फोहोर व्यवस्थापन रणनीति
कर्णालीका प्रमुख सहरहरुमा फोहोर व्यवस्थापन प्रमुख चुनौती बनिरहेको छ । अन्य सहरको तुलनामा प्रदेश राजधानी वीरेन्द्रनगरमा यो समस्या अझ विकराल छ । फोहोर व्यवस्थापन नहुँदा दुर्गन्ध फैलिनुका साथै नागरिकको स्वास्थ्य जीवनमा प्रत्यक्ष असर पु¥याइरहेको छ । अहिलेको अवस्थामा सुधार ल्याउन कर्णाली प्रदेश सरकारले विकल्प खोजिरहेको छ । फोहोरमैला व्यवस्थापनमा दिगो समाधान खोज्ने तयारी गरिएको जनाइएको छ । फोहोर व्यवस्थापनका लागि ‘थ्री आर’ योजना कार्यान्वयन गरिने भएको छ । कर्णाली प्रदेशका स्थानीय तहका लागि फोहोर व्यवस्थापन ठूलो चुनौती बनेपछि प्रदेश सरकारले महत्वाकांक्षी र रणनीतिक पहल थालेको हो । ‘रिड्युस, रियुज र रिसाइकल’ योजनाअन्तर्गत फोहोर व्यवस्थापनको योजना बनाइएको छ ।
रिड्युस अर्थात् सकेसम्म फोहोर उत्पादनलाई नै घटाउन पहल हुनेछ । त्यसपछि फोहोरलाई वर्गीकरण गरेर रियुज अर्थात् पुनःप्रयोग गर्न सकिने योजना पनि सरकारले अघि सारेको छ भने रिसाइकल प्रक्रियाबाट प्रशोधन गरेर प्रयोग गर्न सकिने फोहोरलाई पनि उपयोगमा ल्याउने योजना बनाइएको छ । यसले दीर्घकालिन रुपमै फोहोर व्यवस्थापन गर्न सकिने अपेक्षा गरिएको छ । त्यसैले फोहोर व्यवस्थापनमा ‘थ्री आर’ रणनीति कार्यान्वयन गरिने जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले जनाएको छ । फोहोर व्यवस्थापनमा प्रदेशले अभिभावकीय र सहजकर्ताको भूमिका खेल्दै स्थानीय तहहरुलाई एकीकृत प्रणालीमा जोड्नेगरी योजना निर्माण गर्न लागिएको छ । अव्यवस्थित फोहोर विसर्जनलाई नियन्त्रण तथा नियमन गरी जनस्तरमा पर्नसक्ने महामारीजन्य रोग रोकथाम तथा नियन्त्रणका अभियानमूलक कार्यक्रम कार्यान्वयन गरिने छ । प्रदेश सरकारले स्पष्ट कार्यविधि बनाएर कुन पालिकाले कस्तो अवस्थामा सहयोग पाउने भन्ने मापदण्ड तोक्नुपर्ने तथा पालिकाहरुलाई प्राविधिक मार्गदर्शनका लागि एक समर्पित इकाई स्थापना गर्नुपर्ने सुझाव सरोकारवालाहरुले दिने गरेका छन् । सोही सुझावका आधारमा प्रदेश सरकारले स्पष्ट नीति निर्माण गर्न लागेको छ ।
स्थानीय तहहरुका लागि फोहोर व्यवस्थापन चुनौती बन्दै गएको छ । सुर्खेतको वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी भएसँगै यहाँ जनघनत्व बढ्दो छ । जनसंख्याका साथसाथै सवारी साधनको चाप पनि बढिरहेको छ । तर यहाँ सोही अनुसारको सरसफाइ हुन नसक्दा फोहोर व्यवस्थापन चुनौतीको विषय बनेको छ । जीर्ण सडक, अव्यवस्थित फुटपाथ र फोहोर व्यवस्थापनमा नगरपालिकाले प्रभावकारी रूपमा काम गर्न सकेको छैन । नगरपालिकाले पछिल्लो समय वडा कार्यालयलाई सम्बन्धित वडाको फोहोर व्यवस्थापनको लागि जिम्मेवारी दिएको छ । फोहोरमैला व्यवस्थापन सम्बन्धी नगरपालिकाले कार्यविधि समेत बनाएको छ । त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन नगर्दा प्रभावकारी रूपमा फोहोर व्यवस्थापन हुन सकेको छैन । प्रदेश राजधानीसहित प्रदेशका सबैजसो पालिकाहरुमा देखिएको फोहोर व्यवस्थापनका लागि ‘थ्री आर’ योजना प्रभावकारी हुन सक्दछ ।
प्रकाशित मितिः २६ कार्तिक २०८२, बुधबार ११:५४
सम्पादकीय ।