भायानेटको स्वतन्त्र सञ्चालकमा परशुराम कुँवर

 

काठमाडौं: इन्टरनेट तथा टिभी सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेशन लिमिटेडले आफ्नो सञ्चालक समितिमा अनुभवी बैंकर परशुराम कुँवर क्षेत्रीलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको छ । बैंक तथा वित्तीय क्षेत्रका अनुभवी व्यक्तित्व मानिएका क्षेत्री कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार भायानेटको बोर्डमा आवद्ध भएका हुन् ।

क्षेत्रीले सन् १९८६ मा तत्कालीन ग्रिण्डलेज बैंक –हाल स्ट्यान्डर्ड चार्टर्ड बैंक) बाट आफ्नो करियर सुरु गरेका थिए । त्यसपछि उनले नेपाल बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, बैंक अफ एशियामा वरिष्ठ पद सम्हालेका थिए । क्षेत्रीले जनता बैंक र ग्लोबल आइएमई बैंकमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निर्वाह गरिसकेका छन् । क्षेत्रीले सन् २०२० मा ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट अवकाश लिएका हुन् ।

भायानेट कम्युनिकेशन लिमिटेडले अनुभवी बैंकर क्षेत्रीलाई बोर्डमा स्वागत गर्दै उनको तीन दशकभन्दा बढी समयदेखि विभिन्न क्षेत्रमा सञ्चित अनुभवले कम्पनीलाई आगामी दिनमा अझ सशक्त र दिगो विकासतर्फ लैजान मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ ।

प्रकाशित मितिः   १८ श्रावण २०८२, आईतवार २०:४८