साथीहरुले खोजिदिएको जोडी

पिता रामबहादुर केसी र माता सुन्तली केसीको कोखबाट २०३२ सालमा जन्मिएका चित्र केसीको बाल्यकाल आधा नेपाल र आधा भारतमा बित्यो । कक्षा १० सम्म भारतमा पढेका उनी उच्च शिक्षा अध्ययनका लागि नेपाल फर्किए । आईएड तत्कालीन बहुमुखी क्याम्पस सुर्खेतमा पढेका केसीले स्नातक र स्नातकोत्तर भने सुर्खेत क्याम्पस (शिक्षा) बाट उत्तीर्ण गरेका हुन् ।
बाल्यकालदेखि नै पढाइमा अगाडि रहेका केसीको भविष्यको सपना इन्डियन आर्मी बन्ने थियो । तर, भारतमा बस्दा आर्मीको दुःखको अवस्था देखेपछि भने उनको मन समाजसेवा गर्नेतिर गयो । पढ्दै जाँदा २०५० सालमा दाङमा नै साथीहरू मिलेर बोर्डिङ्ग स्कुल सञ्चालनमा ल्याएपछि भने उनको रुची विस्तारै शिक्षण पेसामा गयो । बोर्डिङ्ग स्कुलमा पढाउँदा पढाउँदै उनले सुर्खेतको एसओएस स्कुलमा पनि अध्यापन गरे । अहिले उनी मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अंगे्रजी विषय अध्यापन गराउने गर्छन् ।
बाल्यकालमा सधैं अरुले भन्दा आफूले राम्रो गरेर देखाउनुपर्छ भन्ने स्वभाव थियो । अरुलाई जित्नैपर्छ भन्ने स्वभावका केसी जे काममा पनि आफ्नो काम राम्रो गरेर देखाउनमा अघि हुन्थे । धेरै समय भारतमा बसेका केसीलाई नेपालको अवस्था र यहाँको गतिविधिले नेपालमा नबस्नेसम्म बनाएको थियो । तर, साथीहरूको सल्लाह र सहयोगमा केसीलाई नेपालमा बस्न बाध्य बनायो । केसीका साथीहरूले उनलाई नेपालमा बसाल्नको लागि उनको विवाह गरिदिने भनेर धेरै केटी पनि देखाए । तर, केसीलाई कोही केटी मन परेनन् । उनलाई नेपालमा बस्ने मन नै नभएका कारण पनि बिहेको बारेमा त्यति धेरै चासो दिएनन् । साथीहरूले पनि हार मानेनन् कि उनलाई बिहेको लागि केटीहरू देखाइ नै रहे ।
चिटिक्क परेको केटो, गोरो अनि मिलेको जिउडाल भएको केटा देखेर उनलाई मन पराउने केटीहरूको संख्या पनि कम थिएन । तर, केसीको नजर तीमध्ये कोही पनि केटीमा गएन । उनको बुबा बिरामी भएका कारण घरमा आमालाई काममा सघाउने तडक भडक नगर्ने केटी चाहिएको थियो । साथीहरूले देखाएको केटीहरू मध्ये एक जनामा उनले आफूले खोजेको जस्तो कुरा सबै देखे । केटी पनि राम्री थिइन् । एउटै गाउँको केटी थिइन् । पढे लेखेको त्यसमा अझ घरको सबै काम जानेको केटी भएकाले केसीको मन उनीमा नै गयो । उनले मन पराएको केटी अरु कोही नभएर रेणुका थिइन् । रेणुका र चित्रको घर एउटै गाउँमा थियो । बाल्यकालमा एउटै स्कुलमा पढेका उनीहरू बीचमा भने चित्र पढ्न भारत गएपछि भेट भएको थिएन ।

पिता बलबहादुर डाँगी र माता मोती डाँगीको कोखबाट २०३५ सालमा सल्यानमा जन्मिएकी रेणुकाको बाल्यकाल रमाइलोसँग नै बित्यो । कक्षा दुईसम्म सल्यानमा पढेकी उनले कक्षा तीनबाट कक्षा १० सम्म दाङमा पढिन् । उनी सानै हुँदा उनको परिवार बसाइँ सरेर दाङ गएका थिए । त्यसैले उनको पढाइ दाङमा नै भयो । दाङमा चित्रको गाउँमा नै उनीहरू बसाइँ सरेर गएका थिए । चित्रको आमाले पनि रेणुकालाई धेरै मन पराउने भएकाले पनि चित्रले रेणुकालाई जीवनसाथी बनाउने निर्णय गरे । रेणुकालाई चित्रले मन पराउने कुरा पनि उनकै साथीले सुनाएका थिए । रेणुकाले पनि केसीको प्रेम प्रस्तावलाई स्वीकार गरिन् । तर, भागेर विवाह नगर्ने शर्त राखिन् । घरको जेठी छोरी भएकाले पनि केसीलाई घरमा माग्न आउन भनिन् । रेनुकाको कुरालाई स्वीकार गर्दै केसी पनि उनको घरमा उनको हात माग्न गए । दुवैको घरपरिवारको सहमतिमा उनीहरूको विवाह गरिदिने निर्णय पनि भयो ।
दुवैको प्रेमलाई घरपरिवारले विवाहमा परिणत गरिदिए । उनीहरूको २०५१ सालमा मागी विवाह भयो । माइतीमा जेठी छोरी थिइन् । घरमा माइली बुहारीको रूपमा भित्रिन् । घरको काम नयाँ नाता, सम्बन्ध सबैलाई सम्माल्नुपर्ने जिम्मेवारी उनमा आइप¥यो । रेणुकालाई पनि छोरी र बुहारी हुनुमा केही फरक लाग्यो । घरमा माया गर्ने सासु भए पनि माइतीको अभाव उनलाई खड्की रह्यो । विवाहपछि हरेक छोरीहरूको लागि नयाँ जीवन सुरुवात गर्नुपर्ने हुन्छ । रेणुकाको पनि नयाँ जीवन सुरुवात भयो । रेणुकाले पनि यी सबै कुरालाई ख्याल गर्दै सबैको नजरमा आफूलाई सधैं राम्रो बनाउँदै आइन् । घरपरिवारलाई सुखी पार्नु नै रेनुकाको सन्तुष्टी थियो ।
विवाह भएको सुरु–सुरुमा त यो जोडीको कहिलेकाहिँ झगडा हुने गथ्र्याे । उमेर पनि कम भएका कारण आफूहरूको सुरु–सुरुमा झगडा हुने गरेको उनीहरू बताउँछन् । सुरुका दिनमा झगडा भए पनि जब उमेर पनि परिपक्क बन्दै गयो यो जोडीको सम्बन्ध पनि बलियो बन्दै गयो । उनीहरू भन्छन्, ‘सम्बन्ध बलियो बनाउनको लागि त एकअर्काेमा विश्वास र समझदारी हुन जरुरी छ ।’ एक अर्काेमा जिम्मेवारी भएर काम गर्दा पनि सम्बन्ध दिगो हुने उनीहरूको भनाइ छ । जीवन र सम्बन्धसँग सम्झौता गर्नसक्ने व्यक्ति नै जीवनमा सफलतामा जान सक्छ ।
यो जोडी एकअर्काेको प्रशंसा पनि खुलेरै गर्छन् । केसीलाई रेणुकाको कम बोल्ने बानी मनपर्छ । सिम्पल हुने तडक भडक नगर्ने बानी मनपर्ने गर्छ । त्यस्तै रेणुकालाई पनि केसीको बाहिरबाट आउँदा सधैं हसिलो मुख लगाएर घर आउने बानी मनपर्ने गर्छ । कहिलेकाहिँ काम गर्दा आत्तिने बानी भने रेणुकालाई अलि मन पर्दैन ।
यो जोडी एकअर्काेको जन्म दिन आउँदा र विवाह गरेको वर्ष आउँदा घरमा मिठो–मिठो खाना पकाएर सबै परिवारसँग बसेर मनाउने गर्छन् । केसीले रेणुकालाई घरको काममा पनि फुर्सद भएसम्म सघाउने गर्छन् । यो जोडी फुर्सद भएको समयमा नजिकै भए पनि दुई छोराको साथमा घुम्न पनि जाने गर्छन् । उनीहरू भन्छन्, ‘साँचिक्कै भन्नुपर्दा जीवन अनमोल छ, यो जीवनलाई सार्थक बनाउनको लागि संघर्ष गर्न भने जरुरी छ ।’
प्रस्तुतीः गीता थापा

प्रकाशित मितिः   ७ जेष्ठ २०७४, आईतवार १५:०७