चरन अभावले मौरीपालनमा समस्या

सुर्खेत: वीरेन्द्रनगर नगरपालिका वडा नंं. १२ का लिलाराम ढकालले दशवर्षदेखि व्यावसायिक रूपमा मौरीपालन गर्दै आएका छन् । एउटा याममा तीन पटक मह निकाल्न मिल्ने र मनग्य आम्दानी हुने गरेको उनी बताउँछन् । ढकालले दुई वटा घारबाट मौरीपालन थालेका थिए । हाल उनीसँग मौरीका एक सय १५ घार छन् ।

वर्षातको समयमा मौरी चरनका लागि समस्या हुने गरेको ढकाल बताउँछन् । ‘चरनकै समस्या छ, वनक्षेत्रमा आगलागी हुनु, मौरीमैत्री विरुवाको संरक्षण नगर्नु लगाएका कारण चरन क्षेत्रको अभाव छ । ‘मौरीपालन व्यवसाय आयआर्जनको गतिलो माध्यम बनेको उनले बताए । एक सय १५ घारबाट वर्षभरी मह काढ्दा २५ देखि ३० क्वीन्टल हुनेगरेको र त्यसबाट १८ देखि १९ लाखसम्म आम्दानी हुने गरेको ढकालले बताए । ‘मह बिक्रीका लागि समस्या छैन, गाउँघर र बजारमा बिक्री भइरहेको छ । तर मौरी चरनको भने समस्या छ । खेतबारीमा तोरी हुँदा मात्रै चरनको सुविधा हुन्छ । त्यसपछि जिल्ला बाहिर लैजानुपर्छ’, ढकालले भने । चिउरी र रुदेलो पर्याप्त मात्रामा नपाउँदा मौरी चराउन अन्य जिल्ला जानुपर्ने बाध्यता छ । मौरी चराउन लैजाँदा एक जनासँगै जानुपर्छ । घरदेखि टाढा जाँदा घरको काममा बाधा पर्छ ।

यसैगरी सोही वडाका खगेन्द्रप्रसाद शर्माले व्यावसायिक रूपमा मौरी पाल्न थालेको १२ वर्ष भयो । उनीसँग ४० मौरीका घार छन् । एक वर्षमा ६ पटक मह काढ्ने गरेको शर्माले बताए । उनले कार्तिक महिनामा वीरेन्द्रनगर–१३ को सामुदायिक वनमा, मंसिरको पहिलो हप्तासम्म कैलालीको पहाडीपुल, जगतीपुर र पुसमा वीरेन्द्रनगरको काँक्रेविहार क्षेत्रमा मौरी चराउन लैजाने गरेका छन् । मौरी पाल्न चरनको अभाव छ । किसानले तरकारी र अन्यबालीनालीमा विषादी छर्ने गरेका कारण मौरी चरनमा समस्या भएको शर्माको भनाइ छ ।

पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाका सन्तबहादुर बुढाले महबाट राम्रो आम्दानी भइरहेको बताए । अहिले व्यावसायिक रूपमा मौरीपालनमा लागेको उनले सुनाए । माग अनुसारको मह पु¥याउन नसकिएको भन्दै उनले चरन क्षेत्रको अभावले कैलाली र बाँके जिल्लामा जानु परिरहेको बताए । उनले भने, ‘महबाट आम्दानी राम्रो छ, बजारको अभाव छैन, चरन क्षेत्रकै अभाव छ, जिल्लाबाहिर लैजानुपर्ने बाध्यता छ ।’

नेपाल मौरीपालक महासंघ कर्णाली प्रदेशकी सचिव पार्वती चपाईंले कर्णालीका तीन जिल्लाका व्यावसायिक कृषहरूको महको बजारीकरणमा जोड दिएको बताइन् । अहिलेको लागि तीन वटा जिल्लामा काम गरिएको र अन्य जिल्लामा समेत काम गर्ने योजना बनाइएको उनले जनाइन् । सुर्खेत जिल्लामा एक हजार तीन सय घार, दैलेखमा ६ सय र जाजरकोटमा नौ सय मौरीका घारहरू रहेको चपाइको भनाइ छ । मौरीपालक किसानले उत्पादन गरेको मह बिक्री गर्न बजारको समस्या नभएको उनले बताइन् ।

कृषि विकास निर्देशनालय सुर्खेतले पनि मौरी पालक कृषकहरूका लागि अनुदानको कार्यक्रम राखेको छ । मौरी प्रवद्र्धन कार्यक्रममार्फत कृषकहरूलाई अनुदान दिने गरिएको निर्देशनालयका सूचना अधिकारी टेकराज रेग्मीले बताए । उनका अनुसार किसानको मागका अनुसार अनुदान दिने गरिएको छ ।

 

मौरी बुटक्याम्प

कर्णाली प्रदेशमा पहिलोपटक मौरी बुटक्याम्प सञ्चालन गरिएको छ । नेपाल मौरीपालक महासंघ कर्णाली प्रदेश र हेल्भेटास नेपालको इन–इलम परियोजनाको साझेदारीमा सात दिने तालिमको आयोजना गरिएको हो । कर्णाली प्रदेशका दैलेख, सुर्खेत र जाजरकोट जिल्लाबाट आएका १३ महिला र १९ पुरुष गरी ३२ जना मौरीपालक किसानहरू यस बुटक्याम्पमा सहभागी रहेका थिए । उनीहरूलाई मौरीपालनसँग सम्बन्धित व्यावसायिक ज्ञान, उद्यमशीलता विकास, मौरी चरन व्यवस्थापन, मौरीमा लाग्ने रोगको पहिचान तथा उपचार, कृत्रिम रानी उत्पादनदेखि मौरी विष संकलन र मौरी थेरापी उपचार केन्द्र स्थापनासम्मका विविध विषयमा प्रशिक्षण दिइएको हेल्भेटास इन–इलम परियोजनाका कार्यक्रम संयोजक टेकबहादुर सिंहले बताए ।

परियोजना संयोजक सिंहका अनुसार मौरीपालनमा व्यावसायिक सोच भएका व्यक्तिहरूलाई लगानीकर्तासँग जोड्ने प्रयाससहित यो तालिम सञ्चालन गरिएको हो । उनले मौरी पालन र महको मूल्य श्रृंखलालाई सुदृढ बनाउँदै दीगो कृषि व्यवसायका रूपमा विकास गर्नु नै परियोजनाको दीर्घकालीन उद्देश्य रहेको बताए ।

कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन प्रशिक्षण केन्द्र सुर्खेतका निमित्त प्रमुख दीपक कुमार भण्डारीले कर्णालीमा मौरीपालनको अत्यन्तै ठूलो सम्भावना हुँदाहुँदै पनि नीतिगत कमजोरीका कारण व्यवसाय धराशायी हुँदै गएको बताए । उनले मौरी चरन व्यवस्थापनका लागि स्पष्ट र व्यावहारिक नीतिको आवश्यकता औंल्याउँदै मौरी अनुसन्धान तथा संरक्षणमा सरकारको ध्यान जान जरुरी रहेको जनाएका छन् ।

तालीममा सहभागी मौरी व्यवसायीहरूले भने भारतीय महको कारण स्थानीय उत्पादनको बजार खोसीएको गुनासो गरेका छन् । गुणस्तर परीक्षणबिनै बजारमा ल्याइएका आयातित महले गर्दा स्थानीय मह व्यवसायहरू धराशायी बन्दै गएको उनीहरूको दुखेसोे रहेको छ । आयातित महका सम्बन्धमा सरकारले गुण नियन्त्रण प्रणालीलाई कडाइका साथ लागू गर्नुपर्ने आवाज तालिममा सहभागीहरूले उठाएका छन् ।

प्रकाशित मितिः   १२ श्रावण २०८२, सोमबार १२:४०