कर्णालीमा बढ्दो लागुऔषध कारोबार

 

सुर्खेत: शुक्रवार जिल्ला प्रहरी कार्यालय सुर्खेतले चाइनिज हतियार र ठूलो मात्रामा लागुऔषधसहित दुई जनालाई पक्राउ गर्‍यो । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–८ का २३ वर्षीय विधान शाही र २२ वर्षीय आदित्य घिमिरे रहेका छन् । प्रहरी उपरीक्षक सुधीरराज शाहीका अनुसार वीरेन्द्रनगर–८ स्थित कृष्ण मन्दिर नजिकैको एक घरबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

यस्तै असार ३२ गते सुर्खेत प्रहरीले नक्कली नेपाली नोट छाप्ने र लागुऔषध अफिमको कारोबार गर्ने एक गिरोहलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले उनीहरूको साथबाट १३ लाख रूपैयाँ बराबरको नक्कली नोट, ३० किलोग्रामभन्दा अफिमजस्तो देखिने पदार्थ र नोट छाप्न प्रयोग हुने विभिन्न उपकरण नियन्त्रणमा लिएको हो ।

पछिल्लो समय कर्णाली प्रदेशमा लागुऔषध कारोबार बढ्दो क्रममा छ । प्रत्येक वर्ष कारोबार बढेको प्रहरीको तथ्यांकले देखाएको छ । सबैभन्दा बढी प्रदेश राजधानी वीरेन्द्रनगरमा लागुऔषधको कारोबार र लागुऔषध प्रयोगकर्ता भेटिएका छन् । वीरेन्द्रनगरमा लागुऔषधको ओसारपसार हुने गरेको प्रहरीको भनाइ छ । कारोबारमा १५ देखि ३५ वर्ष उमेर समूहका युवायुवतीको संलग्न रहेको प्र्रहरी उपरीक्षक शाहीले जनाए । उनका अनुसार पारिवारिक तनाव, बेरोजगारी, असफल प्रेम, साथीको लहलहैमा लागेर, आर्थिक अवस्था कमजोर, छिटो पैसा कमाउनेलगायतका कारणले गर्दा लागुऔषधको कारोबार र प्रयोगकर्ता बढेको छ । कतिपय लागुऔषधको कारोबार मात्रै गर्ने भेटिएका छन् भने केही भारत गएर लागुऔषध सेवन गर्ने र आफूलाई खानका लागि बोकेर ल्याउने गरेका छन् ।

१५ देखि ३५ वर्षसम्मका युवायुवतीहरू बढी मात्रामा छन् भने अन्य उमेर समूहका महिला–पुरुष लागुपदार्थ सेवन गर्ने र कारोबारसमेत गर्ने गरेका छन् । प्रदेशमा रूपैडिया, गड्डा चौकी नाकालगायत आसपासका क्षेत्रबाट लागुऔषध बढी कारोबार हुने गरेको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतले दिएको जानकारी अनुसार प्रदेशभर आर्थिक २०८१/०८२ मा लागुऔषधसम्बन्धीका एक सय ८७ मुद्दा दर्ता भएका छन् । दुई सय ८७ पुरुष र १९ जना महिला पक्राउ परेका छन् ।

आर्थिक वर्ष २०८०/०८१ मा एक सय ६ वटा लागुऔषधसम्बन्धीका मुद्दा दर्ता भएका थिए । एक सय ६० जनापुरुष र आठ जना महिला पक्राउ परेका थिए । यस्तै आर्थिक वर्ष २०७९/०८० मा एक सय १४ वटा लागुऔषधसम्बन्धीका मुद्दा दर्ता हुँदा एक सय ९९ पुरुष र १६ जना महिला पक्राउ परेको प्रदेश प्रहरी कार्यालय सुर्खेको तथ्यांकमा उल्लेख छ । आर्थिक वर्ष २०७८/०७९ मा ९५ वटा लागुऔषधसम्बन्धीका मुद्दा दर्ता भए । उक्त वर्षमा एक सय ६४ जना पुरुष र आठ जना महिला पक्राउ परेका थिए । आर्थिक वर्ष २०७७/०७८ मा ८४ वटा लागुऔषधसम्बन्धीका मुद्दा दर्ता भएका थिए । उक्त वर्ष एक सय २१ जना पुरुष र १५ महिला पक्राउ परेका थिए । यसले पछिल्ला वर्षहरूमा लागुऔषधसँग जोडिएका घटना बढ्दै गएको देखाउँछ ।

लागुऔषधको अन्तर्राष्ट्रिय बजारमा महँगोमा बिक्री हुने आइसलगायत चरेस, अफिम, गाँजा, डाइजेपाम, फेनारगन, नाइट्रोजन, फेन्सिडल, डाइजेक्सजस्ता लागुऔषध बढी कारोबार हुने गरेको छ । नेपालमा नियन्त्रित लागुऔषध भनिने औषधि सीमावर्ती भारतीय बजारका औषधि पसलमा बिक्री हुन्छ । कर्णाली प्रदेश प्रहरी प्रमुख माधव श्रेष्ठले लागुऔषध कारोबार र प्रयोगकर्ता १८ देखि २४ वर्षसम्मका धेरै भेटिएको बताएका छन् । उनका अनुसार १८ वर्षमुनिका पनि केही संख्यामा प्रयोगकर्ता भेटिएको र उनीहरूले आफूले प्रयोग गर्नका लागि ल्याउने गरेको पाइएको छ । ‘२५ वर्षमाथिको विभिन्न उमेर समूहका व्यक्तिहरू लागुऔषध ओसारपसर कारोबारमा बढी संलग्न भएको छन् । ५०/६० वर्षका व्यक्तिहरू पनि प्रयोगकर्ता फेला परेका छन् । उनीहरू पारिवारिक तनाव, आर्थिक समस्या र साथीहरूको संगतमा लागेर यसमा फस्ने गरेका छन्,’ प्रमुख श्रेष्ठले भने ।

लागुऔषध कारोबार नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा लागुऔषधको अवस्था चिन्ताजनक अवस्थामा रहेको छ । लागुऔषध कारोबारको अवस्था अत्यन्त नाजुक अवस्थामा रहेको पाइएको हो । पछिल्ला केही वर्षको तथ्यांकले समेत सुर्खेतमा लागुऔषधको कारोबार बढेको देखिन्छ ।

प्रकाशित मितिः   ४ श्रावण २०८२, आईतवार ०५:०५