‘आन्दोलनभित्र षड्यन्त्र पनि भयो’

सुर्खेत: नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जेन–जी आन्दोलनका नाममा योजनाबद्धरूपमा सार्वजनिक र निजी संरचनाहरूमाथि आक्रमण गरिएको बताएका छन् । बिहीवार सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले जेन–जीले आह्वान गरेको आन्दोलन शान्तिपूर्ण भएपनि योजनावद्ध षड्यन्त्रमा परिणत भएको टिप्पणी गरेका हुन् ।

आन्दोलनको नाममा सार्वजनिक सम्पत्ति, संवैधानिक संस्था र नेताहरूमाथि आक्रमण हुनु निन्दनीय भएको खड्काले बताए । उनले जेन–जीहरूले सुरुमा उठाएका मागहरू सकारात्मक र समर्थनयोग्य भएको बताए । तर भदौ २४ गतेको घटनामा घुसपैठ भएपछि आन्दोलनले हिंसात्मक रूप लिएको उनको भनाइ थियो ।

‘नेपालको इतिहासमै पहिलो पटक चार घण्टाभित्रै न्यायापालिका, कार्यपालिका र व्यवस्थापिकामाथि संगठित हमला भयो’ खड्काले भने, ‘यो सामान्य असन्तोष थिएन, ठूलो ग्रान्ड डिजाइन थियो ।’

भ्रष्टाचार अन्त्य, सामाजिक सञ्जाल खुला गर्नुपर्ने र सुशासन कायम गर्नुपर्ने जेन–जी आन्दोलनको प्रारम्भिक उद्देश्यलाई कांग्रेसले समर्थन गरेको भएपनि पछि देशविरोधी तत्वहरूले हिंसा र तोडफोड गर्नु अक्षम्य भएको उनले बताए । ‘निजी वा सार्वजनिक सम्पत्तिमा आक्रमण गरी लुटपाट गर्नेहरूलाई उन्मुक्ति दिन मिल्दैन, सरकारले कडा कारबाही गर्नुपर्छ’ उनले भने । आन्दोलनको आडमा तालिम प्राप्त समूह परिचालन गरेर संवैधानिक निकायहरूलाई लक्षित गरिएको भन्दै देशलाई अस्थिर बनाउने योजनाबद्ध प्रयास भएको आरोप खड्काले लगाए ।

उपसभापति खड्काले कांग्रेसभित्र चलिरहेको नेतृत्व पुस्तान्तरणको बहसबारे बोल्दै आफू यसअघिदेखि नै यस विषयमा कुरा उठाएको जिकिर गरे । ‘अहिले महामन्त्री वा अरू कसैले उठाएको होइन, यो मुद्दा म पहिलेदेखि उठाउँदै आएको हुँ’ उनले भने, ‘सभापतिज्यूको स्वास्थ्य पूर्ण रूपमा सुधार भएपछि यसबारे छलफल गरेर निष्कर्ष निकालिन्छ ।’ जेन–जी आन्दोलनपछिका घटनाक्रमले कांग्रेसभित्र पुस्तान्तरण र सुधारको बहसलाई अझ चर्को बनाएको उनले बताए ।

प्रकाशित मितिः   १० आश्विन २०८२, शुक्रबार १०:००