विध्वंशकारीमाथि अनुसन्धान

भ्रष्टाचारको विरोधमा गत भदौ २३ र २४ गते देशभर जेन–जी आन्दोलन भयो । आन्दोलनका क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमाथि क्षति पनि पु¥यायो । तोडफोड, आगजनी र लुटपाटका घटना भए । ठूलो क्षति पुग्यो । आन्दोलनका क्रममा सुर्खेतमा मात्रै २१ करोड रूपैयाँभन्दा बढीको सरकारी सम्पत्तिको क्षति भएको छ । क्षति मूल्यांकन समितिमा प्राप्त भएको विवरणका आधारमा २१ करोड १९ लाख ६९ हजार तीन सय ४५ रूपैयाँ बराबरको सरकारी सम्पत्तिको क्षति भएको जनाइएको छ । यसमा राजनीतिक दलका कार्यालय र निजी घरको क्षतिको विवरण समावेश गरिएको छैन । संघीय सरकारका कार्यालय, प्रदेश सरकारका कार्यालय र स्थानीय तहका कार्यालयमा भएको भौतिक संरचना, उपकरणलगायतका क्षतिको विवरण हो ।

आन्दोलनका क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउनेहरूमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ । आन्दोलनका नाममा आगजनी, लुटपाट र चोरी भएका घटनाहरूमा संलग्नहरूमाथि अनुसन्धान गरेर प्रमाण संकलन भइरहेको सुर्खेत प्रहरीले जनाएको छ । निजी घरहरूमा क्षति पु¥याउनुका साथै चोरी गर्नेहरूमाथि अनुसन्धान गरेर कारबाहीका लागि प्रहरीमा धमाधम उजुरी परिरहेका छन् । हालसम्म सुर्खेतमा भएको आगजनी, लुटपाट र चोरीसम्बन्धी घटनाका फोटो तथा भिडियो प्रमाण संकलन भइरहेको छ । घटनामा संलग्न व्यक्तिहरूको पहिचान कार्य अन्तिम चरणमा पुगेको जनाइएको छ । आन्दोलनका क्रममा भएको चोरी तथा लुटपाटमा संलग्न दुई जनालाई मुद्दा चलाइएको छ । अहिले मुद्धा दर्ता हुनेक्रम जारी छ । यद्यपी केन्द्रबाट कारबाहीका लागि अख्तियारी नआएकाले घटनामा संलग्न व्यक्तिहरूलाई कसरी कारबाहीको दायरामा ल्याउने भन्ने विषयमा अन्योलता नै रहेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले आफ्नो तर्फबाट अनुसन्धानको काम भने तीव्र रूपमा गरिरहेको जनाएको छ ।

प्रहरीले आन्दोलनकै क्रममा कारागारबाट भागेका कैदीहरूको समेत निगरानी बढाएको छ । जेनजी आन्दोलनका क्रममा देशभरीकै कारागारहरूबाट हजाराँै कैदीहरू भागेका छन् । कर्णालीका कारागार र अन्य प्रदेशबाट भागेका कैदीहरूमा निगरानी बढाइएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । सुर्खेतमा मात्रै होइन देशभर नै आन्दोलनका क्रममा विश्वंश मच्चाउनेहरूविरुद्ध अनुसन्धान अघि बढाइएको छ । निजी होस् या सार्वजनिक सम्पत्तिहरूमाथि क्षति पु¥याउनेहरू अनुसन्धानको घेरामा छन् । जसको निष्पक्ष छानविन गरी कारबाहीको दायरामा ल्याउनु अपरिहार्य छ । आन्दोलनका नाममा गरिने विध्वंशलाई निरुत्साहित गर्न सकियो भने आगामी दिनमा पनि यसको नजिर स्थापित हुनेछ । नत्र भने अराजकता मैलाउने र दण्डहिनताको अवस्थाले समाजलाई थप जर्जर बनाउनेछ । त्यसैले पनि विध्वंश मच्चाउनेहरूमाथि अनुसन्धानमार्फत प्रमाणका आधारमा कानुनी कारबाही अपरिहार्य हुन्छ ।

प्रकाशित मितिः   १४ कार्तिक २०८२, शुक्रबार १०:५७