क्षतिग्रस्त संरचना पुनर्निर्माण

गत भदौ २३ र २४ गते भएको जेन–जी आदोलनको क्रममा कर्णाली प्रदेशमा पनि भौतिक संरचनाहरूमा क्षति भएको छ । निजी र सार्वजनिक संरचनाहरूमा आगजनी गरिएको थियो । त्यतिबेला ध्वस्त पारिएका सरकारी संरचनाको पुनर्निर्माणको तयारी थालिएको छ । सबैभन्दा धेरै कर्णाली प्रदेशसभाका संरचनामा क्षति पुगेको छ । प्रदेशसभा पुनर्निर्माणको प्रक्रिया अघि बढाइने भएको छ । प्रदेशसभा पुनर्निर्माणका लागि कार्यव्यवस्था तथा परामर्श समिति बैठक बसेको थियो । सुरूवातमा सचिवालय र दलका पदाधिकारीहरूको कार्यालय पुनर्निर्माण गर्नेगरी काम अघि बढाउन थालिएको छ । आगामी माघ २१ गते प्रदेशसभाको हिउँदे अधिवेशन सुरु हुनुपूर्व नै नियमित बजेटबाटै पुनर्निर्माण सुरु गर्ने निर्णय भएको छ ।

आन्दोलनकारीले गरेको आगजनीबाट प्रदेशसभा बैठकस्थल, सचिवालय, संसदीय दलका कार्यालय, विभिन्न समितिका कार्यालय ध्वस्त भएका छन् । त्यसमध्ये पहिलो चरणमा सचिवालय र प्रदेशसभामा सहभागी दलका पदाधिकारीको कार्यालय पुननिर्माण गर्ने तयारी छ । माघ २१ गते हुने हिउँदे अधिवेशन सञ्चालनका लागि विकल्पका रूपमा अन्यत्रभन्दा अहिलेकै प्रदेशसभा परिसरभित्रै अस्थायी रूपमा संरचना बनाउनेबारे पनि छलफल भइरहेको छ । प्रदेशसभा मात्रै नभएर नापी कार्यालय सुर्खेतको संरचनामा पनि क्षति भएको छ । जसको पुनर्निर्माणको काम भइरहेको छ । कार्यालयको सेवा नै प्रभावित छ । आगजनीमा करिब चार सय प्लट रजिस्टर जलेका थिए । कागजात तथा सर्भरहरू नष्ट छन् । जलेका कागजात हेर्दा पाँच प्रतिशत मात्रै काम लाग्ने खालका रहेको जनाइएको छ । त्यसैगरी प्रदेश लेखा नियन्त्रकको कार्यालय सुर्खेतका संरचनामा पनि क्षति पुगेको छ । अहिले उक्त कार्यालय पुननिर्माण गर्ने तयारी गरिएको छ । अन्य सरकारी कार्यालयहरूले समेत पुननिर्माणको तयारी थालेका छन् ।

जेन–जी आन्दोलनका क्रममा सुर्खेतमा मात्रै २१ करोड रूपैयाँभन्दा बढीको सरकारी सम्पत्तिको क्षति भएको छ । क्षति मूल्यांकन समितिमा प्राप्त भएको विवरणका आधारमा २१ करोड १९ लाख ६९ हजार तीन सय ४५ रूपैयाँ बराबरको सरकारी सम्पत्तिको क्षति भएको जनाइएको छ । यसमा राजनीतिक दलका कार्यालय र निजी घरको क्षतिको विवरण समावेश गरिएको छैन । संघीय सरकारका कार्यालय, प्रदेश सरकारका कार्यालय र स्थानीय तहका कार्यालयमा भएको भौतिक संरचना, उपकरणलगायतका क्षतिको विवरण मात्रै हो । वडाकार्यालयहरूमा आगजनी भएका कारण वीरेन्द्रनगर नगरपालिकाका धेरै वडाहरूले अहिले नगरपालिकाबाटै एकीकृत सेवा दिइरहेका छन् । वडाहरू मर्मत र सुधारमा भने ढिलाइ भइरहेको छ । जतिसक्दो छिटो क्षतिग्रस्त सरकारी संरचनाहरूको पुनर्निर्माण गरी सेवा प्रवाहलाई सहज बनाउनुपर्ने देखिएको छ । आगजनी भएका अधिकांश संरचना मर्मत र सुधार गर्नुपर्ने अवस्थामा छन् ।

प्रकाशित मितिः   १७ कार्तिक २०८२, सोमबार ०९:३२