१३२ केभी प्रसारण लाइनः ९५ प्रतिशत काम सम्पन्न
सुर्खेत: कोहलपुर–सुर्खेत एक सय ३२ केभी विद्युत प्रसारण लाइन विस्तारको काम अन्तिम चरणमा पुगेको छ । तीन तहकै सरकारको प्राथमिकतामा परेका कारण पछिल्लो समय विद्युत विस्तारको कामले तीव्रता पाएको हो ।
अहिले विद्युत विस्तारको काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ । आयोजनाको भौतिक प्रगति ९५ प्रतिशत पुगेको आयोजना प्रमुख रवि चौधरीले बताए । उनका अनुसार अहिले बाँकेको बाँनियाभारमा फाउन्डेसन निर्माणको काम धमाधम भइरेहेको छ । आयोजनाले ९५ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ भने ९५ प्रतिशत नै वित्तीय प्रगति हासिल गरेको जनाइएको छ ।
आयोजनाअन्तर्गत एक सय ६२ वटा फाउन्डेसन निर्माण गरिनेछ । अहिलेसम्म एक सय ५९ वटा फाउन्डेसन निर्माण भएका छन् । ५२ किलोमिटर तार तानिनेछ । अहिलेसम्म ४६ किलोमिटर तार तान्ने काम भएको आयोजना प्रमुख चौधरीले बताए । लाइन विस्तार कार्यको सुरुवात २०७७ असारदेखि गरिएको थियो ।
आयोजनाले ९५ प्रतिशत भौतिक प्रगति र ९५ प्रतिशत वित्तिय प्रगति हासिल गरेको छ ।
भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रा.लि. ले ७० करोड रूपैयाँमा आयोजनाको ठेक्का पाएको थियो । जनशक्ति र उपकरण पर्याप्त भएपनि आयोजना निर्माण क्षेत्रमा विवाद हुँदा काम भने गतिमा अगाडि बढ्न सकेको थिएन । अहिले तीन तहकै सरकारले चासो दिएका कारण कामले तीव्रता पाएको हो । बाँकेमा देखिएको विवाद पनि सरकारी तबरबाटै समाधान भएको छ ।
विवाद समाधानसँगै आयोजना निर्माणको कामले तीव्रता पाएको हो । आउँदो मंसिर अन्तिम सातासम्म आयोजना निर्माणको काम सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना प्रमुख रवि चौधरीले जानकारी दिएका छन् । अब तीन वटा फाउन्डेसन निर्माण, सात किलोमिटर तार तान्ने काम मात्र बाँकी रहेको छ ।
यसअघि सुब्बाकुनामा सवस्टेशन निर्माणको काम सकिएको छ । विद्युत विस्तारको काम सकिएको खण्डमा उक्त सवस्टेशनमा चार्ज गरिनेछ । प्रदेश राजधानी सुर्खेत हुँदै सबै जिल्लामा विद्युत आपूर्ति गर्न सहजताका लागि यो स्टेशनको निर्माण गरिएको हो । कोहलपुरदेखि सुर्खेतसम्मको एक सय ३२ केभी प्रसारण लाइनका लागि सुब्बाकुनामा सवस्टेशन बनाइएको हो ।
एक सय ३२ केभी विद्युत प्रसारण लाइनको सुर्खेत–दैलेख खण्डमा पनि काम धमाधम रूपमा भइरहेको छ । सुर्खेतको सुब्बाकुनादेखि दैलेखको चुप्रासम्म ४६ वटा फाउन्डेसन निर्माणको काम सकिएको आयोजनाले जनाएको छ । एक सय दुई वटा फाउन्डेसन निर्माणको काम गरिनेछ । अहिले चार टावर निर्माण गरिएको छ । यीमध्य अहिले सुर्खेतमा एक र दैलेख क्षेत्रमा तीन वटा टावर निर्माण गरिसकिएको छ । जंगल क्षेत्र छाडेर अहिले ५० प्रतिशत टावरको फाउण्डेशन निर्माण सकिएको हो । यहीवर्ष नै सक्ने लक्ष्य राखिएपनि रूख कटान अनुमति नहुँदा थप एक वर्ष म्याद थप गरिएको छ ।
आर्थिक वर्ष २०७९/०८० देखि छुट्टै सम्झौता गरेर काम सुरु गरिएको थियो । सम्झौता अनुसार २०८२ असारसम्ममा निर्माणको काम सम्पन्न गरिसक्नुपर्नेमा अहिलेसम्म ५० प्रतिशत काम मात्र सकिएको छ । अहिले म्याद थप गरेर आयोजना निर्माणको काम धमाधम अघि बढाइएको छ । २०८३ असारसम्म म्याद थप गरिएको आयोजना प्रमुख रवि चौधरीले बताएका छन् ।
प्रकाशित मितिः १२ कार्तिक २०८२, बुधबार ०५:०५

साझा बिसौनी ।