क्षति पुर्याउनेलाई दण्ड
युवा (जेन–जी)हरूको आन्दोलनका क्रममा कर्णालीका ९७ भौतिक संरचनामा क्षति पुगेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको विवरणअनुसार निजी तथा सरकारी सवारी साधन र भौतिक संरचनामा ठूलो क्षति पुगेको जनाइएको छ । सवारी साधन र भौतिक संरचनातर्फ पूर्ण, आंशिक र सामान्य रूपमा क्षति भएका छन् । जसमा सरकारी सवारी साधनहरू १४ वटा दुई पाङ्ग्रै पूर्णरूपमा क्षति भएका छन् भने पाँचवटामा आंशिक रूपमा क्षति भएका छन् । चारपाङ्ग्रे ६ वटा पूर्ण र १३ वटा आंशिक क्षति भएका छन् । निजीतर्फ चारवटा पूर्ण, एउटा आंशिक रूपमा क्षति भएका छन् ।
भौतिक संरचनामा संघीय सरकारी कार्यालयतर्फ एक पूर्ण र दुई आंशिक क्षति भएका छन् भने प्रादेशिक कार्यालयतर्फ चार पूर्ण र तीन वटा आंशिक क्षति पुगेको छ । यसैगरी जिल्ला तथा स्थानीयका सात पूर्ण र दश वटा आंशिक क्षति भएका छन् । चार वटा निजी भौतिक संरचनामा पूर्ण र चार वटा भौतिक संरचनामा आंशिक क्षति भएको छ । कर्णालीका तीन जिल्लामा भौतिक क्षति भएको प्रहरीले जनाएको छ । सुर्खेत, जुम्ला र मुगुमा भौतिक संरचनामा क्षति पुगेको हो । सबैभन्दा धेरै सुर्खेतमा भौतिक संरचनामा क्षति पुगेको छ । जेन–जी आन्दोलनको क्रममा सुर्खेतमा ३२ सरकारी सवारी साधनमा आगजनी भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतको तथ्यांक अनुसार दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारी साधन गरेर दश वटा सरकारी कार्यालयका ३२ वटा सवारी साधनमा आगजनी भएको हो । प्रहरीको विवरण अनुसार आगजनीबाट १५ वटा चारपांग्रे तथा १७ वटा दुईपाङ्ग्रे गरी ३२ वटा सवारीसाधन नष्ट भएका हुन् । आगजनीबाट वीरेन्द्रनगर नगरपालिकामा मात्र सातवटा सवारी साधनमा आगजनी भएको छ । प्रहरीका अनुसार चारवटा चारपाङ्ग्रे र तीनवटा दुईपाङ्ग्रे सवारी साधनमा आगजनी भएको हो । प्रदेश लेखा नियन्त्रणको कार्यालयका आठ वटा सवारी साधनमा आगजनी भएको छ । ६ वटा मोटरसाइकल र दुई वटा गाडीमा आगजनी भएको छ । सबैभन्दा धेरै भौतिक क्षति भएको कर्णाली प्रदेश सभामा दुईवटा मोटरसाइकल र एउटा गाडीमा आगजनी भएको प्रहरीले जनाएको छ । नापी कार्यालय सुर्खेतमा समेत दुईवटा मोटरसाइकल र एउटा कारमा आगजनी भएको छ ।
भ्रष्टाचारविरुद्ध युवाहरूले गरेको आन्दोलनका क्रममा कर्णाली प्रदेशमा ठूलो भौतिक क्षति भएको हो । प्रदेशका थुप्रै सरकारी संरचना ध्वस्त भएका छन् । राजनीतिक दलहरूका पार्टी कार्यालयदेखि व्यक्तिगत सम्पत्तिमा पनि उत्तिकै क्षति पुगेको छ । क्षतिग्रस्त संरचनाहरूको मर्मत र सुधार गर्नुपर्ने भएको छ । अर्कोतर्फ यस्ता अराजक गतिविधिमा संलग्नहरूमाथि अनुसन्धान र कानुनी कारबाहीको प्रक्रिया पनि अघि बढाउनु आवश्यक देखिन्छ ।
प्रकाशित मितिः २ आश्विन २०८२, बिहीबार ०५:०३
सम्पादकीय ।