जिल्ला–जिल्लामा खेल पूर्वाधार

सुर्खेत: दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पटक–पटक सर्दै गएपनि कर्णाली प्रदेशमा खेल पूर्वाधार निर्माणका काम भने धमाधम चलिरहेका छन् । प्रतियोगितालाई लक्षित गरेर जिल्ला–जिल्लामा पूर्वाधार निर्माण गरिएको छ ।

राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति चौथो पटक तोकिएको छ, जसअनुसार आगामी फागुन पहिलो साता हुने जनाइएको छ । संघीय सरकारले कर्णाली प्रदेशमा हुने दसौँ राष्ट्रिय खेलकुद फागुन १ देखि ७ गतेसम्म गर्ने निर्णय गरेको हो । गत वर्ष मंसिरमा हुनुपर्ने राष्ट्रिय खेलकुदको मिति तीन पटकसम्म सारिँदै स्थगित भएको थियो, जसका कारण गत आर्थिक वर्षमा प्रतियोगिता नहुने निश्चित भएको थियो । नयाँ खेलकुदमन्त्री बब्लु गुप्ता नियुक्त भएपछि बसेको पहिलो बैठकबाट राष्ट्रिय खेलकुदको मिति तोकेको हो ।

२०७९ सालमा गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुदको समापनका अवसरमा नै २०८१ मंसिरमा दसाैँ खेलकुद कर्णाली प्रदेशमा गर्नेगरी झण्डा हस्तान्तरण गरिएको थियो । तर भौतिक पूर्वाधार र विभिन्न कारण देखाउँदै निर्धारित समयमा खेल हुन सकेन र पहिलो पटक मिति सारेर २०८१ चैतमा गर्ने निर्णय गरिएको थियो । आर्थिक कारण देखाउँदै चैतमा पनि गर्न नसकिने भन्दै दोस्रो पटक मिति सारेर २०८२ जेठमा पु¥याइएको थियो । त्यसपछि अनिश्चितकालका लागि स्थगित भएको थियो ।

कर्णाली प्रदेश सरकारले भने समयमा नै खेलकुद प्रतियोगिता गर्न संघीय सरकारलाई दबाब दिइरह्यो । तर संघीय सरकारले विभिन्न कारण देखाउँदै खेलको मिति सारिरहेको थियो । अझैपनि तोकिएकै मितिमा खेल आयोजना हुनेमा आंशका व्यक्त गरिएको छ । सोही समयमा प्रतिनिधि सभाको निर्वाचनको मिति तोकिएकाले पनि आम नागरिकमा शंका उत्पन्न भइरहेको छ ।

प्रतियोगिता सरेपनि पूर्वाधार निर्माणका काम भने चलिरहेका छन् । प्रदेश सरकारले पनि प्रत्येक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर दसाँै राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न पूर्वाधार विकासमा सहयोग गरिरहेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि सो विषयलाई महत्वका साथ राखिएको छ । संघीय सरकारको सहयोगमा दसाँै राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्नका लागि बजेट विनियोजन भएको छ । प्रतियोगिताका सबै खेलहरु प्रदेशमै आयोजना गर्नेगरी भौतिक संरचना निर्माण र खेल पूर्वाधार विकासका लागि १८ करोड बजेट विनियोजन गरिएको छ । जसरी पनि अब तोकिएकै मितिमा दसाैँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुनुपर्ने प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल बताउँछन् । प्रदेशलाई कमजोर बनाउने उद्देश्यले विभिन्न समस्या देखाउने गरिएको भन्दै प्रतियोगिता आयोजना गर्न कुनै समस्या नभएको बताए । जिल्ला–जिल्लाहरुमा आवश्यक पूर्वाधार निर्माण गरिएकाले तोकिएकै समयमा कुनै बहाना नबनाई प्रतियोगिता गर्नुपर्नेमा उनको जोड रहेको छ ।

 

ठाउँ–ठाउँमा खेल पूर्वाधार

दशाैँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरेर वीरेन्द्रनगरमा रंगशाला निर्माणसहितका अन्य पूर्वाधार तयार पारिएको छ । दश हजार दर्शक अट्ने क्षमताको रंगशाला निर्माण पूरा भएको छ । जुन फिफा मापदण्ड अनुसारको फुटबल मैदानलगायतका अन्य संरचनाहरू बनाइएको छ । रंगशालाभित्र १६ वटा खेल खेलाउन सकिनेछ । दशौँ खेलकुदको लागि २४ खेल खेलाउने तयारी छ ।

सोही प्रतियोगितालाई लक्षित गरेर कालिञ्चोक क्रिकेट मैदान निर्माण गरिएको छ । वीरेन्द्रनगर नगरपालिकाको गुरुङचोक र चिसापानीमा फूटबल मैदान निर्माण तयार पारिएको जनाइएको छ । दैलेख र रुकुमपश्चिममा कभर्डहल मर्मत गरिएको छ । हुम्लामा हकी खेलमैदान निर्माण भएको छ । जुम्लामा पनि खेल पूर्वाधार निर्माण भएका छन् । जुम्लामा प्याराफिटसहितको भलिवल कोर्ट निर्माण गरिएको छ ।

जिल्ला–जिल्लामा खेलपूर्वाधार निर्माण गरिएकाले तोकिएकै मितिमा खेल हुनुपर्नेमा प्रदेश सरकारले जोड दिएको छ । अहिले निर्माण गरिएका खेलपूर्वाधार जीर्ण हुने होकी भन्ने आंशका नागरिकमा छ । त्यसैले प्रदेश सरकारले जतिसक्यो तोकिएकै मितिमा खेल आयोजना गर्नुपर्ने र केही कुरामा अलमल गर्न नहुने जनाएको हो । लगभग सबै तयारी पुगेकाले अब भने तोकिएकै मितिमा खेल आयोजना गर्नुपर्ने सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले बताए । अहिले पनि विभिन्न क्षेत्रसँग यस विषयमा छलफल भइरहेको उनले जनाए ।

प्रकाशित मितिः   २८ कार्तिक २०८२, शुक्रबार १२:०९