नैतिकताको आवरण

 

 

लोकतन्त्र माथिको आदर्श मूल्य मान्यता पार्टीहरुको सिद्धान्त विचार र निष्ठाको जतिसुकै बखान गरेर भजन गाए पनि त्यो लोकरिझ्याइँका लागि मात्र खपत गरिंदोरहेछ भन्ने कुरा केही राजनीतिक गतिविधिले छर्लङ्ग पारिरहेका छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पद र शक्ति प्राप्तिका लागि नेकपा एमालेभित्र पस्न चाहेको र खाइपाई आएको आफ्नो भाग खोसिने त्रासदीका कारण प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले छेक्नका लागि अनेक प्रपञ्च गरिरहेको तथ्य सबैमा अवगत छ । दाउपेचहरू कति मनोगत, कतिसम्म अवसरवाद र मौसमी हुँदा रहेछ्न भन्ने कुरा पनि प्रष्ट भैरहेको छ । दाउपेचका कुतर्कले राजनीतिक निष्ठा मूल्य मान्यता सिद्धान्त विचार सबैलाई खरानी बनाउँदो रहेछ । पञ्चायती व्यवस्थालाई सरापेर नथाक्ने गणतन्त्रका राजनीतिक पार्टीले नैतिकताको आवरणमा आन्तरिक लोकतन्त्रलाई थिलथिलो पारिरहेका छन् ।

स्वर्गीय मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज) लाई आदर्श सिद्धान्त मानेर मदन भण्डारी फाउन्डेसनमार्फत एमालेले अनेकन राजनीतिक गतिविधि गरिरह्यो । फाउन्डेसनकै कार्यकलापबाट पार्टीको नेतृत्व हुँदै देशको बागडोर सम्हाल्नमा सफल भएका ओलीले पछिल्ला दिनमा उक्त फाउन्डेसन व्यक्तिको कब्जामा गएको र ठगीखाने भाँडो बनाएको भनी गम्भीर आरोप लगाए । विद्या भण्डारी यही फाउन्डेसनमार्फत राजनीतिक गतिविधिमा अगाडि बढ्न खोजेको भेउ पाएपछि ओलीले जननेता मदन भण्डारीको योगदानलाई नै तेजोबध गर्न तम्सिए । ओलीले यसको छनक पहिल्यै दिइसकेका थिए । किनकि जेठ १४ गते मदन भण्डारी जन्मजयन्ती कार्यक्रममा मन्तव्य दिँदा ओलीले मदन भण्डारीका चारवटा स्वास्नी थिए र सहकारी ठगेर हिँडेका हुन भन्ने जस्ता आरोप पनि लगाइएका थिए भन्न समेत भ्याएका थिए ।

कसैले कहिल्यै कतै नसुनेको त्यस्तो आरोप ओलीले कहिले कहाँ सुने र त्यसै दिनमा त्यस्तो कुरा किन बोले भन्ने विषयमा विश्लेषकहरूको विचारबाट ओलीले मदन भण्डारीप्रति जनता कार्यकर्ताको अनास्था र वितृष्णा भर्न लागि परिरहेका थिए ।

नैतिकताको विषय उछाल्दै प्रशस्त सेवा सुविधा लिएर मान सम्मानका साथ विद्यालाई राजनीतिबाट अलग पार्न ओली पक्षधरले निकै कसरत ग¥यो । तर भण्डारीले केही नसुनेर सक्रिय राजनीतिका लागि सदस्यता नविकरण गरिसकेको जानकारी दिँदै पछि नहट्ने बताइन् । पूर्वराष्ट्रपति राजनीतिमा फर्कंदा गणतन्त्र खतरामा पर्छ भन्ने ढंगको व्याख्या गरेर ओलीले सदस्यता खारेज मात्रै गरेनन् भण्डारीका पक्षमा खुल्न थालेका नेता कार्यकर्तालाई मनोवैज्ञानिक त्रास देखाउँदै काबुमा पनि ल्याउन थाले । आइन्दा भण्डारीका पक्षमा नबोल्न अन्तर पार्टी निर्देशन (अपानी) समेत जारी गरेर लोकतन्त्रको नमूना देखाए । पार्टीको विधानमा ७० वर्ष उमेर पुगेका र दुई कार्यकाल अध्यक्ष भएका व्यक्ति उमेदवार हुन नपाइने भन्ने ढंगको व्यवस्था उल्लेख छ । उमेरहद पार गरिसकेका र दुई कार्यकाल पनि विताइसकेका ओलीलाई पुनः अध्यक्षका लागि पायक पार्न एमालेले विधान संशोधन गर्ने तयारी गरिरहेको छ । भण्डारीलाई नैतिकताको पाठ सिकाउने ओली पक्षधरले आफ्नो बारेमा नैतिकता जोगाउन छोडेर बगाइदिएको छ । हिजो राजनीतिक आन्दोलन र गतिविधिमा राजालाई पार्टी खोलेर चुनाव लड्न चुनौती दिने एमालेले नैतिकताको तर्क सार्दै विद्या भण्डारीलाई पार्टीमा छेकेको छ । दोहोर चरीत्रका बारे उठेको प्रश्नमा राजालाई दिएको चुनौती एउटा व्यङ्गय हो भन्ने हास्यास्पद जवाफ दिएर पन्छिएको छ ।

नैतिकता भन्ने कुरा मान्छेको स्वविवेकबाट आउने हो । कसको कति नैतिकता छ भन्ने विषयमा पनि छलफल बहस हुनसक्ला त्यो छुट्टै पाटो हो । नैतिकतालाई संविधानमा लेखेका कुरा र नलेखेका कुराले फरक पार्दैनहोला तर कानुनलाई त अवश्य प्रभाव पार्छ । पूर्वराष्ट्रपति राजनीतिमा फर्किनु पाइँदैन भनी संविधानमा लेखिएको भए कानुनले छिर्न दिने थिएन, केही लेखेन त्यसर्थ कानुनले रोक्न सक्दैन । पूर्वराष्ट्रपति भण्डारीले दुई वर्षअगाडि पार्टीमा फर्कने भनी सदस्यतासमेत नविकरण गरेको अवस्थामा नेतृत्व प्रतिक्रिया विहीन भयो, मौन बस्यो । त्यतिबेला नै नैतिकता, कानुन वा विश्वराजनीतिको अभ्यास देखाएर उनको सदस्यता नविकरण नगरेको भए यसलाई सकारात्मक रूपमा पनि लिन सकिन्थ्यो । भण्डारीले सक्रिय राजनीतिमा फर्केर पार्टी अध्यक्षको दाबी लिने घोषणा गरेपछि केन्द्रीय समितिको बैठक डाकेर मध्यरातमा सदस्यता खारेज गरियो । पार्टी विग्रहमा गए बरु सहने तर भण्डारीलाई पार्टीमा फर्कन नदिने भनी ओलीले विपक्षी आवाजलाई हेकुलाले मिच्दै अप्रिय निर्णय गरिदिए । कुनैपनि ठोस कारण नभएपछि नैतिकताको दुहाइ दिएर छेकेको कुरा बुझ्न कठिनाइ छैन ।

भण्डारीलाई नैतिकता देखाउने ओलीले विधान बमोजिम अब आफू अध्यक्ष नहुने र विकल्पमा अन्य नेता खोजी गरेको भए पक्षपाती सोच र पूर्वाग्रही निर्णय भनेर कसैले व्यङ्गय कटाक्ष र आलोचना गर्न सक्दैनथे । दुई कार्यकाल अध्यक्ष र ७० वर्षको उमेरहद हटाएर ओलीका लागि अनुकूल पार्न विधान संशोधन गर्न खोजिएको हो भनी नेताहरूले नै व्याख्या गरिरहेका छन् । हिजो त्यस्तो प्रावधान विधानमा किन राखिएको थियो भन्ने प्रश्नको चित्तबुझ्दो जवाफ छैन । पूर्वराष्ट्रपतिको हैसियतमा पाउने सेवा सुविधा सबै त्यागेर भण्डारी राजनीतिमा होमिन खोजेको देखेपछि हैरान ओलीले मदन भण्डारी फाउन्डेसनमा प्रहार गर्दै वर्षौंदेखि निष्क्रिय झैं रहेको मदन–आश्रति स्मृति प्रतिष्ठानलाई सक्रिय मात्रै पारेनन् प्रदीप ज्ञवालीलाई अध्यक्ष बनाएर साउन २६ गते शपथ पनि खुवाए । देशभर सञ्जाल रहेको मदन भण्डारी फाउन्डेसनको आडमा विद्याले आफ्नो राजनीतिक गतिविधि अगाडि बढाउन खोजेपछि ओलीले यस्तो रणनीति लिएका हुन । राजनीतिमा विद्याको हरेक बाटो रोक्न र भत्काउन ओली हात धोएर लागिरहेका देखिन्छन् ।

पार्टीबाट अलग रहेर निष्पक्ष भुमिका निभाउने जिम्मेवारी पाएका सभामुखहरू र पूर्व उपराष्ट्रपति समेत धमाधम फेरि पार्टी राजनीतिमा फर्किरहेका उदाहरण अन्त खोज्नुपर्दैन । पार्टीले कसैको नैतिकता खोजेन किनकि ती सबैजना पार्टी अध्यक्षमुनी कार्यकर्ता भएर बस्न राजी भए । भण्डारीले पनि पार्टी अध्यक्ष नताकेर यदि पार्टी गतिविधिमा मात्रै सीमित रहन खोजेको भए यो संग्राम हुने नै थिएन । किनभने दुई वर्षसम्म उनको सदस्यता माथि कसैले कुनै कोणबाट टीका टिप्पणी गरेका थिएनन् । राष्ट्रपति जस्तो उच्च र गरिमामय पदमा पुगेका व्यक्ति पार्टी राजनीतिमा फर्कंदा अनैतिक हुन्छ भने विधानले प्रष्ट रूपमा रोकेको कुरालाई व्यक्ति अनुकूल हुनेगरी संशोधन गर्नु नैतिक हुन्छ त भन्ने गम्भीर प्रश्नको उत्तर कसले दिने हो ? विधि विधान आदर्श नैतिकता प्रतिष्ठा सबै तोडेर फोडेर जसको शक्ति उसकै भक्ती गर्ने हो भने लोकतन्त्र र गणतन्त्रको मन्त्र जप्नुको कुनै औचित्य हुन सक्दैन ओलीको द्वेध चरीत्रलाई पार्टीकै नेता तथा विश्लेषकहरुले निरंकुशता को सज्ञा दिइरहेका छन् ।

लोकतन्त्र र स्वतन्त्रताका निम्ति त्याग तपस्या गरेका हौँ जेल नेल भोगेका हौँ भन्ने नेताहरूले राज्यबाट त्यही भाष्य भजाएर घरीघरी ब्याज असुलीरहेका छन् । आदर्श विचार सिद्धान्त र नैतिकता धूलोमा मिसाएर दाउपेच लडाउँदै गरेको राजनीतिले हिजो गरेको भनिएको त्याग तपस्या जेलनेल सबै ओझेलमा पारिदिन्छ । यो प्रवृतिले दोस्रो र नयाँ पुस्तालाई पनि निष्ठाको होइन कि धूत्र्याइँ र दाउपेचकै राजनीति गर्नलाई प्रेरित गर्छ । आदर्श निष्ठावान र निष्कलंक नेता भन्ने बित्तिकै कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी र गणेशमान सिंह श्रेष्ठजस्ता व्यक्तित्वका अनुहार आँखामा घुम्न आउँछन् । सत्ता शक्ति उमेर बैँस जोश जाँगर सँधैभर नसिबमा हुँदैन र समयभन्दा बलवान् पनि अर्को केही छैन । त्यसकारण ईमान र निष्ठाको राजनीतिले नेताको नाम सुगन्ध पार्नेमा कतै दुईमत हुन सक्दैन ।

 

– उमालाल आचार्य

प्रकाशित मितिः   १ भाद्र २०८२, आईतवार ०५:०४