कर्णालीमा दर्जनौ तुइन

तुइनमुक्त गर्ने प्रदेश सरकारको योजना, डेढ करोड बजेट विनियोजन

सुर्खेत: कर्णाली प्रदेशमा अझै पनि दर्जनौ तुइन रहेको पाइएको छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको तथ्यांकअनुसार प्रदेशभर अहिले पनि ५० वटा तुइन सञ्चालनमा छन् । विभिन्न खोला र नदी तर्नका लागि तुइन बनाइएको हो । जसबाट नागरिकहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

प्रदेश सरकारले तुइन विस्थापित गर्ने योजना ल्याएको छ । सोही योजना अनुसार मन्त्रालयले प्रदेशभरका तुइनको विवरण संकलन गरेको हो । जसमा दशवटै जिल्लामा गरेर ५० वटा तुइन रहेको विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ । तुइन विस्थापित गर्दै झोलुङ्गे पुल निर्माण गर्ने योजना अनुरूप विवरण माग गरेको थियो । प्रदेशका दशमध्ये सात वटा वटा जिल्लाले सञ्चालनमा रहेका तुइनको विवरण मन्त्रालयलाई दिएका छन् ।

दशवटै जिल्लाका पूर्वाधार विकास कार्यालयबाट माग गरिएको विवरण अनुसार ५० वटा तुइनको विवरण प्राप्त भएको मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले जानकारी दिए । जसमा दशमध्ये सात जिल्लाबाट विवरण प्राप्त भएको उनले जनाए । उक्त विवरण अनुसार सबैभन्दा धेरै तुइन हुम्लामा छन् । हुम्लामा १५ वटा तुइन रहेको विवरण मन्त्रालयमा आएको छ । हुम्लामा मात्र कर्णाली नदीमाथि आधा दर्जन तुइन रहेको जनाइएको छ । यसैगरी कालीकोटबाट र जाजरकोटमा १२÷१२ वटा तुइन छन् भने दैलेख र मुगुबाट दुई÷दुई वटा, डोल्पाबाट तीन वटा र सुर्खेतमा आठ वटा तुइन रहेको जनाइएको छ ।

प्रवक्ता सुवेदीले यो प्रारम्भिक विवरण भएको र विस्तृत अध्ययन हुन बाँकी रहेको जनाए । हालसम्म प्राप्त सूचनाका आधारमा विस्तृत विवरण तयार पारिने उनले बताए । सम्बन्धित जिल्लाको पूर्वाधार विकास कार्यालयलाई स्थलगत रूपमा अनुगमन गरेर विस्तृत विवरण पठाउन भनिएको छ । उनले भने, ‘मन्त्रालयले सामान्य विवरण माग गरेको थियो, ५० वटाको विवरण प्राप्त भयो, यसको विस्तृत रूपमा अनुगमन गरेर विवरण तयार गर्छाैं ।’

प्रदेश सरकारले चालु आर्थिक वर्षमा कर्णालीलाई तुइनमुक्त बनाउने नीति लिएको छ । नीति तथा कार्यक्रममा यो योजना समेटेर बजेटसमेत विनियोजन गरिएको छ । तुइन विस्थापित गरेर झोलुङ्गे पुल निर्माण गर्न लागिएको हो । चालु आर्थिक वर्ष २०८२÷०८३ मा उक्त शीर्षकमा एक करोड ५० लाख बजेट विनियोजन गरिएको मन्त्रालयका प्रवक्ता सुवेदीले बताए ।

कर्णालीका ग्रामीण भेगमा मानवीय जोखिम मानिने तुइन प्रयोग भइरहेका छन् । २०७२ सालमै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र तुइनमुक्त देश घोषणा गरेका थिए । तर कर्णालीका कतिपय स्थानमा अझै पनि अधिकांश बासिन्दा तुइनकै भरमा यात्रा गर्न बाध्य छन् । अब भने कर्णाली प्रदेश सरकारले पनि तुइनमुक्त बनाउने योजना अघि सारेको छ ।

जिल्लाबाट आएको विवरण अनुरूप तुइनको ठाउँमा झोलुङ्गे पुल निर्माण गरिने छ । चालु आर्थिक वर्षमा विवरण अनुसार झोलुङ्गे पुल निर्माण गरिने मन्त्रालयले जनाएको छ । भौगोलिक रूपले विकट र दुर्गम स्थानका बासिन्दाको यातायात सेवाको पहुँचमा सहजता एवम् सुधार गर्न झोलुङ्गे पुल निर्माण गर्न लागिएको हो । संघ र स्थानीय तहसँग सहकार्य गरी आधा घण्टाको हिँडाइ दुरीभित्र पहुँच सुविधा पु¥याउने लक्ष्य राखिएको छ । अहिलेसम्म कम्तीमा प्रत्येक आधा घण्टामा झोलुङ्गे पुल वा पक्की पुल हुने गरी निर्माण गरिरहेको भौतिक मन्त्रालयले जनाएको छ । सरकारले एक घण्टाको पैदलयात्राको दुरीमा झोलुङ्गे पुल हुनुपर्ने मापदण्ड परिवर्तन गरेर अहिले आधा घण्टामा हुने गरी पुल निर्माणको काम गरिरहेको छ ।

प्रकाशित मितिः   १ श्रावण २०८२, बिहीबार ११:१६