सन्तोषजनक प्रगति
आर्थिक वर्ष २०८१/०८२ सकिएसँगै वार्षिक समीक्षा भइरहेका छन् । कर्णाली प्रदेश सरकारका विभिन्न मन्त्रालयले पनि आफ्नो प्रगति समीक्षा गरेका छन् । जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले लक्ष्यभन्दा बढी प्रगति हासिल गरेको जनाएको छ । आर्थिक वर्ष २०८१/०८२ मा मन्त्रालयले राखिएको लक्ष्यभन्दा बढी प्रगति भएको दावी गरेको हो । त्यसका लागि मन्त्रालयले विभिन्न विवरण पेस गरेको छ । मन्त्रालयले खानेपानी, सिँचाइ तथा ऊर्जा विकासका क्षेत्रमा काम गर्दै आइरहेको छ ।
गतवर्ष मन्त्रालयले एक हजार दुई सय हेक्टर जमिनमा सिँचाइ विस्तार गर्ने लक्ष्य लिएको थियो । जसमा लक्ष्यभन्दा बढी उपलब्धी हासिल भएको छ । एक हजार आठ सय ६६ हेक्टर जमिनमा सिँचाइ विस्तार गरिएको छ । प्रदेशमा हालसम्म १२ हजार नौ सय ९९ हेक्टर क्षेत्रमा सिँचाइ विस्तार गरिएको छ । यस्तै खानेपानीका धारा निर्माणबाट गत वर्ष चार सयभन्दा बढी जनसंख्या लाभान्वित भएका छन् । हालसम्म तीन लाख ९१ हजार तीन सय ७४ जनसंख्या खानेपानीबाट लाभान्वित भएका छन् । गतवर्ष दुई सय १० हेक्टर क्षेत्रमा नदी नियन्त्रणको काम गर्ने लक्ष्य राखिएकोमा दुई सय ७६ हेक्टर क्षेत्रमा नदी नियन्त्रणको काम गरिएको छ । गत वर्ष प्रदेशका ११ हजार जनसंख्यालाई विद्युतको पहुँचमा जोड्ने लक्ष्य राखिएकोमा उक्त वर्ष २१ हजार सात सय ३५ जनसंख्यालाई विद्युतको पहुँचमा जोडिएको छ । हालसम्म प्रदेशका ६० हजार एक सय ५५ जनसंख्या विद्युतको पहुँचमा छन् । कर्णालीमा कृषियोग्य जमिनको क्षेत्रफल धेरै भएपनि सिँचाइको भने अभाव छ । हालसम्मको तथ्यांकले कूल सिञ्चित क्षेत्रफल २८ दशमलव आठ प्रतिशत मात्रै देखिएको छ । प्रदेशभर ५६ दशमलव आठ प्रतिशतले सिँचाइ सुविधा लिएका छन् । कृषि गणनाअनुसार कर्णाली प्रदेशमा मुख्य गरेर धान, मकै र गहुँको खेती बढी हुन्छ । २९ हजार दुई सय ४१ हेक्टर जमिनमा धान खेती हुने गरेको छ भने ४० हजार ८३ हेक्टरमा मकै र ५१ हजार २६ हेक्टरमा गहुँ खेती भइरहेको छ । सिँचाइको अभावमा जमिन बाँझो हुने क्रम बढेको भन्दै मन्त्रालयले सिँचाइको कार्यक्रमलाई मुख्य योजनाको रूपमा राखेको हो ।
आर्थिक वर्ष २०८१÷०८२ मा प्रदेशका अन्य मन्त्रालयहरूमध्ये जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले सबैभन्दा बढी बजेट कार्यान्वयन गरेको छ । मन्त्रालयले गत वर्ष विनियोजित दुई अर्ब ८६ करोड बजेटमध्ये दुई अर्ब २८ करोड नौ सय ७९ बजेट खर्च गरेको छ । जसमा चालुतर्फ ६७ दशमलव ३६ र पुँजीगततर्फ ८०दशमलव५५ प्रतिशत बजेट कार्यान्वयन गरेका छ । यो खर्च कर्णाली प्रदेशका विकासे मन्त्रालयहरूमध्ये सबैभन्दा बढी हो । यसले पनि मन्त्रालयको प्रगति विवरण सन्तोषजनक देखिन्छ ।
प्रकाशित मितिः १३ श्रावण २०८२, मंगलवार ११:२०
सम्पादकीय ।