नगर सुरक्षाका लागि तीन सय सिसी क्यामरा

सुर्खेत: नगर सुरक्षाका लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा थप सिसी क्यामरा जडान गरिने भएको छ । यसका लागि वीरेन्द्रनगर नगरपालिका, जिल्ला प्रहरी कार्यालय सुर्खेत र नेपाल टेलिकम प्रादेशिक कार्यालय सुर्खेबीच सम्झौता छ ।

सम्झौताअनुसार तीन सय ५५ वटा सिसिक्यामरा जडान गरिनेछ । पहिलो चरणमा एक सय पाँच वटा सिसी क्यामरा जडान गरिने छ भने दोस्रो चरणमा दुई सय ५० वटा जडान गरिनेछ । ६ महिनामा सिसी क्यामरा जडान सक्ने लक्ष्य राखिएको वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ । २०८२ साउन १५ गतेदेखि पुस १५ गतेसम्म सिसी क्यामरा जडान गरिसक्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । ११ लाख ६९ हजार पाँच सयमा नेपाल टेलिकमसँग नगरपालिकाले सम्झौता गरेको हो ।

बढ्दो सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सिसी क्यामरा जडान गर्न लागिएको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले बताइन् । उनका अनुसार अघिल्ला आर्थिक वर्षहरूमा पनि बजेट विनियोजन गरेर सिसी क्यामरा मर्मत कार्य हुँदै आएको थियो । चालु आर्थिक वर्षमा समेत बजेट विनियोजन गरेर नयाँ सिसी क्यामरा जडान गर्न लागिएको उनको भनाइ छ । वीरेन्द्रनगरका मुख्यमुख्य चोकहरूमा सिसी क्यामरा जडान गरिने नगरपालिकाले जनाएको छ । अहिले चोक–चोकमा सिसी क्यामरा नहुँदा सुरक्षा निगरानीमा चुनौती भइरहेको छ ।

वीरेन्द्रनगर बजारका मुख्य स्थानमा जडान गरिएका ९२ मध्ये ८४ वटा सिसी क्यामेरा प्रयोगविहीन बनेका छन् । वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी सहर भएकाले सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै ९२ वटा स्थानमा सिसी क्यामेरा राखिएका थिए । विभिन्न चरणमा गरी मुख्यचोक र बजार क्षेत्रमा जडान गरिएका अधिकांश क्यामेरा भने लामो समयदेखि बिग्रिएका छन् ।

प्रदेश सरकारको आर्थिक सहयोगमा आर्थिक वर्ष २०७६÷०७७ मा नगरपालिकाले सिसी क्यामेरा जडान गरेको थियो । करिब एक करोड खर्चिएर क्यामेरा जडान गरिएका जनाइएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार ९२ स्थानमा सिसी क्यामेरा जडान भएकोमा हाल तीमध्ये आठ वटाले मात्रै काम गर्छन् । ठूलो लगानीमा जोडिएका ८४ वटा क्यामरा अहिले प्रयोगमा छैनन् । जसले गर्दा सुरक्षा चुनौती बढेको प्रहरीले जनाएको छ ।

पर्याप्त सिसी क्यामेरा नहुँदा सुरक्षामा पनि चुनौती थपिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) सुधीरराज शाहीले बताए । पर्याप्त सिसी क्यामेरा नहुँदा अपराध र विभिन्न घटनाहरूको अनुसन्धानमा असहज भइरहेको उनको भनाइ छ । ‘प्रहरीलाई कुनै घटना, दुर्घटना भयो भने सिसी क्यामेराबाट पत्ता लगाउन सजिलो हुन्छ’ उनले भने, ‘सिसी क्यामेरा नहुँदा अनुसन्धानमा असहज भइरहेको छ ।’ उनले सिसी क्यामेरा सञ्चालन नहुँदा अपराध गर्ने व्यक्तिहरूको खोजी गर्न समस्या हुनेगरेको बताए । नयाँ सिसी क्यामरा जडान भएमा सुरक्षा निगरानीमा सहज हुने उनको भनाइ छ । शाहीले भने, ‘वीरेन्द्रनगरमा अपराध बढ्दो छ, मुख्य मुख्य चोकहरूमा सिसी क्यामरा जडान भए सहज हुनेछ, बिग्रिएका सिसी क्यामरा मर्मत गर्न पनि आवश्यक छ ।’ पछिल्लो समय वीरेन्द्रनगर नगरपालिकाले व्यवस्थित नगरपालिका बनाउन लागि परेको छ । बढ्दो सुरक्षा चुनौतीलाई ध्यानमा राखेर सुरक्षा प्रविधि जडानका कामसमेत गरिरहेको छ ।

यस्तै, वीरेन्द्रनगरमा पहिलो पटक सडकमा ट्राफिक बत्ती सञ्चालनमा ल्याइएको छ । वीरेन्द्रनगर नगरपालिका–६, स्थित वीरेन्द्र चोकमा ट्राफिक बत्ती जोडिएको हो । नगरप्रमुख मोहनमाया ढकालले वीरेन्द्रचोकबाट सुरुवात गरिएको ट्राफिक बत्ती अन्य क्षेत्रमा पनि विस्तार गरिने बताइन् । रत्न राजमार्गअन्तर्गत यरिचोक, मंगलगढी चोक, एयरपोर्ट चोकमा सडक विभाग र मुलपानी चोक, दैलेख रोड चोकलगायतका क्षेत्रमा नगरपालिकाले ट्राफिक बत्ती जडान गर्ने जनाइएको छ । नगरप्रमुख ढकालले उपत्यकाका विभिन्न स्थानमा सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै झण्डै तीन सय बढी सिसी क्यामेरासमेत जडान गर्न लागिएको बताइन् । नगरपालिकाले आगामी २०८३ असारसम्म यात्रु र सवारीको उच्च चाप हुने मंगलगढी चोकमा आकाशे पुल निर्माण सम्पन्न गर्नेगरी प्रक्रिया पनि अघि बढाउन लागेको छ ।

प्रकाशित मितिः   १६ श्रावण २०८२, शुक्रबार ०५:०५