल राष्ट्रिय प्राथमिक विद्यालय मदानीचौर, नेपाल राष्ट्रिय प्राथमिक विद्यालय बाहुन्नीचौर, शान्ती प्राथमिक विद्यालय र प्राथमिक विद्यालय ठूलोखाललाई घटुवा गरिएको हो । यो वर्ष पाँच वटा विद्यालयहरूका तह घटुवा गरेर कक्षा १–५ बाट १–३ मा झारिएको नगरपालिकाले जनाएको छ ।
यसैगरी सुर्खेतकै चिङ्गाड गाउँपालिकाले पनि नौ वटा विद्यालयको तह घटुवा गरेको छ । विद्यार्थी संख्या कम भएका नौ वटा प्राथमिक विद्यालयको तह घटुवा गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख तुल्सी केसीले बताइन् । उनले तहगत रूपमा शिक्षक दरबन्दी नभएको र विद्यार्थी संख्या पनि न्यून भएका कारण तह घटाइएको जानकारी दिइन् । लालीगुराँस प्राथमिक विद्यालय चौरगाउँ, नेपाल राष्ट्रिय प्राथमिक विद्यालय सिमेपिपल, नेपाल राष्ट्रिय प्राथमिक विद्यालय टुनिचौर, बाल प्राथमिक विद्यालय टोट्का, सूर्योदय प्राथमिक विद्यालय, नेपाल राष्ट्रिय प्राथमिक विद्यालय खोलाकाटे, नेपाल राष्ट्रिय प्राथमिक विद्यालय सल्यानगैरा र लक्ष्मी प्राथमिक विद्यालयलाई तह घटुवा गरेर कक्षा १–५ बाट १–३ मा झारिएको छ ।
विद्यार्थी संख्या न्यून हुँदा स्थानीय तहले अहिले धमाधम विद्यालय समायोजन गर्न थालेका छन् । पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाले पनि विद्यालय समायोजनका लागि आवश्यक अध्ययन गरेको जनाएको छ । तर अहिले नै समायोजन गर्नुपर्ने अवस्था नरहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख डम्मरकुमारी रोकायले बताइन् । तल्लो तहमा विद्यार्थी संख्या कम रहेको भन्दै उनले एक÷दुई विद्यालयको तह घटाउनु पर्ने भएपनि नयाँ भर्ना दर हेरेर आवश्यक निर्णय गरिने जनाइन् ।
लेकवेशी नगरपालिका सुर्खेतले पनि दरबन्दी मिलान तथा विद्यालय मर्जको योजना बनाएको छ । नयाँ शैक्षिक सत्रबाट कार्यान्वयन हुनेगरी काम अघि बढाइएको नगरपालिकाका शिक्षा शाखा प्रमुख पहलमान अधिकारीले बताए । पूर्वी सुर्खेतकै गुर्भाकोट नगरपालिकाले दरबन्दी मिलान तथा विद्यालय समायोजनको विषयमा छलफल जारी राखेको छ । अहिले विद्यालयहरूको अनुगमन गर्ने काम भइरहेको शिक्षा शाखा प्रमुख बलवीर विकले बताए । सिम्ता गाउँपालिका सुर्खेतले पनि आगामी शैक्षिक सत्रबाट कार्यान्वयन गर्नेगरी दरबन्दी मिलान तथा विद्यालय मर्जको योजना निर्माण गरेको छ । अहिले शिक्षक दरबन्दीको अनुपात हेर्न अनुगमनको काम भइरहेको गाउँपालिकाले जनाएको छ ।
कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिकाले पनि विद्यालय समायोजन र शिक्षक दरबन्दी मिलान गरेको छ । जुन निर्णय विवादमा समेत आएको थियो । कतिपय विद्यालय र शिक्षकले विरोध गरेका थिए । नगर कार्यपालिका र नगर शिक्षा समितिले सामुदायिक विद्यालयका प्रधानाध्यापक व्यवस्थापन, सरुवा, दरबन्दी मिलान तथा व्यवस्थापन र विद्यालय समायोजनको निर्णय गरेको हो । जसअनुसार ६० जना प्रधानाध्यापक व्यवस्थापन, ९५ जनाको दरबन्दी मिलान र व्यवस्थापन र सात वटा विद्यालयको समायोजन गरिएको छ ।
विशेष गरेर ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको छ । त्यसमाथि अभिभावकहरू निजी विद्यालयतिर आकर्षित भएपछि सामुदायिक विद्यालय रित्तिदै गएका छन् । विद्यार्थी कम भएका विद्यालयलाई समायोजन वा बन्द गर्नुपर्ने अवस्थामा स्थानीय सरकार पुगेका छन् । जसले गर्दा पछिल्लो समय विद्यालय समायोजनको दर बढेको छ ।
प्रकाशित मितिः १५ मंसिर २०८२, सोमबार ११:३६
साझा बिसौनी ।