बृहत् खानेपानी आयोजना

कर्णालीका सबै नागरिक अहिले पनि स्वच्छ खानेपानीको पहुँचमा छैनन् । कैयन् बस्तीहरूमा त खानेपानीकै अभाव छ । पानीका लागि ठूलो संघर्ष गर्नुपर्छ । खानेपानीकै समस्या हुने अवस्थालाई अन्त्य गर्न कर्णाली प्रदेश सरकारले स्वच्छ खानेपानीको पहुँच वृद्धि गर्न बृहत् खानेपानी योजना ल्याएको छ । नागरिकलाई पर्याप्त र गुणस्तरीय पानी उपलब्ध गराउने योजना अनुरुप बृहत् खानेपानीका आयोजना सञ्चालन गर्न लागिएको हो । आवश्यकताका आधारमा आयोजना छनोट गरेर कार्यक्रम कार्यान्वयन गर्न लागिएको छ । हरेक नागरिकको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषय पानी भएकाले यस क्षेत्रमा बृह्त खानेपानीका आयोजना कार्यान्वयन गर्न लागिएको जलस्रोत तथा उर्जा विकास मन्त्रालयले जनाएको छ । यो वर्ष तीनवटा खानेपानी आयोजनाको निर्माण सुरु गर्न लागिएको छ ।

अघिल्ला वर्षहरुमा प्रदेश सरकारले नागरिकका मागका आधार स–साना खानेपानीका आयोजना सञ्चालन गर्ने गरेको थियो । त्यस्ता कार्यक्रम दिगो र प्रभावकारी नभएपछि बृह्त खानेपानी आयोजनाको अवधारणा ल्याएको हो । अध्ययन गरेर मात्र बृहत खानेपानीका योजना सञ्चालन गर्ने नीति अबलम्वन गरिएको छ । केही पुराना आयोजनाहरूको मर्मत गरेर सञ्चालनमा ल्याइनेछ । लामो समयदेखि सञ्चालनमा रहेका खानेपानी आयोजनाहरूको मर्मत सम्भार गरी प्रदेश सरकारले सञ्चालनमा ल्याउने जनाएको छ । खानेपानी आपूर्तिको पहुँच भन्दा बाहिरका बस्तीहरुमा सम्भाव्यता अध्ययन गरी क्रमशः खानेपानीका आयोजनाहरू कार्यान्वयन गर्न लागिएको हो । नागरिकको मागको आधारमा प्राविधिक रुपमा अध्ययन गरेर मात्र योजना कार्यानवयन गरिनेछ । प्राविधिक अध्ययन गरेर मात्र आयोजनाको काम अघि बढाउने नीति प्रदेश सरकारले लिएको छ । हचुवाको भरमा आयोजना सञ्चालन गर्दा अलपत्र पर्ने, आयोजनाको प्रभावकारी कार्यान्वयनमा समस्या हुने भएकाले प्रदेश सरकारले ठूला आयोजना सञ्चालन गर्दा अध्ययन अनिवार्य रूपमा गर्नुपर्ने जनाएको छ । अघिल्ला वर्षहरूपमा पहुँचका आधारमा आयोजनाको काम अघि बढाउँदा दर्जनौ खानेपानीका आयोजना अलपत्र परेका छन् ।

अदानचुली बृहत् खानेपानी योजना, मुलखोला थरा बृह्त खानेपानी आयोजना र कुपिण्डे पारीगाउँ काउचे खानेपानी आयोजना निर्माण गर्न लागिएको छ । यो वर्ष कार्यक्रम कार्यान्वयनका लागि १७ करोड ३६ लाख बजेट विनियोजन गरिएको छ । बहुवर्षीय ठेक्काको स्रोत सुनिश्चितता गरेर आयोजना कार्यान्वयन गर्न लागिएको हो । यस्तै सरकारले गतवर्षहरुबाट सञ्चालनमा रहेका आयोजनाहरूको समेत निरन्तरताका लागि बजेट विनियोजन गरेको छ । दैलेखको बारतडी खानेपानी बहुउद्देश्य खानेपानी आयोजना र सल्यानको बनगाड कुपिण्डे बृहत् खानेपानी आयोजनाको निरन्तरताका लागि बजेट विनियोजन गरेको हो । पहिलेका वर्षहरूमा बेला–बेला भइरहने सरकार फेरबदलका कारण एउटा सरकारले ल्याएको योजना अर्को सरकारले कार्यान्वयन नर्गदा अलपत्र पर्ने गरेका थिए । अहिले भने बहुवर्षीय र स्रोत सुनिश्चितता गरेर मात्र आयोजना कार्यान्वयनमा लैजाने नीति सरकारले लिएको छ ।

प्रकाशित मितिः   ७ मंसिर २०८२, आईतवार १६:३६