जेन–जीका अभिभावक
यो देशमा सबैभन्दा ठूलो अभिशाप के हो ? यस प्रश्नको सबैसँग एउटै जवाफ हुनेछ– भ्रष्टाचार । उच्च कर्मचारी, ठूला व्यापारी र उद्योगपति भ्रष्टाचारमा डुबुल्की मारिरहेका छन् । तर भ्रष्टाचारको मूलजरु राजनीतिमा भेटिन्छ । भ्रष्टाचारको लागि पायक पार्न र कानुनी कारबाहीबाट जोगिन नीतिगत निर्णय गर्ने गरिएको छ । नेपालमा यसको सुत्रधार गिरिजाप्रसाद कोइराला हुन्, जसले आफू प्रधानमन्त्रीको पदमा आसिन हुँदा जहाज खरिद प्रकरणमा धमिजा काण्ड र लाउडा काण्ड मच्चाए । स्वर्गीय कोइराला विरुद्धका उजुरी न्यायीक निकायमा विचाराधीन छन्, अझै निरूपण भइसकेका छैनन् । देशमा गणतन्त्र आइसकेपछि नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, एमालेबाट अध्यक्ष केपी शर्मा ओली र माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पालैपालो सत्ताको बागडोर समाइरहेका छन् र गिरिजापथ अवलम्बन गरिरहेका छन् । यिनको कारणबाट देश जर्जर भएकोले भ्रष्टाचारका मुख्य खलनायक यिनीहरू नै हुन् भन्ने जनताको बुझाइ छ ।
कांग्रेस र एमाले देशका पुराना पार्टी हुन् । यिनका गतिविधि कार्यशैली पुरानै छन् र भ्रष्टाचारबाट पनि मुक्त हुन सकेका छैनन् तर माओवादी भने आफूलाई क्रान्तिकारी फलाकेर नथाक्ने पार्टी थियो । कांग्रेस र एमालेभन्दा फरक र उत्तम कार्यशैली अपनाउनु पर्ने हो, बदनामका दाग धब्बा मेटेर जनपक्षीय हुनु पर्ने हो । माओवादी नै भ्रष्टाचारमा पुराना पार्टीलाई उछिनेर अगाडि गइरहेको थियो । यसमा अचम्म को कुरा त के भने त्यत्रो विध्वंस, मनपरि र चरम भ्रष्टाचार गर्दागर्दै पनि सातिर प्रचण्डले माओवादीका कारण आज देशमा सुशासन कायम छ भन्न समेत पछि परेनन् । आफ्ना कार्यकर्तालाई पनि होमा हो मिलाउन भ्रम र असत्य फैलाउन प्रयोग गर्दै यी छलकपट ढाँट र बेइमानीका लागि आफ्नो शक्ति खर्च गरिरहे । परिवर्तनका लागि जनयुद्धको नाम दिए पनि वास्तवमा त्यो धनयुद्ध र हत्या हिंंसा नै थियो भन्ने प्रचण्डकै नातावाद, कृपावाद, तुच्छ गतिविधि र दोगला चरित्रले देखाएको छ । त्यो परिवर्तनले प्रचण्ड उनका परिवार र नातागोताहरूको आर्थिक हैसियत र जीवनशैलीमा ठूलो छलाङ मा¥यो । तर फगत गणतन्त्रमा जनताको अवस्था कतै बदलिएन । प्रचण्डलाई जननायक र सुप्रिमो उपमा र अलंकार भिडाउने पाखण्डी कार्यकर्ताले यो व्यवस्था नै उत्तम हो भनी झ्याली पिटिरहेका थिए । हामीले लडेर ल्याइदिएको व्यवस्थामा जनताले बोल्न पाएका छन् भन्ने दुष्प्रचारबाट जनतालाई अपमान गरिरहेका थिए ।
कांग्रेस र एमालेको काम कारबाही गतिविधि र शासनशैलीबाट हैरान जनताले माओवादी पार्टीमा आशा राखी प्रचण्ड माथि भरोसा गरिरहेका थिए । त्यसकारणले यो लेखनी प्रचण्डको चर्चामा केन्द्रित छ । भ्रष्टाचारमा एउटा आर्थिक मात्र होइन, पद नैतिकता र चरित्र पनि जोडिन पुग्छन् । गम्भीरतापूर्वक हेर्दा सबै भ्रष्टाचारबाट प्रचण्ड रसातलमा पुगिसकेका छन् । दोस्रो संविधानसभा निर्वाचनमा दुवैक्षेत्रबाट पराजित प्रचण्ड संसद्मा छिरे । पहिलो पटक मतपत्र च्यातेर चुनावमा धाँधली गरि छोरी रेणु दाहाललाई मेयर बनाएको दुनियाँलाई थाहा छ । दोस्रोपटक पनि उनै छोरीलाई जिताउन पूर्वप्रधानमन्त्रीको डप्फा र पदका लिच्चड तत्कालीन कांग्रेस नेता हालका राष्ट्रपति रामचन्द्र पौडेलसमेत चितवनमा भेलाभइ भोजभतेर खाएर जात्रा गरिरहेको पनि सायद कसैले भुलेका छैनन् । यदि मेरी छोरीले जितिनन् भने देश दुर्घटनामा जान्छ भन्ने आसयबाट चितवनवासीलाई प्रचण्डले कडा चेतावनी दिएका थिए ।
कांग्रेस र एमाले दुई फरक पार्टी होइनन्, चारित्रिक रूपमा एउटै हुन् । एमालेलाई कम्युनिष्ट पार्टी हो भनेर कसैले भ्रम नपाले हुन्छ भन्दै रातदिन सत्तो सरापमा समय खर्च गरिरहेका प्रचण्डले आफ्नो र पारिवारिक स्वार्थका लागि कथित गौरवशाली माओवादी पार्टी एमालेमा मिसाउँदा लाज त के संकोचसम्म मानेनन् । तुरुन्त तुरुन्तै मन्त्रालय नै फुटालेर बुहारीलाई मन्त्री बनाएको सायद माओवादी कार्यकर्ताले पनि बिर्सिसकेका छैनन् । पदको लागि लोकतन्त्रको खिल्ली उडाएर कांग्रेसबाट एमाले र एमालेबाट कांग्रेसमा घरीघरी उछलकुद गर्दागर्दै पनि मेरा लागि प्रधानमन्त्री पद कुनै ठूलो कुरा होइन भन्न समेत पछि नपर्ने पदखोर व्यक्ति हुन प्रचण्ड ।
कांग्रेस र एमालेको हिमचिमपछि सत्तामा जाने कुनै बाटो नपाएर प्रचण्ड ठूलो तनावमा थिए । तनाव यस मानेमा कि गणतन्त्रपछि सबैभन्दा लामो समयसम्म सत्ताविहीन भइ छट्पटीनु परेको सायद यसैपटक होला । जेन–जी आन्दोलनले भ्रष्ट नेतृत्वमा यिनलाई समेत टार्गेटमा राखेर यिनको घर र अथाह पैसा खरानी पारेको थियो । मौसम अनुसार रूप रङ्ग फेर्ने प्रचण्डले जेन–जी र हाम्रो मुद्दा मिल्यो, हामी जेन–जीका सच्चा अभिभावक हौँ भन्न समेत पछि परेनन् उनी । जेन–जी अभिभावक किन त्यसरी सेनाको भान्सामा लुकेको ? भन्ने प्रश्नको जनताले पत्याउने उचित जवाफ दिन सक्ने छैनन् ।
आन्दोलनको रापताप नसेलाउँदै पार्टी नेतृत्व छोड्न प्रचण्डलाई चर्को दबाब परिरहेको थियो । उनले केन्द्रीय समिति नै विघटन गरेर आफुलाई माओवादीको एक संयोजक बनाए । अध्यक्ष भन्नू र संयोजक हुनु एउटै अर्थ थियो तर संयोजक अरु शक्तिशाली थियो किनकि केन्द्रीय समिति विघटन गरिएको थियो । विघटन हुनुअघि माओवादी केन्द्रीय समितिमा प्रचण्डको ६४ लाखको घडी प्रचण्ड पुत्री गंगा दाहालको २८ लाखको घडी महँगो ब्यागको हिसाबकिताब मात्रै खोजिएन क्यान्टोनमेन्ट घोटाला प्रकरणमा दुई अर्ब ८२ करोड गायब गरिएको विषय पनि उठान भएको थियो । महाधिवेशनपछि सबैको सम्पत्ति छानबिन हुने भन्ने ढंगको बहाना गरि झारा टारेर पन्छाएका थिए प्रचण्डले । जेन–जी उमेरको कुनै पुरुषसँग प्रचण्डले दाहिने हातको चोरऔंला र माझिऔंला कापे पारेर खिचेको फोटो सामाजिक सञ्जालमा भाइरल मात्रै थिएन, जेन–जीले पार्टीमा अझै पाँचवर्ष प्रचण्डको नेतृत्व चाहिन भनेको भनी अफवाह पनि फैलाइएको थियो । यो सबै प्रचण्डको भित्री चलाखी थियो ।
महाधिवेशन पछि पार्टीमा आफ्नो नेतृत्व गुम्ने सन्त्रासका कारण प्रचण्डले माओवादी पार्टी बाटाघाटामै छोडेर अर्को पार्टी गठन गर्न दौडिए । माओवादको मूल सिद्धान्तलाई प्रचण्डले पहिला पनि नत्यागेका होइनन् । अख्तियारले डामेका र अदालतमा बयान दिएका अभियुक्तले टाउको जोगाउन लागि आपसमा चोचोमोचो मिलाएर नयाँ पार्टी गठन गरेर दुनियाँलाई फेरि रमिता देखाएका छन् । सुन तस्करीमा बदनाम पुराना घृणित अनुहारसमेत १२ जना राजनीतिक दुखारीको टाउको मिलाएर पार्टी एकीकरण गरिएको छ । कोही त वान मेन पार्टी पनि सामेल छन् त्यहाँ । अब हामीलाई पहिलो पार्टी बन्नबाट कसैले रोक्न सक्दैन रे । उनका भाषण र प्रशिक्षणलाई कसैले त्यति गम्भीरतापूर्वक लिंदैनन् बरु हाँसेर उडाउँछन् । २०६४ सालमा जनमुक्ति सेनको गाडी अघिपछि लगाएर चुनावमा भोट हाल्न जाँदा कस्तो राप थियो ताप थियो अहिले त खोइ भन्ने आसयमा ओंठ लेप्र्याएको प्रचण्डको भिडियो सामाजिक सन्जालमा निकै भाइरल भएको थियो । आफ्नो अत्यन्त अस्थिर चरीत्र र कुकर्मले गर्दा माओवादीका सुप्रिमो भनिएका प्रचण्ड दिनप्रतिदिन समाजमा हास्यपात्र बनिरहेका छन् ।
माओवाद छोडेका प्रचण्डको नेतृत्वमा बनेको नयाँ पार्टीको केन्द्रीय समितिमा परिवारवादका प्रणेता प्रचण्डले आफ्ना छोरी बुहारीको नाम सुटुक्क दर्ज गर्न लगाएपछि भाँडभैलो भएको खबर मिडियामा आएको थियो । त्यो चर्चा ओझेलमा हाल्न सातिर प्रचण्डले १३ देखि २८ वर्ष उमेर समूहका युवा खोजेर जेनजीसँग प्रचण्ड अन्तरक्रिया चलाइदिए । भ्रष्टाचारको मुद्दा उठाएर तिनै प्रचण्डसमेतका विरुद्ध कडा आन्दोलन छेडेका खास जेन–जी प्रचण्डको तमासामा आइदिन्छन् भनी कसैले विश्वास गर्न सक्दैन । आफ्नो र परिवारको स्वार्थका लागि प्रचण्डले आफ्नो सहयात्री सहकर्मीलाई बराबर धोका दिएका मात्र होइनन्, सिङ्गो पार्टी नै भर्सेलामा हालिदिएका छन् । जेन–जीको अभिभावक भनी स्वघोषणा गर्दागर्दा पनि दुर्दशा थेग्न नसक्ने भएपछि नयाँ पार्टी खोलेका अधैर्य र पदलोलुप प्रचण्ड सर्वसाधारणको बुद्धि भुट्न देश दौडाहामा लागिरहेका छन् ।
प्रचण्डको बेइमानी जान्दाजान्दै पनि अवसर हेरेर थुक निल्ने देशका केही विद्वान भनाउँदाहरू राजनीतिका घोडा बनेका छन् । राजदूत, महाप्रबन्धक र संस्था प्रमुख लगायतका पदमा आशावादी भएका कारण सेतोलाई सेतो र कालोलाई कालो भनेर भन्न सकिरहेका छैनन् । पतित विद्वानले आफ्ना मालिकको आदेश बमोजिम सेतोलाई कालो हो भनी व्याख्या गर्दा दिएका तर्क, बहस दलिल उदाहरणले तिनकै हैसियतलाई छर्लङ्ग पारिरहेको छ । विद्रुप राजनीतिको दाना खाएर गाना गाउने अर्काथरी विद्वान पनि छन् राजनीतिमा, जसले निमेकको सोझो गरेर आफूलाई नैतिकहीन दासमा रूपान्तरण गरिरहेका छन् ।
-उमालाल आचार्य
प्रकाशित मितिः १४ मंसिर २०८२, आईतवार ०५:०४

उमालाल आचार्य ।