ग्यास उत्पादन कहिले ?
दैलेखमा एक सय १२ अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको पुष्टि हुनु नेपालका लागि खुसी र गौरवको खबर थियो । चाइना जिओलोजिकल सर्भेको भौगर्भिक अध्ययन र चीनकै सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीले गरेको ड्रिलिङका आधारमा प्रारम्भिक प्रतिवेदनअनुसार दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा ठूलो परिणाममा मिथेन ग्यास भएको पत्ता लागेको थियो । प्रारम्भिक प्रतिवेदनअनुसार जलजलेमा नेपाललाई ५० वर्ष पुग्ने मिथेन ग्यास रहेको जनाइएको छ । अब परीक्षण उत्पादन गरेर त्यसको यकिन गर्ने भन्दै विभागले आवश्यक प्रक्रिया अघि बढाएको छ ।
चीनको सरकारी निकाय चाइना जिओलोजिकल सर्भेले विभिन्न चरणमा सर्भे गरेको थियो भने चीनकै सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीले २०८० वैशाख २८ गतेदेखि झन्डै डेढ वर्ष ड्रिलिङ गरेर अध्ययन गरेको हो । पहिलो चरणमा सेस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे गरी चार वटा सर्भेको काम गरिएको थियो भने दोस्रो चरणमा जमिन खनेर नमुना निकाल्ने (ड्रिलिङ) को काम भएको हो । ड्रिलिङका लागि जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । जसबाट ग्यास रहेको पुष्टि भइसकेको छ । ग्यास रहेको पुष्टि भएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिरदेखि नै परीक्षण उत्पादन सुरु हुने दाबी गरे । त्यति मात्रै होइन उनले अर्को वर्षदेखि व्यावसायिकरूपमै ग्यास उत्पादन हुने समेत जिकिर गरेका थिए । तर मंसिरदेखि परीक्षण उत्पादन सुरु हुने सम्भावना नै निकै न्यून देखिएको छ । यद्यपि, उक्त अध्ययनको विस्तृत प्रतिवेदन भने आइसकेको छैन । अन्तिम प्रतिवेदन आउनै तीन÷चार महिना लाग्न सक्ने खानी तथा भूगर्भ विभागले जनाएको छ । विस्तृत प्रतिवेदन आएपछि थप अध्ययन गर्नुपर्ने हुन्छ । ग्यास उत्खननका सन्दर्भमा उत्पादनपछिको बजार र खपतबारे आर्थिक सम्भाव्यता अध्ययन पनि गर्नुपर्छ । लागत अनुमान र उत्पादनको हिसाब गरेर मात्र परियोजना अगाडि बढाउनुपर्ने हुन सक्छ । नेपालले मात्र नसक्ने अवस्थामा कुनै मुलुकको आर्थिक सहायता पनि लिनुपर्ने हुन सक्छ ।
अहिले करिब चार हजार मिटर ड्रिलिङका आधारमा प्राकृतिक ग्यास रहेको पुष्टि भएको हो । विस्तृत रिपोर्ट आएपछि मात्र ग्यास कुन गुणस्तरको छ भन्ने थाहा हुन्छ । पेट्रोलियम पदार्थ (तेल) नै छ कि छैन भनेर पनि थप अध्ययनबाट पुष्टि हुन्छ । मिथेन ग्यास नै बढी छ भने त्यसको उत्पादन र वितरण प्रणालीको मोडालिटी अर्कै हुन्छ । प्रोपेन र ब्युटेनको मात्रा बढी भेटियो भने हामीले खाना पकाउने एलपीजी ग्यासका रूपमा समेत प्रयोग गर्न सक्छौं । अहिले जुन परिमाणमा भेटिएको भनिएको छ, त्यो निकै उत्साहजनक कुरा हो । यसबाट नेपालको अर्थतन्त्र उकास्न निकै सहयोग पुग्नेछ ।
प्रकाशित मितिः १५ भाद्र २०८२, आईतवार ०५:०३
सम्पादकीय ।