साक्षरता अभियान सुस्त

सुर्खेत: कर्णालीका दुई जिल्ला अझै साक्षर घोषणा भएका छैनन् । कालीकोट र डोल्पा पूर्णसाक्षर हुुन बाँकी रहेका हुन् । १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत व्यक्ति साक्षर भएमा पूर्णसाक्षर जिल्ला घोषणा गर्ने गरिएको छ । ती जिल्लामा अहिले पनि ठूलो संख्यामा निरक्षर छन् ।

औपचारिक तथा अनौपचारिक विभिन्न सिकाइ क्रियाकलाप भइरहे पनि साक्षरता दर अपेक्षित रूपमा बढ्न सकेको छैन । प्रदेशका १० जिल्लाका ७९ स्थानीय तहमध्ये एक स्थानीय तह मात्र साक्षर घोषणा हुन सकेको छैन । स्थानीय तहमा साक्षरता दर बढाउन थालिएका सिकाइ गतिविधि सुस्त हुँदा साक्षर घोषणा अभियान प्रभावित भएको हो ।

कर्णाली प्रदेशका २३.९ प्रतिशत नागरिकहरू अझै निरक्षर रहेको पाइएको छ । नेपालमा साक्षरता अभियान थालेको तीन दशक पुग्नै लाग्दा पनि कर्णालीमा उक्त अभियान प्रभावकारी रूपमा लागू नभएको हो । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार १६ लाख ८८ हजार चार सय १२ जनसंख्या रहेको कर्णालीका ७६.१ प्रतिशत नागरिक मात्रै साक्षर छन् । उक्त साक्षरता दर राष्ट्रिय साक्षरता दरकै हाराहारीमा छ । राष्ट्रिय साक्षरता दर ७६.२ प्रतिशत रहेको छ । जनगणना अनुसार कर्णालीको पुरुष साक्षरता दर ८३.३ प्रतिशत रहेको छ भने महिला साक्षरता दर ६९.४ रहेको छ ।

जिल्लागत रूपमा सबैभन्दा बढी साक्षर दर सुर्खेतको रहेको छ । सुर्खेत जिल्लाको साक्षरता दर ८२.७ प्रतिशत रहेको छ । जबकि यो जिल्लालाई २०७२ सालमै साक्षर जिल्ला घोषणा गरिएको थियो । हरेक हिसाबले विकसित मानिएको यो जिल्लाका १८ प्रतिशत नागरिकहरू निरक्षर रहेका छन् ।

यस्तै डोल्पाको साक्षरता दर सबैभन्दा कम ६७ प्रतिशत रहेको छ । सल्यानको साक्षरता दर ७७.३, रुकुम पश्चिमको ७५.७, जाजरकोटको ७५.५, दैलेखको ७५.५, कालिकोटको ७२.७ प्रतिशत रहेको छ । यस्तै जुम्लाको ७०.२, हुम्लाको ६३.८१, मुगुको ६८.१ प्रतिशत रहेको छ ।

अब साबिक कर्णालीका दुई जिल्ला साक्षर भएको खण्डमा प्रदेशलाई नै साक्षर घोषण गरिनेछ । प्रदेशका आठ जिल्ला साक्षर घोषणा भइसकेको शिक्षा विकास निर्देशनालय सुर्खेतले जनाएको छ । गत आर्थिक वर्षमा साविक कर्णालीका तीन जिल्ला साक्षर घोषणा भएको निर्देशनालयका निमित्त निर्देशक दिपा हमालले बताइन् । अन्य दुई जिल्लालाई पनि साक्षार घोषणाको तयारी थालिएको उनको भनाइ छ । उनका अनुसार जुम्ला, मुगु र हुम्ला गत आर्थिक वर्षमा साक्षर घोषणा भएका हुन् । २०८२ जेठ ९ गते जुम्ला जिल्ला साक्षर भयो । यस्तै २०८१ असोज ७ गते मुगु र २०८१ फागुन १३ गते हुम्ला जिल्ला साक्षर भएको निर्देशक हमालले बताइन् । यी बाहेक साबिक कर्णालीका कालिकोट र डोल्पा जिल्ला पूर्ण साक्षर जिल्ला घोषणा हुन बाँकी रहेका छन् ।

केहीवर्ष अघि दैलेख, सुर्खेत, जाजरकोट, सल्यान र रुकुम पश्चिम पूर्ण साक्षर भएको जिल्लाको रूपमा घोषणा भइसकेका छन् । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रममै पूर्ण साक्षर भएको प्रदेश घोषणा गरिने नीति लिएको थियो । नीति तथा कार्यक्रममा तीन वर्षभित्र कर्णालीलाई पूर्ण साक्षर प्रदेश घोषणा गरिने भनिएको थियाो । त्यति मात्र होइन हरेक वर्ष साक्षरताका लागि बजेटसमेत विनियोजन हुँदै आएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि उक्त विषय उल्लेख गरिएको छ । बजेट भने विनियोजन भएको छैन । यसअघिका वर्षहरूमा २५ लाखदेखि दुई करोडसम्म बजेट विनियोजन हुने गरेको थियो । शिक्षा विकास निर्देशनालयकी निर्देशक हमाल साक्षरता अभियानका लागि प्रदेश र स्थानीय तह दुवैले काम गरिरहेको बताउँछिन् । चालु आर्थिक वर्षमै पूर्ण साक्षर प्रदेश घोषणा गर्ने तयारीमा प्रदेश सरकार लागिरहेको उनको भनाइ छ ।

दुई वटा जिल्ला साक्षर घोषणा गरेर यो वर्ष प्रदेशलाई नै साक्षर घोषणा गर्ने तयारी भइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । असोजभित्रै बाँकी रहेका जिल्लालाई घोषणाको तयारी थाल्न भनिएको मन्त्रालयका शैक्षिक महाशाखा प्रमुख सुवर्ण खड्काले बताए । उनका अनुसार अब प्रदेशका बाँकी दुई जिल्लालाई साक्षर घोषणा गरेर प्रदेशलाई नै पूर्ण साक्षर घोषणा गर्ने तयारी छ ।

सरकारले देशव्यापी साक्षर अभियान थालेको करिब १७ वर्ष भइसकेको छ । संघीय सरकारले आर्थिक वर्ष २०६५÷०६६ मा दुई वर्षभित्र देशबाट निरक्षरता उन्मूलन गर्ने योजनासहित अभियान सुरु गरेको थियो । कर्णाली सरकारले पनि प्रदेशलाई साक्षर बनाउन आर्थिक वर्ष २०७५÷०७६ देखि विभिन्न कार्यक्रम सुरु गरेको थियो । अहिले भने संघीय र प्रदेश सरकारले साक्षरता अभियान स्थानीय तहको भरमा छोडेका छन् ।

साक्षर घोषणा भइसकेका जिल्लामा पोस्ट साक्षर तथा निरन्तर शिक्षाका कार्यक्रम नहुँदा साक्षर व्यक्तिसमेत निरक्षर हुन थालेका छन् । सामाजिक विकास मन्त्रालयका शैक्षिक महाशाखा प्रमुख खड्का साक्षर बनाइएकालाई निरन्तर टिकाइराख्नु अर्को चुनौती भएको बताउँछन् । उनकाअनुसार निरन्तर सिकाइका गतिविधि हुन नसक्दा ठूलो संख्या फेरि निरक्षरतातर्फ धकेलिने खतरा छ । सामान्य अंक र अक्षर चिन्नेहरूलाई साक्षर मान्न सकिने भए पनि सिकाइका गतिविधिलाई निरन्तरता नदिए त्यस्ता व्यक्तिहरू पुनः निरक्षर बन्ने जोखिम रहने उनले बताए ।

सिकाइका गतिविधि सञ्चालन गर्ने अधिकार अहिले स्थानीय तहलाई छ । साक्षर घोषणा भएका स्थानीय तहहरूमा सिकाइ क्रियाकलाप सञ्चालन गर्न छोडिएको छ । पालिकाहरूले निरन्तर सिकाइका कार्यक्रम सञ्चालन गर्न नसकेका हुन् । सामाजिक विकास मन्त्रालयले साक्षरता अभियानका लागि आवश्यक प्राविधिक सहयोग र अनुगमन मात्र गर्दै आएको छ । प्रौढ शिक्षा, साक्षर नेपाल, साक्षरता अभियानलगायतका विभिन्न नाममा निरक्षर नागरिकलाई साक्षर बनाउने प्रयास लामो समयदेखि जारी छ । तर, सरकारले तोकिएको समयमा अपेक्षित उपलब्धि भने हासिल गर्न सकेको छैन ।

विगतका वर्षहरूभन्दा साक्षरता दरमा वृद्धि हुँदै गए पनि ठूलो संख्यामा नागरिकहरू निरक्षर नै छन् । साक्षर अभियानका लागि कुन तहका सरकारले के काम गर्ने भन्नेबारे प्रष्ट नीति समेत बनेको छैन । जसले गर्दा अभियानहरू प्रभावकारी बन्न सकेका छैनन् । संघीय सरकारले बनाउनुपर्ने नीति, आवश्यक कानुन र शिक्षासम्बन्धी प्रभावकारी योजनाको अभावमा प्रदेश र स्थानीय सरकार अलमलमा परेको देखिन्छ । शैक्षिक सुधारका लागि तीनै तहका सरकारबीच तालमेल समेत हुन सकेको छैन । शिक्षासम्बन्धी आवश्यक कानुन र अधिकार क्षेत्रबारे स्पष्ट नभएकाले पनि काम गर्न सहज नभएको सरकारी अधिकारीहरू बताउँछन् । स्थानीय सरकारले यसबारे कुनैपनि चासो दिएको छैन ।

 

दुई जिल्ला मात्र साक्षर घोषणा हुन बाँकी

अब कर्णाली प्रदेशका दुई जिल्ला मात्र साक्षर घोषणा हुन बाँकी रहेका छन् । कालीकोट र डोल्पा जिल्ला मात्र साक्षर हुन बाँकी रहेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । दुई जिल्लालाई साक्षर घोषणा गरेर प्रदेशलाई यसै वर्ष पूर्ण साक्षर घोषणा गर्ने तयारीमा प्रदेश सरकार जुटेको छ ।

कालीकोटका सबै पालिका साक्षर घोषणा भइसकेका छन् । २०८२ असार १० गते खाडाचक्र नगरपालिका पूर्ण साक्षर घोषणा भएसँगै कालिकोटका सबै पालिका साक्षर घोषणा भएका हुन् । अहिले जिल्लालाई पूर्ण साक्षर घोषणा गर्नेगरी तयारी थालिएको शिक्षा विकास तथा समन्वय इकाइ कालिकोटले जनाएको छ । भदौ अन्तिम साता तथा असोज पहिलो हप्ताभित्र साक्षर घोषणाका लागि तयारी भइरहेको इकाइ प्रमुख हर्षप्रसाद चौलागाईले बताए । उनले तयारी अन्तिम चरणमा पुगेको बताएका छन् ।

डोल्पा जिल्लाको एक पालिका साक्षर घोषणा हुन बाँकी छ । पालिकालाई साक्षर घोषणा गरेर जिल्लालाई साक्षर घोषणा गर्ने तयारी भइरहेको शिक्षा विकास तथा समन्वय इकाइ डोल्पाले जनाएको छ । डोल्पाको छार्काताङसोङ गाउँपालिका साक्षर घोषणा हुन बाँकी रहेको इकाई प्रमुख डाइमन्ट पुनले बताए । २०८२ असार १७ गते जिल्लाको डोल्पोवुद्ध गाउँपालिका साक्षर घोषणा भएको छ । अब डोल्पाका आठमध्ये सात पालिका पूर्ण साक्षर घोषणा भएका छन भने एक पालिका मात्र घोषणा हुन बाँकी छ । पालिका साक्षर घोषणाको तयारी भने भइरहेको छार्का ताङसोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरराज सेजुवालले बताए । मंसिरसम्ममा पालिका घोषणाको तयारी भइरहेको उनको भनाइ छ ।

 

जीवनपर्यन्त सिकाइ प्रभावकारी भएन

कर्णालीमा सामुदायिक सिकाइ केन्द्रमार्फत् जीवनपर्यन्त सिकाइका कार्यक्रम सुरु गरिएको भएपनि प्रभावकारी बन्न सकेका छैनन् । संघीयतापछि ओझेलमा परेको अनौपचारिक तथा आजीवन शिक्षालाई ब्यूँताउन थालिएको छ । ७९ वटै पालिकामा जीवनभर सिक्न सक्ने र समाजमा भइरहेको विकाससँग घुलमिल हुँदै अगाडि बढ्नका लागि यो सिकाइलाई जोड दिइएको जनाइएको छ । अनौपचारिक शिक्षा तथा आजीवन सिकाइबारे नीति तथा कार्यक्रमहरू र भावी कार्यदिशा तय गरिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ । मानिसको जीवनस्तर सुधार गर्दै साक्षरता दर बढाउन अनौपचारिक शिक्षा तथा आजीवन सिकाइलाई जोड दिएको केन्द्रको भनाइ छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार नेपालभर दुई हजार एक सय ५१ सामुदायिक सिकाइ केन्द्र रहेका छन् । त्यसमध्ये कर्णालीमा दुई सय ६० सिकाइ केन्द्र मात्र रहेको जनाइएको छ । ती मध्येपनि आधा मात्र सञ्चालनमा रहेको पाइएको छ । भौतिक संरचना र जनशक्ति अभावमा सामुदायिक सिकाइ केन्द्रहरूका गतिविधि प्रभावित भएका छन् । आवश्यक लगानीको अभाव र स्थानीय सरकारको संरक्षण नहुँदा सिकाइ केन्द्रहरूमा समस्या देखिएको हो ।

कर्णाली प्रदेशका १० वटै जिल्लामा सिकाइ केन्द्रहरूको प्रभावकारिता न्यून देखिएको छ । निरक्षर व्यक्तिहरूलाई अनौपचारिक शिक्षाको माध्यमबाट आधारभूत शिक्षा दिन सञ्चालन गरिएका सिकाइ केन्द्र आवश्यक पूर्वाधारको अभावमा प्रभावविहीन हुन पुगेका हुन् । संघीय सरकारले प्रत्येक आर्थिक वर्षमा सामुदायिक सिकाइ केन्द्र सञ्चालका लागि दुई लाख रूपैयाँ बजेट विनियोजन गर्दै आएको छ । चालु आर्थिक वर्षमा पनि सोही हाराहारीमा बजेट विनियोजन भएको जनाइएको छ ।

प्रकाशित मितिः   ३१ भाद्र २०८२, मंगलवार १०:००