अब निकास देऊ
भ्रष्टाचारविरुद्ध पछिल्लो पुस्ताका युवाहरूले गरेको आन्दोलनले मुलुकको राजनीतिलाई नयाँ मोड दिएको छ । २० जनाभन्दा बढी नागरिकले ज्यान गुमाउनु परेको आन्दोलनले दुई दिनमै निकै भयावह रूप लियो । पहिलो दिन प्रहरीले दमन गर्दा निहत्था नागरिकले ज्यान गुमाउनु प¥यो । राज्यसंयन्त्रको कमजोरीका कारण युवाहरूले ज्यान गुमाउनु परेपछि दोस्रो दिन मंगलवार आन्दोलनले अर्को भयानक अवस्थामा पु¥यो । सुरक्षा निकाय मुकदर्शक बन्नुप¥यो । मुलुकको प्रमुख प्रशासनीक केन्द्र सिंहदरबारसहित धेरै सरकारी संरचनाले क्षति बेहोर्नुप¥यो । नेताहरूको भागाभाग चल्यो । स्थिति यतिसम्म बिग्रियो कि बाध्य भएर प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुप¥यो । तर यो निकै ढिला भयो ।
ओली सरकारको अकर्मन्यता र अहंकारकै कारण यो परिस्थिति सिर्जना भएको हो । पछिल्लो समय सामाजिक सञ्जाल बन्द गर्ने हचुवाको निर्णय त एउटा कारण हो नै । त्यससँगसँगै वर्षौंदेखि देशको नेतृत्वमा बसेर पनि मुलुकको हितभन्दा आफ्नो स्वार्थमा लिप्त राजनीतिक दल र तिनका नेताहरूको व्यवहार नै युवा पुस्तालाई सामाजिक सञ्जालबाट सडकमा उतार्ने बनायो । निकै ठूलो संघर्षबाट व्यवस्था बदलिए पनि मुलुक र नागरिकको अवस्था बदल्न नसक्दा निराशा व्याप्त छ । भ्रष्टाचारले सिम्गै राज्यसंयन्त्रलाई गाँजेको छ । जुन क्षेत्रमा हे¥यो, त्यहाँ बेथितिका चाङ देखिन्छन् । सुधारको संकेत देखिँदैन । नेताहरू राजनीतिक स्वार्थमा रुमलिँदा उच्च शिक्षा हासिल गरेका युवाहरू समेत बेरोजगार बस्नुपर्ने बाध्यतामा छन् । देशमा अवसर नदेखेर लाखौँ युवा विदेशिएका छन् । स्वदेशमै केही गर्छु भनेर बसेकाहरू पनि मुलुकको अवस्थाबाट आजित भएका छन् । यसतर्फ नेताहरूको ध्यान पुग्न सकेको छैन । आम नागरिकको अवस्था जहाँको त्यही हुने तर नेताहरू राज्यकोष दुरूपयोग गरेर मोजमस्तीले बाँच्ने अवस्थाबाट आक्रोशित युवा पुस्ताले सुरुवातमा सामाजिक सञ्जालमार्फत आफ्नो असन्तुष्टि व्यक्त गरे । तर सरकारले त्यसलाई समयमै ध्यान दिन सकेन । झन् जेनजीहरूलाई होच्याउने र हेप्न खालका अभिव्यक्ति दिन थाले । यसले थप आक्रोशित बनाएका युवाहरू अन्ततः सामाजिक सञ्जालबाट एकत्रित भएर सडकमा उत्रिए । उनीहरू सडकमा मात्रै उत्रिएन मुलुकका दुई ठूला दल मिलेर बनेको सरकारलाई घुँडा टेकाए ।
जेन–जीहरू जागेपछि सरकार ढलेको छ । तथापी अब के हुन्छ भन्ने आम चासो स्वभाविक छ । अहिलेको सत्तापलट परम्परागत राजनीति र नेताहरूको पराजय हो । अब मुलुकको भविष्य उनीहरूबाट बन्न सक्दैन भन्ने सन्देश यो आन्दोलनले प्रष्टसँग दिएको छ । अहिलेको नेतृत्व असफलसिद्ध भइसकेपछि मुुलुकलाई नयाँ निकास दिनुपर्ने अवस्थामा संयमतापूर्वक कदम चाल्न आवश्यक देखिन्छ । जसले युवा पुस्ताको आवाजलाई समेटोस् र सुरक्षित तवरमा देशले अहिलेको अवस्थाबाट निकास पनि पाओस् ।
प्रकाशित मितिः २५ भाद्र २०८२, बुधबार ०९:३३
सम्पादकीय ।