आन्तरिक राजश्व वृद्धि
स्थानीय सरकारदेखि कर्णाली प्रदेश सरकासमेत राजश्व संकलनमा कमजोर छन् । न्यून लक्ष्य पनि पूरा गर्न सकिरहेका छैनन् । यद्यपि, आन्तरिक राजश्व कार्यालय सुर्खेतले उत्साहजनक प्रगति हासिल गरेको छ । गत आर्थिक वर्षमा कार्यालयको राजस्व संकलनमा वृद्धि भएको छ । कर्णाली प्रदेशको आर्थिक केन्द्रको रूपमा विकास हुँदै गइरहेको सुर्खेतमा आर्थिक वर्ष २०८१÷०८२ मा राजश्व संकलन उत्साहजनक देखिएको हो । कार्यालयले दुई अर्ब १४ करोड ४२ लाख रूपैयाँ राजश्व संकलन गरेको छ । यो तथ्यांक अघिल्लो आर्थिक वर्ष २०८०÷०८१ को तुलनामा एक दशमलव ७३ प्रतिशतले बढी हो । उक्त वर्ष कार्यालयले एक अर्ब ८६ करोड ८१ लाख रूपैयाँ राजश्व संकलन गरेको थियो ।
राजश्व संकलनको यो वृद्धिले कर्णालीमा बढ्दो आर्थिक गतिविधि र कर सहभागिताको सकारात्मक चित्र प्रस्तुत गरेको आन्तरिक रावस्व कार्यालय सुर्खेतले जनाएको छ । कर कानुनको पालना जति बढ्दै गयो, त्यति नै राजश्व संकलन बढ्ने पौडलले दिए । सरकारले करका दायरा विस्तार गर्दै गएकाले पनि कर वृद्धि भएको हो । करको दायरा विस्तार हुँदा पनि राजस्व बढ्छ । जति करको क्षेत्र बढ्यो, त्यति नै कर बढी आउँछ । पछिल्लो समय कर दाखिला गर्नेको संख्यासमेत बढेको छ । आर्थिक गतिविधि र व्यापारिक कारोबार बढ्दा पनि कर संकलन बढिरहेको देखिन्छ । कर्णाली प्रदेशको राजधानी भएकाले पनि सुर्खेतमा व्यापारिक गतिविधि धेरै हुने गरेका छन् । बक्यौता करको असुली हुनुले पनि राजस्व संकलन दर बढेको हो । यद्यपि, राजश्व कार्यालयले निर्धारण गरेको लक्ष्य भने अझै पूरा हुन सकेको छैन । गत वर्ष दुई अर्ब ४९ करोड ८६ लाख रूपैयाँको लक्ष्य राखिएकोमा ८५.८२ प्रतिशत मात्रै प्रगति हासिल भएको छ ।
गत आर्थिक वर्षमा सबैभन्दा बढी योगदान आयकरबाट भएको छ । आयकर शीर्षकमा एक अर्ब ३१ करोड ३२ लाख रूपैयाँ संकलन भएको छ । जुन अघिल्लो वर्षको तुलनामा १५.०६ प्रतिशतले बढी हो । अधिकांश शीर्षकमा राजश्व संकलन बढे पनि घरबहाल करमा भने गिरावट आएको छ । अघिल्लो वर्षको तुलनामा घरबहाल कर संकलनमा एक दशमलव ९८ प्रतिशतले कमी आएको छ । यस शीर्षकमा सात करोड ४० लाखको लक्ष्य राखिएकोमा जम्मा चार करोड ३९ लाख मात्रै राजश्व संकलन भएको छ । जुन लक्ष्यको ५९ दशमलव ३९ प्रतिशत मात्रै हो । कार्यालयले राजश्वको दायरा र संकलनमा प्रगति गरे पनि निर्धारित लक्ष्य पूरा गर्न थप प्रभावकारी कदम चाल्नुपर्ने देखिएको छ ।
प्रकाशित मितिः १७ भाद्र २०८२, मंगलवार ११:०९
सम्पादकीय ।