ढिला नगर
सुर्खेत मेडिकल कलेज निर्माणको योजना बनेको निकै समय भइसक्यो । संघीय सरकारले आर्थिक वर्ष २०७४÷०७५ मा सुर्खेतमा मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेको थियो । तर अहिलेसम्म उक्त योजनाले पूर्णता पाउन सकेको छैन । ढिला गरेर भएपनि निर्माण प्रक्रिया भने अघि बढेको छ । यो वर्ष विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गर्न लागिएको छ । मेडिकल कलेज स्थापनाका लागि वातावरणीय प्रभाव मूल्यांकन (इआइए) र गुरुयोजना तयार पारिएको छ । सरकारले २०७९ असार २९ गते गुरुयोजना स्वीकृत ग¥यो । यसैगरी २०८० मंसिर ७ गते वातावरणीय प्रभाव मूल्यंकन (इआइए) स्वीकृत भएको थियो ।
गत आर्थिक वर्षमा डीपीआर निर्माणको प्रक्रिया अघि बढाइएको भएपनि काम हुन सकेन । सरकारले प्रर्याप्त बजेट विनियोजन नगर्दा डीपीआर निर्माणको काम अघि बढेको थिएन । गत आर्थिक वर्षमा सरकारले एक लाख मात्र बजेट विनियोजन गरेको थियो । (इआइए) र गुरुयोजना स्वीकृत भएको छ भने यो वर्ष विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गर्न लागिएको छ । प्रस्तावित मेडिकल कलेज सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ११ र १३ को सामुदायिक वनमा निर्माण हुनेछ । वडा नं. ११ को अम्बीकादेवि सामूदायिक वन र वडा नं १३ को सीतापुर सामुदायिक वनमा मेडिकल कलेजको स्थापना गर्न लागिएको हो । ६ सय शैय्याको अस्पताल र वार्षिक एक सय जना विद्यार्थी क्षमता रहने मेडिकल कलेज निर्माण गर्न लागिएको हो । मेडिकल कलेजको कूल लागत एक अर्ब ७० करोड रूपैयाँ हुने अनुमान गरिएको छ । यो वर्ष एक करोड बजेट विनियोजन गरेको छ । डीपीआर निर्माणमा मात्र तीन करोड लाग्छ । अहिले थप बजेट माग गरेर डीपीआर निर्माणको प्रक्रिया थालिएको छ ।
सुर्खेतमा मेडिकल कलेज बनाउनका २०७६ जेठ २० गते वीरेन्द्रनगरमा कार्यालय स्थापना गरिएको थियो । मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाको कार्यालय स्थापना गरिएको हो । सरकारले बर्सेनि बजेट विनियोजन गर्ने गरेको भएपनि काम अघि बढ्न सकेको थिएन । आर्थिक वर्ष २०७६÷०७७ मा दश करोड बजेट विनियोजन भयो । उक्त वर्ष सो रकम प्रदेश अस्पताललाई स्तरोन्नती गर्ने र सुर्खेत मेडिकल कलेजमा निर्माण गर्ने भनिएको थियो । तर मेडिकल स्थापनाका लागि काम नै भएन । त्यसपछि आर्थिक वर्ष २०७९÷०८० मा दुई करोड ६० लाख बजेट विनियोजन भयो । उक्त वर्षपनि काम हुन सकेन । प्रत्येक आर्थिक वर्षहरूमा बजेट विनियोजन हुने गरेको छ । जुन बजेट कार्यन्वयनमा आउन सकेको छैन ।
प्रकाशित मितिः २४ कार्तिक २०८२, सोमबार १२:२७
सम्पादकीय ।