पर्यटन प्रवर्द्धन गर्ने रणनीति

‘गन्तव्य कर्णाली’ एप निर्माणदेखि पर्यटक ‘गाइड बुक’ प्रकाशनसम्म

सुर्खेत: कर्णाली प्रदेश सरकारले पर्यटन प्रवद्र्धनका लागि विभिन्न योजना कार्यान्वयन गर्दैछ । पर्यटकीय क्षेत्रको पहिचान, प्रवद्र्धन र प्रचार गर्ने रणनीति बनाइएको मन्त्रालयले जनाएको छ । त्यसका लागि ‘गन्तव्य कर्णाली एप’ निर्माण गर्नेदेखि ‘पर्यटक गाइड’ पुस्तक प्रकाशनसम्मका योजना मन्त्रालयले बनाएको छ ।

पर्यटन विकासको प्रचुर सम्भावना भएर पनि कर्णालीमा पर्याप्त पर्यटक आउन सकेका छैनन् । भएका पर्यटकीय स्थलहरूको उचित र व्यवस्थित प्रचार–प्रसार पनि हुन सकेको छैन । त्यसैले प्रदेश सरकारले पर्यटन प्रवद्र्धन योजनालाई प्राथमिकतामा राखेको छ । हचुवाको भरमा काम गर्दा आर्थिक लाभ लिन नसकिएको निष्कर्षसहित मन्त्रालयले डिजिटल माध्यमलाई पनि उपयोग गर्ने रणनीति तय गरेको छ । मोबाइल एपमार्फत् पर्यटकीय क्षेत्रहरूको बारेमा जानकारी गराउन लागिएको छ । एपमार्फत् पर्यटकलाई पर्यटकीय क्षेत्र र सेवा लगाएका विषयमा जानकारी गराइनेछ । चालु आर्थिक वर्षमा ‘गन्तव्य कर्णाली एप’ निर्माण गर्न लागिएको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले जनाएको छ । सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर उक्त योजना अघि बढाएको छ । यो कार्यक्रम प्रदेशमा नै पहिलोपटक सञ्चालन गर्न लागिएको मन्त्रालयका सूचना अधिकारी निरज श्रेष्ठले बताए । एप निर्माणका लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारले दश करोड बजेट विनियोजन गरेको छ । पर्यटकहरूलाई प्रदेशमा सहज रूपमा आवागमन र घुमफिरका लागि एप निर्माण तथा सञ्चालन गर्न लागिएको हो । यो एप सञ्चालन भए मोबाइलबाटै कर्णालीका घुम्न लायक क्षेत्रको बारेमा जानकारी लिन सकिनेछ । अति महŒवपूर्ण धार्मिक स्थलहरूमा शूल्क तोकेरै लिइने प्रवेश शूल्कसमेत लगाइनेछ ।

प्रदेश सरकारले ‘गन्तव्य कर्णाली एप’ सँगसँगै ‘पर्यटक गाइड बुक’ पनि तयार गर्न लागेको छ । कर्णालीमा एकीकृत रूपमा पर्यटकीय गन्तव्यको सूचि नहुँदा बाहिरी पर्यटक अलमलमा पर्ने तथा सास्ती पाउने गरेका छन् । सरकारले उक्त समस्यालाई मध्यनजर गर्दै पर्यटक गाइड बुक निर्माण गर्न लागेको हो । प्रदेशमा रहेका प्रमुख पर्यटन सम्पदाको बारेमा जानकारी दिने उद्देश्यले गाइड बुक निर्माण गर्न लागिएको मन्त्रालयले जनाएको छ । उक्त योजनाअन्तर्गत पर्यटकलाई निर्भयका साथ घुमफिर गर्ने वातावरण निर्माण गर्न, पर्यटकको सुरक्षा र अप्ठयारो परिस्थितिमा तत्काल सहयोग गर्ने उद्देश्यले पर्यटक गाइड बुक निर्माण गर्न लागिएको मन्त्रालयका सूचना अधिकारी श्रेष्ठले बताए । पर्यटकीय क्षेत्रको विकासका लागि पर्यटन सूचना तथा अभिलेख केन्द्र स्थापना गर्ने योजना पनि मन्त्रालयको छ ।

सरकारले यो वर्ष पर्यटन विकासका कार्यक्रममा जोड दिएको छ । उक्त कार्यक्रम कार्यान्वयनका लागि चालु आर्थिक वर्षमा ४३ करोड बजेट विनियोजन गरिएको छ । गत आर्थिक वर्षमा समेत प्रदेश सरकारले पर्यटन पूर्वाधारका कार्यक्रममा जोड दिएको थियो । पर्यटकीय क्षेत्रको पहिचान गरेर पूर्वाधार निर्माण तथा प्रचार–प्रसार गर्ने योजनामा प्रदेश सरकार लागि परेको छ । यो वर्ष डिजिटल प्रविधिमार्फत् योजना कार्यान्वयन गर्न लागिएको जनाइएको छ ।

प्रदेश सरकारले विगतदेखि नै पर्यटन प्रवद्र्धन गर्न पूर्वाधार निर्माणमा जोड दिएको छ । बजेटको स्रोत सुनिश्चितता गरेर पूर्वाधार निर्माणका काम अघि बढाएको हो । अघिल्ला आर्थिक वर्षहरूमा बजेटको स्रोत सुनिश्चितता नगरेर पूर्वाधार निर्माणका काम सुरु गर्दा योजना अलपत्र पर्ने गरेका थिए । चालु आर्थिक वर्षमा पुँजीगत खर्च बढाउन र पूर्वाधार निर्माण गरेर पर्यटन प्रवद्र्धन गर्न सरकारले चासो देखाएको छ । बजेट कार्यान्वयन गर्न रणनीति योजना निर्माण गरिएको प्रदेश सरकारले जनाएको छ । विकास बजेट खर्च कार्यान्वयनलाई गतिशील बनाउन रणनीति योजना निर्माण गएिको मुख्यमन्त्री यामलाल कँडेलले बताए । उनका अनुसार आवश्यकता र औचित्यका आधारमा बजेटको स्रोत सुनिश्चितता गरेर पर्यटकीय पूर्वाधार निर्माण थालिएको छ । प्रदेशका दशवटै जिल्लाबाट कार्यक्रम कार्यान्वयन गरिने जनाइएको छ ।

प्रकाशित मितिः   १७ श्रावण २०८२, शनिबार ०९:१३