सुरक्षाका लागि प्रविधि
कर्णाली प्रदेशको राजनीति वीरेन्द्रनगरमा सुरक्षा चुनौती बढ्दो छ । बढ्दो जनसंख्या, सवारी साधनका उल्लेख्य चाप र त्यसमाथि सुरक्षासँग जोडिएका गतिविधिले नगर सुरक्षामा चुनैती बढाएका छन् । त्यसैले नगर सुरक्षाका लागि वीरेन्द्रनगरमा थप सिसी क्यामरा जडान गरिने भएको छ । यसका लागि वीरेन्द्रनगर नगरपालिका, जिल्ला प्रहरी कार्यालय सुर्खेत र नेपाल टेलिकम प्रादेशिक कार्यालय सुर्खेतबीच सम्झौता छ । सम्झौताअनुसार तीन सय ५५ वटा सिसी क्यामरा जडान गरिनेछ । पहिलो चरणमा एक सय पाँच वटा सिसी क्यामरा जडान गरिने छ भने दोस्रो चरणमा दुई सय ५० वटा जडान गरिनेछ । ६ महिनामा सिसी क्यामरा जडान सक्ने लक्ष्य राखिएको वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ ।
बढ्दो सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सिसी क्यामरा जडान गर्न लागिएको हो । अघिल्ला आर्थिक वर्षहरूमा पनि बजेट विनियोजन गरेर सिसी क्यामरा मर्मत कार्य हुँदै आएको थियो । चालु आर्थिक वर्षमा समेत बजेट विनियोजन गरेर नयाँ सिसी क्यामरा जडान गर्न लागिएको हो । वीरेन्द्रनगरका मुख्यमुख्य चोकहरूमा सिसी क्यामरा जडान गरिने नगरपालिकाले जनाएको छ । अहिले चोक–चोकमा सिसी क्यामरा नहुँदा सुरक्षा निगरानीमा चुनौती भइरहेको छ । वीरेन्द्रनगर बजारका मुख्य स्थानमा यसअघि जडान गरिएका ९२ मध्ये ८४ वटा सिसी क्यामेरा प्रयोगविहीन बनेका छन् । वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी सहर भएकाले सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै ९२ वटा स्थानमा सिसी क्यामेरा राखिएका थिए । विभिन्न चरणमा गरी मुख्यचोक र बजार क्षेत्रमा जडान गरिएका अधिकांश क्यामेरा भने लामो समयदेखि बिग्रिएका छन् । प्रदेश सरकारको आर्थिक सहयोगमा आर्थिक वर्ष २०७६÷०७७ मा नगरपालिकाले सिसी क्यामेरा जडान गरेको थियो । करिब एक करोड खर्चिएर क्यामेरा जडान गरिएका जनाइएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार ९२ स्थानमा सिसी क्यामेरा जडान भएकोमा हाल तीमध्ये आठ वटाले मात्रै काम गर्छन् । ठूलो लगानीमा जोडिएका ८४ वटा क्यामरा अहिले प्रयोगमा छैनन् । जसले गर्दा सुरक्षा चुनौती बढेको प्रहरीले जनाएको छ ।
पर्याप्त सिसी क्यामेरा नहुँदा अपराध र विभिन्न घटनाहरूको अनुसन्धानमा असहज भइरहेको छ । कुनै घटना वा दुर्घटना भयो भने सिसी क्यामेराबाट पत्ता लगाउन सजिलो हुन्छ । तर पर्याप्त सिसी क्यामेरा नहुँदा अनुसन्धानमा असहज भइरहेको छ । त्यसैले नयाँ सिसी क्यामरा जडान भएमा सुरक्षा निगरानीमा सहज हुने अपेक्षा गरिएको छ । त्यसका लागि नयाँ सिसी क्यामेरा जडानका साथसाथै बिग्रिएका पुराना सिसी क्यामरा मर्मत गर्न पनि आवश्यक छ । पछिल्लो समय वीरेन्द्रनगर नगरपालिकाले व्यवस्थित नगरपालिका बनाउन लागि परेको छ । बढ्दो सुरक्षा चुनौतीलाई ध्यानमा राखेर सुरक्षा प्रविधि जडानका कामसमेत गरिरहेको छ ।
प्रकाशित मितिः २१ श्रावण २०८२, बुधबार १२:४८
सम्पादकीय ।