जेठ १५ गते नै पूर्ण बजेट ल्याउने सरकारको निर्णय

मन्त्रिपरिषद् बैठकले नयाँ कार्यक्रम नराखी जेठ १५ गते नै बजेट ल्याउने निर्णय गरेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संविधानमा व्यवस्था भएअनुसार नै उक्त मितिमा बजेट ल्याउने निर्णय गरेको हो ।

बैठकले सरकारको नीति तथा कार्यक्रम पनि पारित गरेको कानुनमन्त्री अजयशंकर नायकले जानकारी दिए । उनका अनुसार आजै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर सरकारको नीति तथा कार्यक्रम बुझाइनेछ । नीति तथा कार्यक्रम संसदमा राष्ट्रपतिले प्रस्तुत गर्ने चलन छ ।

बैठकले सरकारका कामकारबाही र विकास निर्माणको काम नरोकिने गरी नयाँ कार्यक्र नराखी पूर्ण आकारकै बजेट ल्याउने निर्णय गरेको छ । बजेट नयाँ सरकारले ल्याउने वा यही सरकारले भन्ने स्पष्ट बताइएको छैन ।

भोलिको संसद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्ने र राजीनामा पनि दिने बताइएको छ । त्यसपछि सरकार कामचलाउ हुनेछ र राष्ट्रपतिले सहमतिको सरकारका लागि एक साताको समय दिनेछिन् । १५ गतेसम्ममा नयाँ सरकार बन्ने सम्भावना नभएकाले बजेट काम चलाउ सरकारले नै ल्याउने निश्चितप्रायः छ ।

प्रकाशित मितिः   ७ जेष्ठ २०७४, आईतवार १३:०३