सकियो धान रोपाइँ

सुर्खेत: कर्णाली प्रदेशमा धान रोपाइँ लगभग सकिएको छ । ९९.३४ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उल्लेख गरेको छ ।

मन्त्रालयले पछिल्लो तथ्यांक सार्वजनिक गर्दै देशभर धान रोपाइँ हुने कुल क्षेत्रफलको ९४.९ प्रतिशत भूभागमा रोपाइँ सकिएको जनाएको हो । मनसुनको सक्रियता र किसानहरूको अथक मिहिनेतका कारण अधिकांश प्रदेशमा रोपाइँ अन्तिम चरणमा पुगे पनि धान उत्पादनको प्रमुख क्षेत्र मानिने मधेश प्रदेशमा भने रोपाइँको गति सुस्त देखिएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार नेपालभर कुल १३ लाख ७६ हजार चार सय ६६ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा हालसम्म १३ लाख ६ हजार दुई सय ९३ हेक्टरमा रोपाइँ सम्पन्न भइसकेको छ । समग्रमा राष्ट्रिय औसत उत्साहजनक रहे पनि प्रदेशगत तथ्यांकमा भने भिन्नता देखिएको छ ।

सार्वजनिक विवरण अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा रोपाइँ लगभग सकिएको छ । सुदूरपश्चिममा ९९.७२ प्रतिशत र कर्णालीमा ९९.३४ प्रतिशत रोपाइँ सम्पन्न भइ यी दुई प्रदेश रोपाइँमा सबैभन्दा अगाडि देखिएका छन् । त्यसैगरी लुम्बिनी प्रदेशमा ९८.३७ प्रतिशत, कोशी प्रदेशमा ९७.२४ प्रतिशत र बागमती प्रदेशमा ९७.२७ प्रतिशत रोपाइँ सकिएको छ । गण्डकी प्रदेशमा पनि ९६.६३ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ ।

धान उत्पादनका लागि देशकै सबैभन्दा उर्वर र महŒवपूर्ण मानिने मधेश प्रदेशमा भने रोपाइँको गति अन्य प्रदेशको तुलनामा सुस्त देखिएको छ । मन्त्रालयका अनुसार मधेशमा कुल तीन लाख ७० हजार एक सय ४५ हेक्टर धान खेतीयोग्य जमिनमध्ये हालसम्म ८६.३५ प्रतिशत अर्थात् तीन लाख १९ हजार ६ सय २६ हेक्टरमा मात्र रोपाइँ भएको छ ।

देशको कुल धान उत्पादनमा ठूलो हिस्सा ओगट्ने यस प्रदेशमा रोपाइँको गति कम हुँदा त्यसले समग्र राष्ट्रिय उत्पादनमा असर पार्न सक्ने अनुमान गरिएको छ । गत वर्ष यसै अवधिसम्मको तथ्यांक हेर्दा देशभर ९८.५४ प्रतिशत रोपाइँ सकिएको थियो, जसमा कोशी र सुदूरपश्चिम प्रदेशमा शतप्रतिशत रोपाइँ भएको थियो । गत वर्षको तुलनामा यस वर्ष राष्ट्रिय औसतमा सामान्य कमी देखिनुमा मधेशको सुस्ततालाई प्रमुख कारण मानिएको छ । यद्यपि, अधिकांश प्रदेशमा रोपाइँ अन्तिम चरणमा पुगेकाले समग्रमा यस वर्ष धान उत्पादन सन्तोषजनक रहने मन्त्रालयको विश्वास छ ।

प्रकाशित मितिः   १० भाद्र २०८२, मंगलवार ०५:०२