वीरेन्द्रनगरमा मिश्रित परिणाम

सुर्खेत, ६ जेठ ।
स्थानीय तहको निर्वाचन अन्तर्गत प्रदेश नम्बर ६ को सबैभन्दा ठूलो नगरपालिका वीरेन्द्रनगरमा मिश्रित परिणाम आएको छ । प्रदेशको सम्भावित राजधानीको रूपमासमेत चर्चामा रहेको वीरेन्द्रनगरको नेतृत्व हात पार्न दलहरूले अन्तिम कसरत गरेका थिए । शनिवार सम्पन्न मत गणनाको अन्तिम परिणाम अनुसार नगरको प्रमुखमा कांग्रेस र उप–प्रमुखमा एमाले विजयी भएका छन् ।
प्रमुखमा कांग्रेसका देवकुमार सुवेदी पाँच सय ६ मतको अन्तरले विजयी भएका छन् । उनले १४ हजार चार सय पाँच मत प्राप्त गरे । यस्तै उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बालाराम शर्माले १३ हजार आठ सय ९९ मत प्राप्त गरे । प्रमुखमा निर्वाचित सुवेदी कांग्रेसका नगर सभापति हुन् । उप–प्रमुखमा भने एमालेले विजय हासिल गरेको छ । उप–प्रमुखमा एमालेका मोहनमाया ढकाल विजयी भएकी छन् । उनले १६ हजार ६८ मत प्राप्त गरिन् । ढकाल एमालेको महिला संगठन अनेमसंघको जिल्ला अध्यक्ष हुन् ।
यस्तै उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका जानकी सिंहले १४ हजार २६ मत प्राप्त गरिन् । माओवादीको तर्फबाट प्रमुखका उम्मेदवार रत्नबहादुर गाहाले पाँच हजार दुई सय ३७ मत प्राप्त गरे भने उप–प्रमुखका उम्मेदवार हरिमाया शर्माले चार हजार ६ सय ८९ मत प्राप्त
गरिन् । यस्तै शिक्षकबाट राजीनामा दिएर मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका गेहेन्द्रप्रसाद दहालले एक हजार आठ सय ९४ मत ल्याए । नगरका १६ वटा वडामध्ये एमालेले नौ, कांग्रेसले ६ र माओवादीले एउटा वडामा विजय हासिल गरेका छन् ।
यस्तै जिल्लामा कांग्रेसले वर्चश्व कायम गरेको छ । जिल्लाका नौ तहमध्ये वीरेन्द्रनगर, भेरीगंगा, गुर्भाकोट र पञ्चपुरी नगरपालिका तथा बराहताल र चिङ्गाड गाउँपालिकामा कांग्रेसले विजय हासिल गरेको छ । यस्तै एमालेले भने जिल्लाका तीन तहमा जितेको छ । लेकवेशी नगरपालिका, चौकुने गाउँपालिका र सिम्ता गाउँपालिकामा एमाले विजयी भएको हो । यसअघि एमालेले जित्दै आएको वीरेन्द्रनगरमा भने यसपाली कांग्रेसले मेयरमा बाजी मारेको छ ।
मतदाताले युवा रोजे
प्रदेश राजधानीका लागि चर्चामा रहेकाले पनि वीरेन्द्रनगरलाई दलहरूले मुख्य टार्गेट बनाएका थिए । नगरको नेतृत्व हात पार्न दलहरूले अन्तिम कसरत गरे । पार्टीभित्र रहेका चुनाव ‘जित्न सक्ने’ व्यक्तिलाई उम्मेदवार पनि बनाए । तर दलले अगाडि सारेका योग्य, क्षमतावान र जित्न सक्ने दाबी गरिएका भन्दा पनि मतदाताले युवा उम्मेदवार नै रोजेका छन् ।
मनोनयन दर्ताको दिनबाटै वीरेन्द्रनगरमा युवा उम्मेदवारको पक्षमा जबरजस्त माहोल बनेको थियो । मेयरमा उम्मेदवारी दिएका प्रमुख तीन दलका उम्मेदवारमध्ये कांग्रेसका देवकुमार सुवेदी युवा हुन् । अन्ततः मतदाताले पनि उनकै पक्षमा मतदान गरे । यस्तै उपमेयरमा विजयी एमालेकी मोहनमाया ढकाल अन्य दलका प्रतिस्पर्धी भन्दा युवा हन् । युवाकै नारा लागेका कारण पनि उनले सबैभन्दा बढी मत प्राप्त गर्न सफल भइन् ।
मत परिणाको अवस्था विश्लेषण गर्दा पनि त्यसलाई पुष्टी गर्दछ । मतदाताले दल वा चुनाव चिन्ह हेरेको भए मेयरमा कांग्रेसले जित्दा उपमेयरमा पनि कांग्रेसले नै जित्नु पर्दथ्यो । अर्कोतर्फ सर्वाधिक मत ल्याएर एमालेको उपमेयर विजयी हुँदा मेयरलाई भने मतदाताले भोट दिएनन् । यसको प्रमुख कारण मतदाताले यसपटक दल र चुनाव चिन्ह भन्दा पनि युवा उम्मेदवारलाई नै रोजे ।
चुनाव जित्नका लागि एमालेले २०५४ सालमा निर्वाचित तत्कालीन मेयर बालाराम शर्मा र माओवादीले आफ्ना केन्द्रीय सदस्य तथा समाज कल्याण परिषद्का पूर्व कोषाध्यक्ष रत्नबहादुर गाहालाई मेयरको उम्मेदवार बनाएको थियो । यस्तै कांग्रेसले उपमेयरमा महिला संघका केन्द्रीय कोषाध्यक्ष जानकी सिंहलाई उम्मेदवार बनाएको थियो । तर नगरका मतदाताले भने यसपाली आफ्नो चाहना अनुसार नै युवा उम्मेदवारलाई नै निर्वाचित गरिदिएका छन् ।

प्रकाशित मितिः   ७ जेष्ठ २०७४, आईतवार १५:०९