घरभित्रै महिला असुरक्षित
सुर्खेत: रुकुमपश्चिमको चौरजहारी नगरपालिका–३ टाटागाउँका ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकीले आफ्नी ३० वर्षीया श्रीमती देविकाको हत्या गरे । घरेलु विवादकै कारण देविका बुढाथोकीको श्रीमानबाट हत्या भयो । चन्द्रले असार १७ गते राती घरमै श्रीमतिको घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
स्थानीयले घटनाबारे जानकारी दिएपछि राति नै इलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी निरीक्षक दिपेन्द्र रावतको नेतृत्वमा खटिएको टोलीले चन्द्रलाई नियन्त्रणमा लिएको थियो । आपसी विवादपछि श्रीमानले श्रीमती माथि खुकुरी प्रहार गरेको कुरा प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
यस्तै घटना १९ मंसिर २०७९ मा पश्चिम सुर्खेतमा पनि भएको थियो । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका ३ तोक्माका ३८ वर्षीय अम्मर आले मगरले धारिलो हतियार प्रयोग गरी ३० वर्षीया श्रीमती मिना आलेको घाँटी रेटेर हत्या गरेका थिए । यी दुई घटनाबाट प्रत्यक्ष रुपमा बालबालिका बिचल्लीमा परेका छन् ।
महिलाहरु घरेलु हिंसाको सिकार हुने गरेका घटना बग्रेल्ती भेटिन्छन् । पछिल्लो समय त घरभित्रै महिलाहरुको हत्यासम्म हुने गरेका जघन्य घटना हुन थालेका छन् । यसले महिलाका लागि घर नै सबैभन्दा असुरक्षित क्षेत्र बनाएको छ । एउटा अध्ययनले प्रत्येक दशमध्ये ६ महिला घरमा असुरक्षित छन् र तिनीहरु घरेलु हिंसा र मानसिक प्रताडना आफ्नै घरमा सहन बाध्य छन् भन्ने देखाएको छ । महिला त्यसैसँग असुरक्षित छन्, जसलाई सबभन्दा बढी माया र विश्वास गर्छिन् । सबभन्दा बढी माया र विश्वास गर्ने व्यक्ति उनको पति छ वा परिवारका अन्य सदस्य ।
महिलाहरु आफ्नै श्रीमानबाट समेत हत्यासम्मको सिकार भइरहेको अधिवक्ता गिता कोइराला बताउँछिन् । महिलाहरु घरभित्रका अर्थात् पुरुषले गरेका साधारण कुटपिट, अत्याचार र गालीगलौजलाई दैनिक रूपमा लिने गरेको र प्रतिकार गर्दा मृत्युको सिकार भइरहेको उनको भनाइ छ । अहिले सबैभन्दा बढी घरेलु हिंसाका मुद्दा प्रहरीमा दर्ता हुने गरेको र त्यसमा पनि सम्बन्ध विच्छेदका मुद्दा धेरै हुने गरेको कोइरालाको भनाइ छ । उनले भनिन्,‘सबैभन्दा बढी श्रीमान र सासुबाट पीडित भएका घटना हामीकहाँ आउँछन्, केही प्रहरीमा दर्ता हुन्छन् भने केही मिलोमतोमा जान्छन्, घरेलु हिंसा बढ्दो क्रममा छ ।’
कर्णाली प्रदेश प्रहरी प्रमुख माधवप्रसाद श्रेष्ठ प्रदेशमा लैङ्गिक तथा घरेलु हिंसाको ग्राफ बढ्दो क्रममा रहेको बताउँछन् । विगत चार वर्षको तथ्यांक विश्लेषण गर्दा लैङ्गिक तथा घरेलु हिंसाका घटनाको ग्राफ निरन्तर बढेको पाइएको उनले बताए । प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार बर्सेनि रुपमा घरेलु हिंसाका घटनामा वृद्धि भइरहेको देखिएको छ ।
आर्थिक वर्ष २०७७/०७८ मा आठ सय ७५ वटा घरेलु हिंसाका घटना दर्ता भएका थिए । आर्थिक वर्ष २०७८/०७९ मा आठ सय ८३, आर्थिक वर्ष २०७९/०८० मा आठ सय ५८, आर्थिक वर्ष २०८०/०८१ मा आठ सय ८० र चालु आर्थिक वर्षको हालसम्म आठ सय ७६ वटा घरेलु हिंसाका घटना दर्ता भएका छन् ।
घरेलु हिंसा बढीरहे पनि यसको न्यूनीकरणका लागि सरकोकारवालाहरूको ध्यान जान सकेको छैन । यसलाई सामान्य रूपमा लिँदा आत्महत्याको दर भयावह बन्दै गएको छ । आत्महत्याको दर बढ्दै गए पनि सरकारसँग यसको रोकथामका लागि ठोस योजना छैन । पछिल्लो समय महिलामाथि हुने हिंसा झन् झन् बढ्दै गएको प्रहरीको तथ्यांक छ । घरेलु हिंसा, गरिबी, नैरास्यता तथा विभिन्न मानसिक समस्याका कारण आत्महत्याको बाटो रोज्ने गरेको पाइएको छ । यो विकराल अवस्थाको अन्त्य गर्न सबै सरोकारवालाले ध्यान दिनुपर्ने देखिन्छ । कानुनी अज्ञानताका कारण महिला घरेलु हिंसा सहन बाध्य छन् ।
प्रकाशित मितिः २९ असार २०८२, आईतवार १९:०६
साझा बिसौनी ।