शर्माको दोस्रो पुस्तक प्रकाशित

सुर्खेत: पत्रकार दीपेन्द्र शर्माको दोस्रो पुस्तक ‘युद्ध पत्रकारिता’ सार्वजनिक भएको छ । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा लगायतले उक्त पुस्तक लोकार्पण गरेका हुन् ।
पुस्तक लोकार्पणका क्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बारुद र मसीको घोल नै युद्ध पत्रकारिता भएको बताए । पुस्तकले जनयुद्धमा जनपत्रकारहरूले खेलेको भूमिका साहसिक र अतुलनीय रहेको उनले बताए । जनयुद्धमा सामेल भएर पत्रकारिता गरेका पत्रकारहरूले मात्रै नभएर मूलधारका सञ्चार माध्यमका सञ्चारकर्मीहरूले गरेको योगदानले आजको परिवर्तन सम्भव भएको दाहालले धारणा राखे ।
नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले जनयुद्धमा गरिएको पत्रकारिता मिसन पत्रकारिता भएको र अझै पनि नेपाली समाजमा मिसन पत्रकारिता जारी रहेको धारणा राखिन् । लेखक शर्माले जनयुद्धमा आफूजस्तै धेरै पत्रकारहरू सामेल भएर युद्ध पत्रकारिता गरेको र सो समयको योगदानलाई दस्तावेजीकरण गर्ने प्रयास गरेको बताए । शर्माको यसअघि ‘जुनीदेखि पिलीसम्म’ पुस्तक प्रकाशित छ ।
प्रकाशित मितिः १३ मंसिर २०८२, शनिबार ०९:३९
साझा बिसौनी ।