जेन–जीको आन्दोलन हाम्रो सपना

देशमा गणतन्त्र आएदेखि नै सत्ता र शक्तिको आडमा ब्रह्मलुट मच्चाउने पात्रहरूमा मुख्य माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओली नै हुन् । यसो भन्दा सम्बन्धित पार्टीका नेता कार्यकर्तालाई तितो लाग्ला तर सत्य कुरा यही नै हो, जो वर्तमान समयले पुष्टि गरेको छ । पार्टीको चिन्ता गर्ने र आन्तरिक लोकतन्त्रको कुरा उठाउने जो कुनै नेता कार्यकर्तालाई छेउ लगाउने तर आफ्नो गुणगान गाउने चाकरी बजाउने नेता कार्यकर्तालाई बारम्बार अवसर दिने परिपाटीले पार्टीका मठाधिशहरु सर्वेसर्वा हुन थाले । हामीले देखिरहेका छौँ एउटै व्यक्ति कति पटक मन्त्री भए भन्ने कुरा किन अघाउँदैनन् ती मन्त्रीहरू पटकपटक कुस्त कमाएर ? अब अरु साथीहरूलाई पनिउ पालो दिउँ किन भन्दैनन् पटके मन्त्रीले ? पार्टी रूपान्तरण र युवालाई नेतृत्व भन्ने शब्द उच्चारण गर्ने जो कसैलाई भाटे कारबाही गरेर झन जब्बर हुँदै गए पार्टीका राजाहरू । ठूला यी तीन पार्टीमा आन्तरिक लोकतन्त्र स्वाहा पारिएको छ ।

द्वन्द्वकालमा बैंकबाट लुटेको नगद सुन प्रचण्डले लुकाएका छन् भनेर सार्वजनिक रूपमा बोलेका छन् बाबुराम भट्टराई सर्पले सर्पको खुट्टा देख्छ भने झैं द्वन्द्वकाल भरी प्रचण्डसँग लामो संगत भएको छ पूर्वप्रधानमन्त्री भट्टराईको । प्रचण्ड पुत्री गंगा दाहालले एनसेलबाट मोटो रकम कमिसन खाएको भनी मिडियामा आइरहेको थियो । किन सार्वजनिक भएन एनसेल घोटाला काण्डको छानबिन प्रतिवेदन ? चिनियाँ मुलका बेल्जियम नागरिक दावा छिरिङलाई नागरिकता दिलाएर सुन ओसारपसार धन्दा चलाएको माओवादीले सार्वजनिक किन गर्दैन सुन काण्डको फेहरिस्ता ? अघिल्लो र पछिल्लो दिनको सिसिटिभी फुटेज भेटिने देशको बजेट बनाउँदाका घडी आधारातमा बिचौलिया छिराएर करको दर नै हेरफेर गरेको त्यही दिनको फुटेज हराउने, भेडा कार्यकर्ता बाहेक कसैले पत्याउँछ त्यस्ता बेइमानी कुरा ? सत्ताबाट झरेपछि भारीका भारी उनको आदर्श सिद्धान्त अर्ती उपदेश दिएको देशको चिन्ता माने झैं गरेको खेला पनि देखिएकै छ । मानौ संसारका असल मान्छे तिनै हुन संधै दूधले नुहाएका छन् । यदि मिडियामा आएका यी खबर मनोगत हुन भने सर्वहारा वर्गको नेता प्रचण्डको हातमा कसरी आयो असी लाखको रोलेक्स घडी ? उनकी छोरीसँग पैंतीस लाखको घडी, पाँच लाखको ब्याग ? कसरी सम्भव भयो करोडौं करोड खर्च गरेर राजधानीको फाइवस्टार होटेलमा प्रचण्डकि नातिनीको भव्य बैवाहिक कार्यक्रम ? त्यसकारण ब्रह्मलुटका तथ्यहरू स्वतः सिद्ध भएका छन् । तथ्य लुकाउन मात्र ठेकेदार शारदाप्रसाद अधिकारीको नाममा दर्ता भएको प्रचण्डको खुमल्टार स्थित निवास आगजनी हुँदाभित्र सुरक्षित रूपमा तयार पारिएको सुरुङ जस्तो गोप्य कोठामा अर्बौं रूपैयाँ जलेको, केही शेष रहेको केही खरानी भएको भनी दृश्यसहित मिडियामा खबर आइरहेका छन् । उच्च ब्रान्डका विदेशी मदिराका अनगिन्ती बोतलले पनि मदिरामा प्रचण्डको कति गहिरो लत रहेछ भन्ने देखाउँछ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठ स्थित विशाल भवन जलेर थुप्रो थुप्रोमा शेष रहेका अनगिन्ती नेपाली हजार पाँचसय र अमेरिकी सय डलरका कागजी नोट मिडियाले प्रत्येक्ष रूपमा देखाउँदा अर्को आश्चर्य लाग्यो । तोडफोड आगजनी र पैसा पोल्ने आन्दोलनकारीले मुठाका मुठा कति पैसा ओसारे त्यसको हिसाब छैन । हिजो संसद्मा सांसद डा. अमरेश कुमार सिंहले आरजु देउवालाई कटाक्ष गरि पम्फादेवी र भ्रष्टाचारकि देवी भन्नुको तात्पर्य यतिबेला उजागर भएको छ । मान्छे बेचेर देश लुटेर पार्टीमा हैकम चलाएर सत्तामा गएर पैसा थुपार्न पुगेको रहेन छ भन्ने पनि प्रष्ट देखिएको छ । अर्थमन्त्रालयको सिसिटिभी गायब काण्डमा देउवा पुत्रको व्यापारलाई ध्यानमा राखीएको थियो भन्ने कुरा पनि सम्झना रहिरहेको छ ।

प्रत्येक्ष निर्वाचनमा कतैबाट चुनाव जित्ने हैसियत नभए पनि आरजु देउवालाई आफ्ना श्रीमानले लोकलाजको संकोच नमानी पार्टीको मान्यता भत्काउँदै खस महिला आरक्षणबाट समानुपातिक सांसद बनाएर दुनियाँ हँसाए । पार्टीका मठाधिशहरुले जे जस्तो गरे पनि कोही नेता कार्यकर्ताको मुख फोरेर बोल्ने आँट पुग्दैन भन्ने पनि देखाए । नक्कली भुटानी शरणार्थी काण्डमा ठूला कर्मचारी र गृहमन्त्रीसमेत जोडिए । नक्कली भुटानी शरणार्थी भएर नेपाली नागरिक अमेरिका जाने पु¥याउने प्रपण्चका लागि आरजुले पनि दुई करोड रकम खाइदिएको भन्ने खबर आयो । पानीमाथिको ओभानो देखिन छानविनका लागि प्रहरीमा आरजुले निवेदन दिएकि थिइन् तर रकम लेनदेन भएकोमा बोलिएका कुरा अडियो रेकर्ड सक्कली भएको भनी रिपोर्ट आयो । त्यसपछि अनुसन्धानमा खटिएका प्रहरी अधिकारीलाई विना कारण आरजुको दबाबमा अन्यत्र सरुवा गरियो । यस्तै समयको सेरोफेरोमा ताप्लेजुङको कुनै नगरपालिकाको मेयर पदमा उम्मेदवारको टिकट लिनका लागि आरजुलाई पहिल्यै दुई करोड बुझाएको भन्ने ढंगको अर्को अडियो बाहिरियो । त्यो विवादको कुनै छानविन नगरी आरजुको आदेशमा पार्टीबाट निकालियो ।

नक्कली भुटानी शरणार्थी काण्डका मुख्य बिचौलिया बेचन झा पक्राउ परेपछि देउवा दम्पतीलाई संकट आयो । संकट मोचनका लागि देउवाले एमालेका अध्यक्ष खड्ग प्रसाद ओलीलाई प्रधानमन्त्री पद चढाए । खड्ग ओलीको नेतृत्वमा आरजु शक्तिशाली परराष्ट्रमन्त्री बनिन् । कत्रो अत्याचार पैसा बुझाएर घर न घाट भएका पीडित मान्छे जेलमा परे, काम गरिदिउँला भनी पैसा पचाएर अन्योल बनाइदिने मान्छे परराष्ट्रमन्त्री बन्न पुगे । आरजु मात्र होइन खड्ग ओलीको सचिवालय र माओवादी अध्यक्ष प्रचण्डको सचिवालयले समेत पैसा खाएको कुरा सतहमा आएको थियो । तीन पार्टीका शिर्ष नेताहरूको गोप्य बैठकले यसलाई दामदुम पा¥यो । जनता जानकार छन तर सत्ताले अन्याय र अत्याचार थुपारी दिएपछि आक्रोश बढिरहेको थियो ।

म भ्रष्टाचार गर्दैन गर्न पनि दिन्न भन्ने सोलोगनको आडमा प्रधानमन्त्रीले भरमार भ्रष्टाचार गरेको कुराले मिडियामा ठाउँ पाइरहे । एउटा अडियो काण्डमा प्रशासन मन्त्रीले बालाई बुझाउनु पर्छ भनेको वाक्यांशलाई लिएर संसद्मा समेत कुरा उठ्यो तर ओलिले हेकुलाले मिच्दै फेरि भने म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न । पशुपतिमा चढाएको जलहरी सुन नभएर पित्तल भन्ने विषयमा पनि निकै बहस भएको थियो । गिरीबन्धु टिस्टेटको जग्गा काण्ड र दमकको भ्युटावर काण्डले पनि चर्चा पाएको थियो । ओलीले भ्रष्टाचार नगरे भए तीन करोडको रोलेक्स घडी एक लाखको जुत्ता र पाँच लाखको धूप चस्मा कसरी प्राप्त भयो जो मिडियाले बारम्बार लेखे बजाए । ओलीले त्यस विषयमा कहिल्यै कतै सानो खण्डन गरेको भेटिएन । अन्तर्राष्ट्रिय न्यायीक निकायहरू सूचीमा देश झन कंगाल भएको मात्र होइन ग्रे लिस्ट पनि परेको थियो ।

विपक्षी विरोधी र आलोचकलाई झुठा मुद्दामा फसाइ जाक्ने र आफ्ना पक्षधर कोही बदमास भएपनि जोगाउने, अदालत र अख्तियारलाई आफू अनुकूल चलाउने निरंकुश शैलीका कारण ओली पार्टीभित्र पनि आलोचित हुँदै गए । व्यापक विरोध गालीगलौज र नाराबाजीका कारण सार्वजनिक सभा समारोहमा ओली देखा पर्न छोडे । पार्टीको आफ्नै कार्यक्रममा पनि ओली बोल्न उभिए पछि जनता उठेर तितरबितर भइदिन थाले । उनको गृह जिल्लामा पनि यही हविगत भयो । आफ्नो कमजोरी सुधार्नुको सट्टा उनी झन् झन् कठोर हुन थाले । संविधानमा कतै उल्लेख नभएको कुरालाई मनोगत व्याख्या गरेर पूर्वराष्ट्रपति विद्या देवि भण्डारीलाई पार्टीमा तगारो हाले । आफ्नो समर्थन नगर्ने र भण्डारीको वकालत गर्नेलाई पार्टीबाट खेदिने छ भन्ने ढंग को अन्तर पार्टी निर्देशन जारी गरे । फेरि पार्टीको ११औँ महाधिवेशनमा आफू नै अध्यक्ष बन्नका लागि लठ्ठी देखाएर ७० वर्षे हदउमेर तथा दुई कार्यकालको प्रावधान विधानबाट हटाइ दिए ।

२३ जनाको डप्फा लिएर चीनको एउटा शिखर सम्मेलनमा भाग लिन गए ओली । यो पनि एक किसिमको भ्रष्टाचार नै हो किनभने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी त्यही कार्यक्रम मा एक्लै गएका थिए । चीनका राष्ट्रपतिसँग ओलीको साइड लाइन वार्ता हुँदा चुच्चे नक्साको प्रसंग उठ्यो उठेन वा कुनै सिन्को भाँचियो कि माखा मारियो चीनिया समाचारले केही बोलेन केही लेखेन । तर त्यही कामका लागि उता लगिएको कसैले तुरुन्तै बोले लेखे कि हाम्रो प्रधानमन्त्रीले गजब ठूलो सफलता पाउनु भयो । यता राजधानीमा ओली उत्पादक कार्यकर्ताले बाजा बजाउँदै चुच्चे नक्सामा झण्डा गाढेर पोस्ट गर्न थाले । मानौं लिम्पियाधुरा लिपुलेक र कालापानीको भूमि ओली फर्कने बित्तिकै प्राप्त हुन्छ । सारा आलोचना र कलंक धोएर चतुर ओली राष्ट्रवादी हुने प्रपन्च मिलाइरहेका थिए । गत निर्वाचनताका नै चुच्चे नक्सामा झण्डा देखाउने तयारीमा नलागेका होइनन् उनी संसद् विघटन गरेका कारण प्रतिउत्पादक हुन्छ कि भन्ने एउटा भयले अभियान रोकिएको थियो । आर्टिफिसियल इन्टेलिजेन्स माध्यमबाट भिडियो निर्माण गरि चुच्चे नक्साको अतिरन्जना पूर्वक प्रचारप्रसार गरिएको भेद खुल्न थालेपछि सामाजिक सञ्जालबाट त्यस्ता भिडियोहरु हटाइयो ।

ग्लोबल सेक्युरिटी इनिसियटिभ नामको अभियानमा सहि गरेको भनी चिनियाँ सन्चारबाट खबर आएपछि ओलीको चुच्चे नक्सालाई पानीले रुझाउने निश्चित थियो । सामाजिक सञ्जालमा रोक लगाउनुको अनेक कारणमध्ये एउटा दम्भ थियो । दोस्रो चीनिया खबर थियो जसले नक्कली राष्ट्रवाद को धोती खुस्काउँथ्यो । तेस्रो थियो विधान अधिवेशनमा सामाजिक सन्जालको माध्यमबाट विद्या भण्डारीले कोही नेता कार्यकर्तालाई नभड्काइ दिउन् । अति भएपछि जेनजी पुस्ता आन्दोलनमा उत्रने विषयमा पनि ओलीले खिसिट्युरी गरिरहेका थिए । कुशासन र लुटतन्त्रका विरुद्ध आन्दोलनमा उत्रिएका १९ जना युवालाई गोली हानेर ओलीले सडकमा सुताइदिए ताकी भोलि कसैले आन्दोलन गर्ने आँट नगरोस् । गत चैत १५ गते तीनकुनेको आन्दोलनमा एकजना बटुवा र एकजना पत्रकारलाई गोलीले भुटेको, भिजिलान्ते घुसाएर आन्दोलन भड्काएको, व्यक्तिको घरमाथी सादा पोषणका प्रहरी र कार्यकर्ता राखेर अश्रुग्यास हानेको र अन्धाधुन्ध गोली चलाएर दर्जनौं मान्छे घाइते पारेको अनुभव पनि थियो । आफ्नै हातमा सत्ताको डाडु पनियो भएपछि कतै सत्यतथ्य छानविन गर्न पनि परेन बरु रवीन्द्र मिश्र धवल सम्सेर राणालगायतका आलोचक र विपक्षीलाई झुठा मुद्दामा फसाएर दुख दिएको कारणले पनि ओलीको दुस्साहस बढिरहेको थियो ।

काठमाडौं भक्तपुर र ललितपुरमा कफ्र्यु निषेधाज्ञा लगाउँदा लगाउँदै भोलिपल्ट चारैतिरबाट जनसागर यसरी उर्लेर आयो कि तानाशाहहरू सातो लग्यो । जुलुस भत्काउँदै जलाउँदै मास्दै अगाडि बढ्दा गणतन्त्रका मसिहाहरू दुला पसे भने अहंकार दम्भ घमण्ड सबै बालुवाटारमा छोडि काम्दै पुच्छर लुकाउँदै हेलिकप्टर चढेर ओली बेपत्ता भए । ओली भागे पनि विनाशलिला रोकिएन ।

संरचनाहरु बिगार्नु भत्काउनु र आगो लगाउनु बिलकुल शोभनीय हुँदैन । मैमत्त नेताका घर मात्रै जलेका होइनन् केही साधारण जनताका घर र केही सार्वजनिक महत्त्वका भवनहरू पनि जोगिएका छैनन् । जेन जीले घर घरमा आगो झोस्नु पर्छ भनेको बिल्कुल होइन रहेछ । आन्दोलनको लक्ष विपरीत आफ्नो स्वार्थसिद्ध हुन नसकेको कारण पार्टीबाट घुसी आएका निर्घृणी व्यक्ति नै आगो लगाउन उद्दत रहेछन् जो जेन जी ले नै खुलासा गरि रहेका छन् । निसंकोच हुल बाँधेर कसैको घरमा पस्यो सामान तोडफोड ग¥यो र अन्तमा आगो झोसेर छोडिदियो कस्तो अराजकता ! यो अराजकता को मूलजड पनि ओली नै हुन । टाउको र ढाड सुनले मोडेको कोठाचोटामा सजाउने हात्ती सामाजिक सञ्जालमा भाइरल भएको छ । झापामा ८० किलो सुन ओलीले आफन्तकोमा लुकाएको भन्ने खबर पनि मिडियामा नआएको होइन यसमा सत्यतथ्य के हो छानविनले भोलि देखाउला ।

ठूलो रस्साकस्सी र सकसका बाबजुद भदौ २७ गते राति संसद् विघटन गरेर सुशीला कार्कीले प्रधानमन्त्री पदको शपथ गरेकी छन् । बदनाम अधिनायकवादी र तिनका बफादार उपासकहरू संसद् विघटन नगर्न दुला दुलाबाट चिच्याइ रहेका थिए । संसद् कायमै रहेमा अनेकन कानुनी उल्झन थापेर सरकारलाई काबुमा राख्ने प्रपन्च हुन सक्छ तर अब अपराध बमोजिम कानुन कारबाही भोग्नुपर्ने संकट नजिकै देखेर भयक्रान्त छन् । जेन–जीको आन्दोलनमा हामी नेपालीको सपना मिसिएको छ । देश भ्रष्टाचारले आक्रान्त भएको पनि तथ्यले देखाइरहेको छ । देशमा सुशासन कायम गर्न र जनतालाई विश्वास दिलाउन लागि पहिला प्रथम सत्ता उन्मादले आन्दोलनमा मान्छे मार्ने ज्यानमारा र अवैध धन्दा को अर्बौं रूपैयाँ घर घरमा लुकाइ छिपाइ राखेका देशमारालाई यथाशीघ्र कानुनी कठघरामा ल्याइनुपर्छ । जेन जीको आन्दोलन अमर सहोस सुशीला कार्की सरकारको जिम्मेवारी र कार्यकाल सफल रहोस हार्दिक शुभकामना ।

-उमालाल आचार्य

प्रकाशित मितिः   २९ भाद्र २०८२, आईतवार ११:५८