सडक स्तरोन्नतिको योजना
कर्णाली प्रदेश सडक पूर्वाधारमा कमजोर छ । पर्याप्त सडक बनिसकेका छैनन् । बनेका धेरै सडक कमजोर अवस्थामा छन् । स्तरोन्नति हुन सकेका छैनन् । त्यसैले कर्णाली प्रदेश सरकारले प्रादेशिक सडक निर्माणलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न लागेको छ । पुराना सडक मर्मत र केही नयाँ सडक निर्माणको योजनासहित सरकारले बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा कार्यान्वयन हुने सडक आयोजनाका लागि कर्णाली प्रदेश सरकारले चार अर्ब बजेट विनियोजन गरेको छ । यो वर्ष केही सडक मर्मत र निर्माणको योजना ल्याइएको छ । प्रादेशिक लोकमार्ग, प्रादेशिक सडक तथा अन्य सडक निर्माणका लागि चार अर्ब ३६ करोड बजेट विनियोजन गरिएको हो ।
लोकमार्ग अन्तर्गतका सडक मर्मत र निर्माणको योजना राखिएको छ । चालु आर्थिक वर्षमा मात्र एक सय २० किलोमिटर सडक कालोपत्रे गर्ने योजना अनुरूप लोकमार्गका सडक मर्मत र निर्माणको योजना अघि बढाइएको हो । उक्त लक्ष्य अनुरूप अहिले सडक पूर्वाधार निर्माणका काम धमाधम भइरहेका छन् । यस्तै, कर्णाली प्रदेशका ग्रामीण सडकहरू क्रमशः कालोपत्रे हुन सुरु भएका छन् । कर्णाली प्रदेश सरकार र त्यसअन्तर्गतको प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम मार्फत कर्णाली प्रदेशका ७९ वटै पालिका केन्द्रमा जोड्ने ग्रामीण सडकहरु कालोपत्रे गर्ने लक्ष्य अनुसार सडकहरु कालोपत्रे गर्न थालिएको हो । कालीकोटको रास्कोट नगरपालिकाको दश किलोमिटर कालोपत्रेको काम चलिरहेको छ । दैलेख जिल्लाको डुङ्गेश्वर गाउँपालिका मुकामसम्म जोड्ने डुङ्गेश्वर–डाँडापराजुल ग्रामीण सडक कालोपत्रे गर्न सुरु गरिएको छ । प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम मार्फत कर्णालीका विभिन्न जिल्लाका २० वटा पालिकामा जोड्ने सडकहरु कालोपत्रे गर्ने तयारी गरिएको छ । प्रदेश सरकारले आवश्यकता र प्राथमिकताका आधारमा कर्णालीका हरेक सडकहरु कालोपत्रे गर्ने कार्यको थालनी भएको जनाएको छ ।
कर्णाली प्रदेश सरकारले बहुवर्षीय क्रमागत रुपमा सञ्चालनमा रहेका सडकलाई प्राथमिकतामा राखेको छ । कार्यक्रममा कार्यान्वयनका लागि विभिन्न साझेदार संघ संस्थाहरूसँग पनि समन्वय गरेर काम भइरहेका छन् । प्रदेशभित्रका कम्तीमा स्थानीय तहका दुई केन्द्र जोड्ने सडक, एकै जिल्लाभित्र रहेका राष्ट्रिय लोकमार्ग वा प्रदेश लोकमार्गदेखि कृषि, पर्यटन, उद्योग, व्यापार, खानी, बस्ती, जलाशय तथा प्रदेशका महत्वपूर्ण आयोजनास्थल जोड्ने सडक, राष्ट्रिय लोकमार्ग वा प्रदेश लोकमार्गदेखि स्थानीय तहका केन्द्र जोड्ने सडक, संघ वा प्रदेश सरकारका सरकारी निकायसम्म पहुँच पु¥याउने सडकहरू विकास गरिँदैछ । गत आर्थिक वर्षमा सडक निर्माणमा अपेक्षित उपलब्धी गर्न नसकेपछि प्रदेश सरकारले यो वर्ष लक्ष्य निर्धारण गरेर काम गर्न लागेको हो । यसले सडक सुधार र स्तरोन्नतिमा योजनावद्ध विकास हुने अपेक्षा गरिएको छ ।
प्रकाशित मितिः ५ मंसिर २०८२, शुक्रबार ११:०३
सम्पादकीय ।